सुर्खेतमा विद्यार्थीको चुनावी चहलपहल, विप्लव माओवादीको अवरोध चिरेर निर्वाचन गर्ने विद्यार्थी नेताको दाबी 


५ भदौ । अनेरास्ववियु, नेपाल विद्यार्थी संघलगायतका विद्यार्थी संगठनका नेताहरु अहिले सुर्खेत पुगेका छन् । करिब १० वर्षदेखि विभिन्न बाहनामा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुन नसकिरहेका बेला मध्यपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन यहि भदौ ८ गते हुने भएपछि त्यहाँ विभिन्न विद्यार्थी संगठनका नेताहरु पुगेका हुन् ।

१६ सय ९३ विद्यार्थी रहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय क्याम्पसको निर्वाचन मिति तोकिएसँगै अधिकांश विद्यार्थी संगठनका नेताहरुको त्यहाँ बाक्लो उपस्थिति रहेको हो ।

‘करिब १० वर्षदेखि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन विभिन्न कारणले हुन सकेको छैन,’ अनेरास्ववियुकी उपाध्यक्ष सुनिता बरालले भनिन्, ‘निकै लामो संघर्षबाट स्थापना गरेको स्वतन्त्र विद्यार्थी युनियनको अस्तित्व नै संकटमा पर्ने अवस्था सिर्जना भएका बेला मध्यपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय क्याम्पसको निर्वाचनले आम विद्यार्थीहरुमा खुशी छाएको छ ।’

यद्यपि केही विद्यार्थी संगठनले चुनाव नै बहिष्कार गर्ने भन्दै आन्दोलन जारी राखेकाले नहुने हो कि भन्ने खतरा पनि त्यत्तिकै रहेको उनले बताइन् । ‘विप्लव माओवादीका विद्यार्थी साथीहरुले निर्वाचन प्रक्रियामा केही असन्तुष्टि व्यक्त गर्दै बन्दको आयोजना गर्नुभएको छ । त्यसले गर्दा केही समस्या हुने हो कि भन्ने खतरा छ,’ बरालले भनिन्, ‘तर मनोनयन दर्दा प्रक्रिया नै अघि बढेकाले निर्वाचन नरोकिनेमा हामी ढुक्क छौँ ।’

अहिले नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, नेक्राविसंघ लगायतका विद्यार्थी संगठनका नेताहरु समेत निर्वाचन तयारीका लागि सुर्खेत पुगेकाले निर्वाचन नरोकिने विद्यार्थी संगठनहरुले दाबी गरेका छन् ।

१५ सय भन्दा बढी विद्यार्थी भएका कारण त्यहाँ १७ सिटे स्ववियु हुनेछ । त्यस मध्ये अध्यक्ष, सचिव र कोषाध्यक्ष सहित १० जना प्रत्यक्ष निर्वाचित हुनेछन् भने सात सदस्यका लागि समानुपातिक प्रणाली अपनाउने तयारी भएको छ । त्यसकारण पनि स्ववियुमा कम्तीमा पनी तीन ठूला विद्यार्थी संगठनको उपस्थिति रहने निश्चित जस्तै भएको ।

सबै भन्दा बढी विद्यार्थी रहेको त्रिभूवन विद्यालयको स्ववियु निर्वाचन अन्योलमा परिरहेका बेला मध्यपश्चिमाञ्चल विश्वविद्यालयको निर्वाचनले सकारात्मक सन्देश दिने भएकाले पनि निर्वाचन अनिवार्य भएको अनेरास्ववियु कोषाध्यक्ष झपिन्द्र खत्रीले जानकारी दिए ।

‘अदालतले नै स्ववियु चुनाव लड्ने विद्यार्थीको उमेर हद २८ वर्ष तोकेको अवस्थामा यहाँ हामीले त्यही उमेरहदलाई राखेर निर्वाचन अघि बढाउने तयारी गरेका छौँ,’ खत्रीले भने, ‘यसले अन्य विश्वविद्यालयको निर्वाचनमा पनि सकारात्मक सन्देश दिनेछ ।’ अन्य विद्यार्थी संगठनले भने विप्लव माओवादीको अवरोध चिरेर भए पनि निर्वाचन गरेरै छाड्ने दाबी गरेका छन् ।

अनेरास्ववियु संगठन विभाग प्रमुख सुर्दशन सिवाकोटीले पनि निर्वाचन सम्पन्न गरेर मात्र फर्किने दाबी गरे । यद्यपि विप्लव माओवादीका विद्यार्थीले भने भदौ १३ गते सम्मका लागि निर्वाचन सार्न माग गरिरहेका छन् । अहिले त्यही विषयमा छलफल भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्