सूचना राजमार्गमा जोडियो नेपाल


काठमाडौँ, ६ जेठ । 
दक्षिण एसियाली मुलुकहरू नेपाल, भारत, बङ्गलादेश र भुटान अब यही आर्थिक वर्षभित्र सूचना राजमार्ग (एकीकृत अप्टिकल फाइबर सञ्जाल) मा जोडिने भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव युवराज खतिवडाले परियोजनाको सम्पूर्ण काम पूरा भइसकेको जानकारी दिँदै यही आर्थिक वर्षभित्र नेपाल टेलिकमलाई हस्तान्तरण गरिने जानकारी दिनुभयो । टेलिकमलाई हस्तान्तरण गरेसँगै नेपाल, भारत, बङ्गलादेश र भुटान सूचना राजमार्ग (एकीकृत अप्टिकल फाइबर सञ्जाल) मा जोडिने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यस परियोजनाको ‘सिभिल वर्क’ तथा ‘टेस्टिङ’को काम पूरा भइसकेको छ, अब नेपाल टेलिकमलाई हस्तान्तरण गर्न आर्थिक र प्राविधिक प्रतिवेदनको तयारी अन्तिम चरणमा पुगिसकेको छ । ” यसअघि यी चार मुलुकबीच परियोजनाबारे कार्यगत र अवधारणागत सहमति भइसकेको तथा छिट्टै नै ‘अपरेसनल’ सहमति हुने जानकारी उपसचिव खतिवडाले दिनुभयो । यसअघि नै ती मुलुकहरूले ‘अपरेसनल’ सहमतिका लागि नेपाललाई बोलाए पनि निर्वाचनका कारण नेपाल सहभागी हुन सकेको थिएन ।

सूचना राजमार्ग सञ्चालनका लागि काभ्रे, सिन्धुली, महोत्तरी, सिरहा, सुनसरी जिल्लाको तीस ठाउँमा सामुदायिक सूचना केन्द्र (सीईसी) स्थापना गरिएको जानकारी उहाँले दिनुभयो । त्यसैगरी, भारत, बङ्गलादेश र भुटानले समेत विभिन्न ठाउँमा सामुदायिक सूचना केन्द्र (सीइसी) स्थापना गरिसकेका छन् । यी सामुदायिक सूचना केन्द्रबीच ‘लिङ्क’ भइसकेपछि यी मुलुकले विज्ञान, प्रविधि लगायत क्षेत्रमा प्राप्त गरेका उपलब्धिहरू एक अर्काबीच ‘सेयर’ हुने र लाभान्वित हुने उहाँले बताउनुभयो ।

नेपाल टेलिकमका प्रवक्ता प्रतिमा वैद्यले हस्तान्तरणपछि यसको सञ्चालन, रेखदेख र मर्मत टेलिकमले गर्ने बताउनुभयो । यो सूचना राजमार्ग सञ्चालनसँगै सूचना प्रविधिको क्षेत्रमा विश्वसँग नेपालको ‘कनेक्टिभिटी’ थप फराकिलो हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
परियोजना निर्माणका लागि सन् २००७ मा दक्षिण एसियामा अवधारणा आएको थियो भने २००९ मा अवधारणाले कागजी रूप लिएको थियो । परियोजनामा एसियाली विकास बैङ्क (एडीबी) को करिब ८५ करोड ५० लाख रुपियाँ अनुदान तथा नेपाल सरकारको करिब २१ करोड रुपियाँ लगानी भएको उपसचिव खतिवडाले जानकारी दिनुभयो ।

परियोजनामा परामर्शदाताका लागि टेलिकम्युनिकेसन इन्डिया लिमिटेड
(आईसीटीसी) र निर्माणका लागि कोरियन कम्पनी आइसक्राप्ट कम्पनी लिमिटेड र नेपाल सरकारबीच सम्झौता भएको थियो । निर्माण कम्पनी र नेपाल सरकारबीच २०६९ माघ १३ गते सम्झौता भएको थियो । काभ्रे, ढल्केबर र विराटनगरमा नेपालको सूचना राजमार्गको केन्द्र (हब) राखिएको बताउँदै खतिवडाले भन्नुभयो, “यस परियोजनाअन्तर्गत धुलिखेलबाट बीपी राजमार्ग हुँदै ढल्केबरसम्म अप्टिकल फाइबर बिछ्याइएको छ । ढल्केबरबाट पूर्व–पश्चिम महेन्द्र राजमार्गमा बिछ्याइएको अप्टिकल फाइबरसँग जोडिएको छ । ”

विराटनगरबाट भारतको सञ्चार निगमको अप्टिकल फाइबरमा जोडिएर सिलुगुडी र कलकत्ता हुँदै फाइबर भारतको चेन्नई पुग्नेछ । चेन्नईको केन्द्रबाट जोडिएर फाइबर विश्वको सूचना राजमार्गमा जोडिनेछ । सिलीगुडीका लागि एउटा कनेक्सन वीरगन्ज र एउटा विराटनगरबाट जानेछ । परियोजनाअन्तर्गत नेपालमा धुलिखेल–नेपालथोक ५० किलोमिटर, नेपालथोक–सिन्धुलीमाढी ७० किलोमिटर र सिन्धुलीमाढी–ढल्केबर गरी जम्मा एक सय ७० किलोमिटर अप्टिकल फाइबर बिछ्याइएको छ । बाँकी पूर्व–पश्चिम महेन्द्र राजमार्गमा बिछ्याइएको अप्टिकल फाइबर मार्फत नेपाललाई यो सूचना राजमार्गमा जोडिएको गोरखापत्रमा खबर छ ।

यो सूचना राजमार्ग निर्माणका लागि नेपाल टेलिकम, भारत सञ्चार निगम लिमिटेड, बङ्गलादेश टेलिकम कम्पनी र भुटान टेलिकमबीच सम्झौता भइसकेको छ । फोन, इन्टरनेट सेवालाई अझ सर्वसुलभ, स्तरीय र तीव्र बनाउने उद्देश्यसहित निर्माण गरिएको यो सूचना राजमार्गको निर्माणपछि फोन र इन्टरनेटको शुल्कमा ३० प्रतिशतसम्म कमि आउने बताइएको छ । उपसचिव खतिवडाका अनुसार, दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहयोग परियोजना (सासेक) अन्तर्गत यी चार दक्षिण एसियाली मुलुक सो एकीकृत सूचना राजमार्गमा आबद्ध हुन लागेका हुन् । यो परियोजना ‘सासेक’ कै एउटा भागका रूपमा छ । दक्षिण एसियामा सूचना, सञ्चार तथा प्रविधिको विकास गर्नु नै यो परियोजनाको उद्देश्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्