सुशीला कार्कीको ‘बोल्ड’ प्रस्तुति


२६ असार । नेपालको न्यायालयको इतिहासमा पहिलो पटक प्रधानन्यायाधीश बन्ने कीर्तिमान सुशीला कार्कीलाई प्राप्त हुने भएको छ । आज सुनुवाइपछि संसदीय सुनुवाइ विशेष समितिको सर्वसम्मत्तिबाट उनको नाम अनुमोदन गरेपछि सर्वोच्च अदालतले पहिलो पटक महिला नेतृत्व पाउने निश्चित भएको हो ।

विराटनगरमा लामो समय वकिलका रुपमा कार्यरत कार्की आठ वर्षअघि अस्थायी न्यायाधीशका रुपमा सर्वोच्च अदालत छिरेकी हुन् । पञ्चायतकालमा नेपाली कांग्रेसको भातृ संगठन– नेपाल विद्यार्थी संघकी सक्रिय कार्यकर्ता कार्कीको कांग्रेसका विद्रोही नेता दुर्गा सुवेदीसँग विहा भएको थियो । सनुवाइका क्रममा आफू नेविसंघको विराटनगरको अध्यक्ष भए पनि न्यायालयमा पसेपछि कुनै फैसला पूर्वाग्रहबश नभएको कुरा हाकाहाकी बताइन् ।

अस्थायी न्यायाधीशका रुपमा न्यायालयमा प्रवेश गरेपछि साहसिक फैसला गरेर चर्चामा आएकी कार्कीका पालामा भ्रष्टाचारका मुद्दा धमाधम किनारा लागेका थिए । पूर्व मात्र होइन, बहालवाला मन्त्रीलाई नै उनले जेल पठाएकी थिइन् ।

सुनुवाइका क्रममा पनि कार्की बोल्ड रुपमा प्रस्तुत भइन् । आफ्ना बारेमा उठेका प्रश्न, परेका उजुरी र जिज्ञासाहरुलाई उनले एकएक गरी जवाफ मात्र दिइनन्, सांसदहरुलाई सन्तुष्ट पनि पारिन् ।

सांसदहरुको प्रश्नको जवाफ सकेपछि कार्कीले सोधिन्, ‘अब चित्त बुझ्यो ?’

प्रश्न भुईंमा खस्न नपाउँदै कांग्रेस मुख्य सचेतक चीनकाजी श्रेष्ठले थप केही सोध्न खोजे । तर, सभापति कुलबहादुर गुरुङले ‘अब बन्द’ भन्दै हातको इशाराले रोके । कार्कीले केही जवाफ दिन खोज्दै थिइन् । सभापति गुरुङले ‘सबै उत्तर आइसकेको’ जवाफ दिए ।

‘मैले सबै कुरा भनेँ । तपाईंहरुले ‘नो’ भने पनि कुनै पीर छैन’, कार्कीले यति भन्न पाएकी थिइनन्, सभापति गुरुङले जवाफ फर्काइहाले, ‘तपाईं पास हुनुभा’ छ ।’

‘चिनियाँ जस्तो देखेर भनेकी हुँ’, कार्कीले तत्काल सच्याइन् । चीनकाजी पनि के कम ! उनले भने, ‘म चीनबाट आएको होइन ।’

सांसद चिनकाजी श्रेष्ठको प्रश्नको जवाफ दिने क्रममा कार्कीले उनको नाम ‘चिनियाँकाजी’ भन्दा समितिमा हाँसोको फोहोरा छुट्यो । यसरी अचानक शहीदको नाम लिँदा स्वयं चीनकाजी अलमलमा परे । ‘चिनियाँ जस्तो देखेर भनेकी हुँ’, कार्कीले तत्काल सच्याइन् । चीनकाजी पनि के कम ! उनले भने, ‘म चीनबाट आएको होइन ।’

सुनुवाइमा सोधियो यस्ता प्रश्न

० विज्ञानलाई नै चुनौती दिनेगरी किन डीएनए परीक्षणविरुद्ध फैसला गर्नुभयो ?

० द्वन्द्वकालका मुद्दामा अदालतले फैसला गरेको छ, कतिपय विचाराधीन छन् । तर, शान्ति प्रक्रिया टुंग्याउन सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग पनि बनेका छन् । अब शान्ति प्रक्रिया टुंग्याउन तपाईं साधक बन्नुहुन्छ कि बाधक ?

० तपाईंले एक करोडको घर बनाउनुभएको भन्ने कुरा आयो । कर तिर्नुभएको छ कि छैन, आम्दानीको स्रोत के हो ?

० लोकमानसिंह कार्कीसँगको नाता–सम्बन्ध र अख्तियारले कनकमणि दीक्षितलाई पक्राउ गर्दा उनकी श्रीमती तपाईंको चेम्बरमा देखा परेको समाचारको सत्य–तथ्य के हो ?

० न्यायिक प्रक्रिया किन महंगो छ ?

० अदालतमा भ्रष्टाचार किन भइरहेको छ ? जनविश्वास बढ्न नसक्नुको कारण के हो ?

० घुम्ती अदालत हुनुपर्छ भन्नेबारे तपाईंको दृष्टिकोण के हो ?

० न्यायाधीश नियुक्तिमा राजनीतिकरणबारे तपाईंको के धारणा छ ?

यसपछि कार्कीले ती प्रश्नहरुको जवाफ दिएकी थिइन् । ती जवाफमध्ये केही यस्ता थिएः

भ्रष्टाचार प्रभावित छ
‘भ्रष्ट्राचार छैन’ कुनै प्रधानन्यायाधीशले भन्दैन । थोरै मान्छेका क्रियाकलापले गर्दा पनि प्रभावित हुन्छ । भ्रष्टाचार देशव्यापी छ, असर सबैतिर पर्छ । हाम्रा मान्छे गुप्त भेषमा पनि जान्छन् तर हामी भेट्दैनौं । एक–दुई ठाउँमा भेटेका पनि छौं । देखेसम्म हामी नियन्त्रण गर्छौं ।

एक मिनेटमा छिन्न सकिने मुद्दामा एकातिर २० वटा र अर्कातिर २० वटा वकिल राखिन्छ । हामीले ‘तिमी व्यवसाय नै नगर’ भन्न मिल्दैन । हामीलाई चार दिन लाग्छ तर त्यो झिंगाको टाउको जत्रो विषय हुन्छ ।

वकिलका कारण न्याय महंगो

महंगो खर्च गर्नेले मात्रै मुद्दा जित्ने सवालमा म भन्छु– सहरका धनी पाँच प्रतिशत मात्रै अदालतमा आउने गर्छन् । एक मिनेटमा छिन्न सकिने मुद्दामा एकातिर २० वटा र अर्कातिर २० वटा वकिल राखिन्छ । हामीले ‘तिमी व्यवसाय नै नगर’ भन्न मिल्दैन । हामीलाई चार दिन लाग्छ तर त्यो झिंगाको टाउको जत्रो विषय हुन्छ ।

राजनीतिक मुद्दा सारिदिनूस्

अपहरण गरेर मारेको मुद्दालाई कुन पार्टीका थिए भनेर राजनीतिक रंग दिन मिल्दैन । त्यस्ता मुद्दा सुनेर न्याय त दिनुप¥यो । ठूला नेताहरुलाई पश्चिममा रोल्पामा, या त धरानमा पनि दर्ता भएको छ भने राजनीतिक रंग दिएको मुद्दा त छुटिहाल्छ । राजनीतिक मुद्दाहरु त संसद बसेर विशेष अदालत खडा गरेर पु-याइदिनुभयो भने त हामीले गाली खाँदैनथ्यौं, टाउको पनि दुख्दैनथ्योे ।
घडीको सुई जस्तो खित्रिक्क–खित्रिक्क मन हल्लियो

म भित्रैदेखि ‘क्याडर जस्टिस’ होइन । ३१ वर्षको वकालतबाट न्यायलयमा आएँ । म मोरङ जिल्ला अदालतमा बहस गर्दै थिएँ । अचानक २०६५ माघ १ गते न्यायपरिषद्बाट सिफारिश भएको फोनबाट थाहा पाउँदा घडीको सुई जस्तो खित्रिक्क–खित्रिक्क मन हल्लियो । वकालत छाड्दै गर्दा मेरो ल फर्ममा त्यसबेला ५ सय मुद्दा थिए । ६-७ जना त मसँगै आश्रित कर्मचारी थिए । अस्थायी न्यायाधीशको नियुक्तिपछि आज आठ वर्षमा प्रधानन्यायाधीशका रुपमा आउँदैछु ।

कामु भएपछि ९ सय ३५ मुद्दा फैसला गरेँ

न्यायपालिकामा आएपछि मैलै ७ वर्ष ७ महिनामा ८ हजार ७ सय ६४ मुद्दा फैसला गरेँ । पछिल्लो १ वर्षमा २ हजार ५ सय ५८ मुद्दा फैसला गरेँ । २०७३ वैशाख २ गते कामु प्रधानन्यायाधिश भएपछि ९ सय ३५ मुद्दा फैसला गरेकी छु ।

गत वर्ष २२ जना न्यायाधीश हुँदा एक वर्षमा करिब ८ हजार मुद्दा फैसला भए । तर, यो वर्ष ९ जना न्यायाधीश हुँदा हामीले १० हजार ८ सय ९७ वटा मुद्दा फैसला गरेका छौँ ।

महिला भएर होइन, पुरुससँग काँधमा काँध मिलाएर काम गरेको छु । अब ११ जना न्यायाधीशको सुनुवाइपछि संख्या थपियो भने ६ महिनामै कम्तीमा ८ हजार मुद्दा फैसला हुनेछन् ।

सुनुवाइ समितिमा ६ वटा मात्रै उजुरी ?

८ हजार ७ सय ६४ मुद्दा फैसला गर्दा त्यति नै वादी–प्रतिवादी हुन्छन्, त्यसको आधा कम्तीमा उजुरी पर्नुपथ्र्यो । तर, सुनुवाइ समितिमा ६ वटा मात्रै उजुरी परेछन् । मैले थोरै उजुरी परेको अनुभव गरेँ ।

संविधान गीता, कुरान र बाइवल बराबर

मेरा लागि सबैभन्दा ठूलो संविधान हो । एउटा न्यायाधीश कहिले पनि संविधान र कानुनभन्दा बाहिर जान सक्दैन । एउटा न्यायाधीशका लागि संविधान गीता, कुरान र बाइबल जस्तै हो । त्यसविपरीत अदालत कहिल्यै बाहिर जान सक्दैन ।

मेरो श्रीमानको स्वभाव यस्तो छ कि यदि भ्रष्टाचार गरेको हुन्थ्यो भने डिभोर्स भइसक्थ्यो ।

भ्रष्टाचार गरेको भए ‘डिभोर्स’ भइसक्थ्यो

मेरो घर बसुन्धरामा गुगल कोलनीको ब्याकसाइडमा छ । साढे ६ लाख आनाका दरले डाँडामा किनेर बनाएको हुँ । १ करोडको घर बनाएको प्रसंग आयो । भ्रष्टाचार गर्ने त मेरो रगत–खान्दानमै छैन । म दुईवटासँग डराउँछु्ः एउटा, ईश्वर र अर्को श्रीमानसँग । मेरो सम्पत्तिको डकुमेन्ट म तपाईंहरुलाई यहीँ पेश गर्छु । १ करोड लगाएरै घर बनाएको हुँ तर काठमाडौंमा त्यो त कटेरो हुँदो रहेछ । हामी तराईकालाई त गरिब बनाउने रहेछ । तराईमा बस्नेलाई १ करोडको घर ठूलो कुरा हो । मेरो श्रीमानको स्वभाव यस्तो छ कि यदि भ्रष्टाचार गरेको हुन्थ्यो भने डिभोर्स भइसक्थ्यो ।

सपना प्रधानलाई मैले ल्याएकी हुँ

सपना प्रधान मल्ललाई मैले ल्याउन जोड गरेकी हुँ । यो केसमा जति गाली गरे पनि मलाई नै गर्नूस् । कल्याण श्रेष्ठ र अग्नि खरेलले ल्याएको होइन । म अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन अमेरिका गएकी थिएँ । त्यहाँ कुरा भयो । मुस्लिम देशहरुमा कति महिला न्यायाधीश छन् भन्दा डेढ सय ! भारतमा पनि त्यत्तिकै संख्यामा छन् । तर हाम्रो देशमा कति ? प्रश्नमा जवाफ दिएँ– जम्मा ७ जना ! त्यसैले नेपालमा महिला न्यायाधीश नियुक्ति जरुरी छ । यो मेरो अभियान नै हो । तपाईंहरुले थाहा पाइराख्नूस्, यहाँ आउन २० वर्ष अभ्यास गर्नुपर्छ । उनी अमेरिकाको हावर्ड विश्वविद्यालयमा पढेकी मेधावी विद्यार्थी हुन् । कसैलाई त्यत्तिकै ल्याउन मिलेन । योग्यता छ । वरिष्ठ अधिवक्ता र काम गरेको अवधि चाहिन्छ । कति छन् त्यो योग्यता पुगेका महिला ? समानुपातिकमा सभासद् हुने बित्तिक्कै के बिग्रिएको छ ?

गोष्ठी होइन, लगानी गर्नूस्

एक जना सभासद्ले समावेशिताको कुरा उठाउनुभएको थियो । तपाईंहरु त्यही नाममा पाँच तारे होटलमा लाखौं खर्च गरेर गोष्ठी गर्नुहुन्छ । तर, त्यो पैसा सीमान्तकृत बालबालिकाको शिक्षाका लागि खर्च गर्नूस्, त्यस्ता दर्जनौं योग्य व्यक्तिहरु नियुक्तिका लागि भविष्यमा योग्य हुनेछन्, कानुनमा लेखेर मात्रै हुँदैन, त्यसका लागि योग्य व्यक्ति पनि त चाहियो ।’

म नेविसंघको पूर्वअध्यक्ष हुँ

तपाईंहरु न्यायालयमा राजनीतिककरणको कुरा गर्नुहुन्छ । तर, आफैं भागवण्डा गर्न खोज्नुहुन्छ । यहाँ आउन त २० वर्ष अभ्यास गर्नुपर्छ । म आफैं नेविसंघको पूर्वअध्यक्ष थिएँ, मेरा पिता गिरिजाप्रसाद कोइरालाको अनन्य मित्र हुनुहुन्थ्यो । के अब मलाई राजनीतिक लेवल लगाउनुहुन्छ ? यहाँ आउँदा त राजनीतिको चप्पल फुकालेर आउने हो । मत त मैले पनि हाल्छु, सबैले हाल्छन् ।

तस्वीर: रासस

प्रतिक्रिया दिनुहोस्