सेनाको सुदूरपश्चिम पृतनाबाट हराएको हतियार भेटियो


७ असोज । साउनको तेस्रोसाता नेपाली सेनाको सुदूरपश्चिम पृतना दिपायल डोटीबाट हराएको हतियार र गोली फेला परेको छ ।

साउन २१ गते राती क्वार्टर गार्डमा हतियार गिन्तीका क्रममा नपुग भएपछि सेनाले हतियार हराएको थाहा पाएको थियो । त्यसपछि सत्य तथ्य पत्ता लगाउन सेनाले ‘कोर्ट अफ इन्क्वायरी बोर्ड’ समेत गठन गरी अनुसन्धान जारी राखेको थियो ।

‘पृतना सुरक्षार्थ खटिएको सेनाको गरुडदल गणको एक टुकडीबाट एक थान एसएमजी र त्यसमा प्रयोग हुने २ सय ५० भन्दा बढी राउन्ड गोली गायब भएको थियो,’ सेनाको जनसम्पर्क निर्देशानलयले एक विज्ञप्ति जारी गरी भनेको छ ‘ती हतियार पृतना वरिपरिकै क्षेत्रमा भेटिएको छ ।’

जनसम्पर्क निर्देशनालयले असोज ७ गते पृतना हाताभित्र नियमित सर्च गर्ने क्रममा उक्त पृतना हे.क्वा.को पश्चिम तर्फ नं.२ गेटबाट कुलपाते जाने बाटो ईलाकामा हराएको हतियार, म्याग्जिन र गोलीगठ्ठा फेला परेको जानकारी दिएको छ ।

ती हतियार खोज्न सेनाको विभिन्न टोली परिचालित थिए । हतियार खोज्न बिहीबार मात्रै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीसमेत दिपायल पुगेको थियो । जनसम्पर्क निर्देशनालयले त्य सम्बन्धमा थप अनुसन्धान जारी रहेको पनि जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्