सूर्यविनायक नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयको पठनपाठन अब अंग्रेजी माध्यमबाट


भक्तपुर, पुस २९ । सूर्यविनायक नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा वृद्धि गर्न आगामी शैक्षिक सत्रदेखि नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयको पठनपाठन अंग्रेजी माध्यमबाट गर्ने गराउने निर्णय गरेको छ । नगरप्रमुख वासुदेव थापाको अध्यक्षतामा सम्पन्न दोस्रो नगरसभाले यस्तो निर्णय गरेको वडाध्यक्ष उपेन्द्र केसीले जानकारी दिए ।

मेयर थापाले पनि शैक्षिक सत्र २०७५ देखि नगरभित्रका सबै सामुदायिक विद्यालयमा प्रारम्भिक बालविकास केन्द्रदेखि कक्षा ३ सम्म अनिवार्यरुपमा अंग्रजी माध्यमबाट पठनपाठन गराउने व्यवस्था गरिने जानकारी दिए । ‘नगरपालिकाले आगामी शैक्षिक सत्र २०७८ सम्ममा कक्षा १२ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन गराउन शुरु गर्नेछ ।’ नगरसभाले भवन निर्माण मापदण्ड, सडकको क्षेत्राधिकारसहितको आधारभूत निर्माण मापदण्ड २०७२ र शहरी वातावरण व्यवस्थापन गर्न नगर प्रहरी सञ्चालन गर्ने निर्णय पनि गरेको नगरपालिकाका प्रवक्तासमेत रहेका केसीले जानकारी दिए ।

नगरपालिकाले उपप्रमुख जुना बस्नेतको संयोजकत्वमा विनय महत र राजु लोबन्जार रहेको न्यायिक समिति गठन गरेको छ । खेलकुदको विकास र विपद् व्यवस्थापन गर्न अनुदान तथा आर्थिक सहायता निर्देशिका पारित गरिएको छ । त्यस्तै निर्माण व्यवसाय नियमन, बजार अनुगमन, सरसफाइ तथा फोहरमैला व्यवस्थापन, नगर योजना तथा कार्यसञ्चालन, विज्ञापन कर, व्यवसाय कर र पूर्वप्राथमिक विद्यालय व्यवस्थापन निर्देशिका तथा जग्गा चक्लाबन्दीसम्बन्धी कार्यविधि पारित गरेको छ । त्यस्तै सहकारी विधेयक २०७४, कृषि व्यवसाय प्रवद्र्धन विधेयक २०७४ र शिक्षा नियमावली २०७४ समेत पारित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्