सुन तस्करीको जालो खुल्दै जाँदा मन्त्री महराको यस्तो छटपटी !


 ४ माघ ।  २०७३ पुस २१ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट तस्करी गरेर ल्याएको ३३ किलो सुन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले बरामद गरेपछि विवादमा तानिएका अर्थमन्त्री महराले मन्त्रालयबाट विज्ञप्ति नै निकालेर आफ्नो चरित्र हत्या गर्ने प्रयास भएको बताएका छन् ।

यस अघि पनि पटक–पटक विवादमा तानिएका अर्थमन्त्री महरालाई शपथ लिएलगत्तै सुन भित्रने मुख्य नाका विमानस्थल भन्सार कार्यालय र रसुवागढी भन्सार कार्यालयमा आफू अनुकूल कर्मचारी सरुवा गरेको आरोप लाग्दै आएको छ ।

महरा अर्थमन्त्री भएसँगै एकपछि अर्को सुन तस्करहरु समातिन थालेपछि उनीमाथि झन् शंका बढिरहेका बेला केही दिन अघि मात्र सुन तस्करी काण्डमा आफू ‘भुरा’ मात्र भएको उनले अभिव्यक्ति दिएका थिए । जिम्मेवार व्यत्तिले नै यस्तो अघिव्यक्ति दिएपछि झन् उनको विरोध भएको थियो ।

त्यति मात्र होइन महराले सुन तस्करीमा संलग्न ठूलालाई उन्मुक्ति दिन खोजेको र साना कर्मचारीलाई मात्र कारवाही गरेको समेत आरोप लाग्दै आएको थियो । उनले यसरी आरोप लगि रहेका बेला ठूलालाई पनि कारबाही प्रक्रिया अघि बढाएको भन्दै विज्ञप्ति निकालेका छन् ।

‘सुन बरामद भएको घटनाको गहन अनुसन्धान गरी दोषी उपर कडा भन्दा कडा कारवाही गर्न माननीय उपप्रम तथा अर्थमन्त्रीज्यूले मन्त्रालयका सचिव र भन्सार विभागका अधिकारीहरुलाइ स्पष्ट निर्देशन दिनुभएको जानकारी गराइन्छ,’ उनको सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
सुन तस्करीको जालो खुल्दै गएपछि आत्तिएका महराले विज्ञप्तिमा केही सञ्चार माध्ययमहरुले राजनीतिक पूर्वाग्रह राखेर तथा चरित्र हत्या गर्ने मनसायले आफ्नो बद्नाम गरेको समेत आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्