सुवर्णशमशेरलाई राजा महेन्द्रले भगाएको हल्ला थियो


डा. लोकराज बराल

२०१७ सालमा भारत सरकारको निम्तोमा जाने विद्यार्थी प्रतिनिधिमा म पनि सामेल हुने भएँ । त्रिचन्द्र कलेजले सिफारिस गरेको मेरो नाम सरकारले अनुमोदन गरेको थियो । यसरी ५ पुस २०१७ मा ११ जनाको समूह भारतको एक महिने भ्रमणमा जाने भयो । यस्तो भ्रमण निकै अघिदेखि चलेको र १० जना विद्यार्थीमा एक प्राध्यापक नेता राख्ने चलन रहेछ । हाम्रो समूहमा दुई छात्रा पनि थिए र दिल्लीबाट भ्रमण अवधिका लागि एक लियाजो अफिसर पनि आएका थिए ।

राजाको पुस १ २०१७ को कदमको पाँच दिनपछि नै यो भ्रमण सुरु हुने र मलाई धेरैले चिन्ने भएकाले म जान पाउँदिन होला भन्ने लागेको थियो । त्यसमा पनि १ पुसको दिन म र कुलबहादुर गुरुङ इलाम तरुण दलको भेलामा उपस्थित भएकाले मलाई पक्रेला या एयरपोर्टबाट फर्काउला भन्ने लागेको थियो । तर, त्यस्तो कुनै व्यवधान नआएकाले हामी पटनातिर लाग्यौँ । यो भ्रमण वास्तवमा रमाइलो र शैक्षिक थियो । भारत सरकारको पाहुना भएकाले पटना एयरपोर्टमै सम्पर्क अधिकारी सुदर्शन मल्लिक दिल्लीबाट आइसकेका रहेछन् । उनी भलाद्मी स्वभावका थिए । दिनभरि पटना र त्यस वरिपरिका ठाउँमा घुमफिर गराएपछि हामी राती १२ बजेको अमृतसर हाउडा रेलबाट कोलकाता जाने भयौँ । रेलको पहिलो दर्जाका चार बग्गी हाम्रो भ्रमण अवधिभरि गुड्ने रहेछन् र रेलका डिब्बा एक किसिमको घरजस्तै हुने रहेछन् । हाम्रो डिब्बामा चार जना थियौँ र तलमाथि बर्थमा सुत्ने गथ्र्यौँ । बिहानको ब्रेकफास्ट, दिउँसोको खाना र बेलुका खाना खान्थ्यौं । पहिलोपल्ट कोलकाता जाने भन्दा म दंग परेको थिएँ । कोलकाता भारतको सबैभन्दा ठूलो सहर भन्ने अनेक गफ केटाकेटीदेखि नै सुनेको थिएँ । हामी बिहान पुगी दिनभरि घुमी भोलिपल्ट मात्र त्यहाँबाट हिँड्ने कार्यक्रम थियो । तर, कतै हडताल भएकाले बेलुका चार बजे मात्र पुग्न सक्यौँ । तैपनि, त्यस दिन र भोलिपल्ट गरी मुख्य ठाउँ हेर्ने मौका भने पायौँ ।

कोलकाता पुगेको भोलिपल्ट मैले र मदनदेव भट्टराई, जो नेशनल कलेजका प्रतिनिधि थिए, ले गोप्य सल्लाह गरी नेपाली काँग्रेसका नेता तथा पाँच दिन पहिलेसम्म उपप्रधान तथा अर्थमन्त्री रहेका सुवर्णशमशेर राणालाई भेट्ने निर्णय ग¥यौँ । काठमाडौंमा चाहिँ सुवर्णशमशेरलाई राजा महेन्द्रले जानीजानी भगाएको भन्ने हल्ला चलेको थियो । एक दिनपहिले मात्र उनी देश छोडी कोलकाता आएकाले यस्तो हल्ला हुनु स्वाभाविक थियो । सीआईडी, हाम्रा दलका नेता जगतबहादुर बुढाथोकी या अरुले थाहा पाउलान् भन्ने डर हुँदाहुँदै पनि फिप्टिन क्यामक स्ट्रिट खोज्न थाल्यौँ । त्यहाँ पुग्न त्यति असजिलो रहेनछ । हामी तलको बैठकमा पुग्दा भर्खर इजरायल भ्रमण सकी फर्केका बीपी मन्त्रिपरिषद्का स्वास्थ्यमन्त्री काशीनाथ गौतम भेटिए । उनी सुट टाईमा थिए । हामीले सुवर्णशमशेरलाई भेट्न आएको भनी आफ्नो परिचयका साथ एकजना सहायकलाई नाम दिएर पठायाँै । हामीलाई मिनेटपछि बोलाइयो । धेरै कुरा भए तर उनले अन्त्यमा ‘राजनीतिमा धैर्य चाहिन्छ र सबै कुरा बिस्तारै ठीक हुन्छ’ भने । त्यसपछि होटलतिर लाग्यौँ, जहाँ साथीहरु बसेका थिए ।

सुवर्णशमशेरसित पछि काठमाडौं र दिल्लीमा पनि भेट भयो । पछिल्लो भेट म दिल्लीमा विद्यावारिधिका लागि विद्यार्थी जीवन बिताएका बेला भएको थियो । म र ईश्वर बरालसित उनले ‘मैले बीपीलाई नै नेता मानी सम्पूर्ण पार्टी गतिविधि चलाएको’ भन्दै बीपी फेरि हिंसात्मक बाटोमा लागेकामा उनको असहमति थियो । उनका विचारमा राजालाई सहयोग गर्ने बाटोमा हिँड्न थाल्दै फेरि सशस्त्र क्रान्तिको बाटोमा लाग्नु भनेको उनको लाइनलाई छोड्नु हो भन्ने थियो । उनी यसमा अलिक दुःखी थिए ।

(सांग्रिला बुक्सद्वारा प्रकाशित डा. बरालको आत्मकथा ‘रोमाञ्चित जीवन’ बाट)

प्रतिक्रिया दिनुहोस्