सुर्खेतका द्वन्द्वपीडितलाई २० करोड राहत


१४ सुर्खेत । सुर्खेतका द्वन्द्वपीडितले २० करोड राहत पाउने भएका छन् । शान्ति तथा पुर्ननिर्माण मन्त्रालयले सुर्खेतका द्वन्द्वपीडितका लागि २० करोड ४० लाख ६४ हजार रकम पठाएको हो ।

तत्कालीन सशस्त्र द्वन्द्वका बेला मृत्यु भएका, वेपत्ता भएका, घाइते भएका, अपहरणमा परेकाहरुका लागि राहत स्वरुप उक्त रकम वितरण गर्ने शान्ति समिति सुर्खेतका संयोजक मोहन थापाले जानकारी दिए । १० वर्षे द्वन्द्वमा मृत्यु भएका, वेपत्ता भएकाहरुका हकमा जम्मा १० लाख राहत रकम वितरण गर्ने सरकारको निर्णय अनुसार १४ करोड ८३ लाख ५० हजार रुपैंया शान्ति समितिमा आएको छ । वेपत्ता तथा मृत्यु भएका भनि जिल्लामा लगत संकलन कार्यदलको प्रतिवेदनमा नाम भएका जम्मा ३३६ जना रहेको र ती मध्ये हालसम्म २८८ जनाले राहत रकम बुझिसकेका छन् । ती मध्ये कतिपयले ५ लाख र कतिपयले साढे आठ लाख रकम बुझेको समितिका संयोजक थापाले बताए । प्राप्त रकमबाट प्रत्येकलाई १० लाख पु¥याइने समितिको तयारी छ ।

हालसम्म १ लाख पनि नलिएकाहरुको संख्या ७८ रहेको छ । लगत प्रतिबेदनमा नाम उल्लेख भएका तर हालसम्म पनि राहत रकम प्राप्त नगरेकाको हकमा मन्त्रालयले रु १ करोड १२ लाख रकम पठाएको छ । संयोजक थापाका अनुसार ती ७८ जनालाई चालु आर्थिक वर्षमा ५ लाख राहत रकम पु¥याइने छ । हालसम्म राहत रकम नलिएकाको हकमा एकमुस्ट ५ लाख रकम प्रदान गरिनेछ ।

यस्तै जिल्लामा द्वन्द्वकालमा ८५२ जना विस्थापित भएको प्रतिवेदनमा उल्लेख भएको छ । विस्थापित भएकाहरुको लागि मन्त्रालयले ४ करोड १० लाख ५० हजार पठाएको छ । यसअघि २५ हजार पाइसकेकाले सो रकम नपाउने थापाको भनाई छ । उनका अनुसार मन्त्रालयले विस्थापितका हकमा २५ हजार नबढ्ने गरी राहत रकम दिने निर्णय गरेको हो ।

त्यस्तै जिल्लामा अपहरण भएकाहरुको लागि समेत राहत रकम आएको छ । शान्ति तथा पुर्ननिर्माण मन्त्रालयले तत्कालीन समयमा अपहरण भएकाहरुलाई जनही रु २५ हजार राहत स्वरुप उपलब्ध गराउने भएको हो । सुर्खेतमा जम्मा ४५ जना अपहरण भएकामध्ये चालु आवमा १२ जनालाई रु ३ लाख वितरण गरिने भएको हो । द्वन्द्वकालमा अपाङ्ग भएकाहरुलाई समेत राहत रकम प्रदान गरिने छ । ५१ प्रतिशत भन्दा बढी अपाङ्ग भएकालाई मासिक ६ हजार २ सय रुपैया सरकारले उपलब्ध गराउँदै आएको छ । त्यस्तै ७५ प्रतिशत भन्दा बढी अपाङ्गता भएकाका हकमा १२ हजार ४ सय रुपैंया मासिक उपलब्ध गराउँदै आएको छ । यसकालागि मन्त्रालयले रु १ करोड १३ लाख ३९ हजार २ सय बजेट पठाएको छ भने जम्मा २ जनाले १२ हजार ४ सयका दरले र बाँकी १४ जनाले ६ हजार २ सयका दरले रकम पाउने भएका छन् ।

सरकार र सशस्त्र विद्रोह गरेको तत्कालीन माओवादीबीच भएको वृहत शान्ति सम्झौता अनुसार प्रत्येकलाई १० लाख रकम राहत उपलब्ध गराउने भनेको दश वर्ष वित्दा समेत द्वन्द्वपीडितले १० लाख रकम पाउन सकेका छैनन् । अधिकांश पीडितले ५ लाख पाएका छन भने केहिले साढे आठ लाख राहत प्राप्त गरेका छन् ।

२०६४ साल देखि हालसम्म जिल्लामा २२ करोड १० लाख भन्दा बढी रकम वितरण गरिसकिएको छ । तर यो वर्ष भने धेरै ठूलो रकम आएको हो । यो रकमलाई असार मसान्तभित्रै वितरण गरिसक्नुपर्ने छ । यसका लागि जिल्ला प्रशासन कार्यालय सुर्खेतमा कागजात पेश गर्ने कार्य आरम्भ भइसकेको छ । शान्ति समितिकाका अनुसार अबको केहि दिनमै रकम बैंकमार्फत उक्त रकम हस्तान्तरण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्