सेना पीडित ८९ महिला र १सय ४० बालबालिकाले अझै न्याय पाएनन


चितवन, २६ वैशाख । सेनाको प्रलोभनमा परी अवैध सम्बन्धबाट जन्मिएका १४० बालबालिका र तीनका आमाले अझै न्याय पाउन सकेका छैनन् ।

चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका सेनाद्धारा महिला र उनीहरुका छोराछोरी पीडित बनेका हुन् । पीडित ११६ जना महिलामध्ये २७ जनाको श्रीमान् पहिचान गरी कानूनी न्याय दिलाइएको उनीहरुको न्यायका लागि लड्दै आएको मध्यवर्ती क्षेत्र जनअधिकार महासंघ नेपालका केन्द्रीय अध्यक्ष छविलाल न्यौपानेले  बताए । तीनका ३४ जना सन्तान रहेका छन् । बाँकी ८९ जना आमा र तीनका १४० छोराछोरीले अझै न्याय पाउन नसकेको उनले बताए ।

महासंघको अगुवाइमा नेपाली सेनाको मध्यपृतना हेटौँडामा निवेदन दिएका ५७ जनामध्ये २७ जनाले कानूनी न्याय पाई नागरिकता बनाउने, उपचार र पढाइको सुविधा पाएको न्यौपानेले बताए ।
नेपाली सेनाले विसं २०६८ मा महासेनानीको नेतृत्वमा छानबिन समिति समेत गठन गरी न्याय दिलाउनका लागि पहल थालेको थियो । तर पीडित भनिएका महिलाले आफूले सन्तान जन्माउँदा सम्बन्ध राखेको सेनाको पहिचान गर्न नसक्दा न्याय दिलाउन असहज बनेको न्यौपानेले बताउनुभयो । निकुञ्जमा घाँस, दाउरा तथा निउरो टिप्न जाँदा सुरक्षामा खटिएका सेनासँग सम्बन्ध हुने र कतिपयले उनीहरुलाई विवाहको प्रलोभनमा पारेर शारीरिक सम्पर्क गर्ने गरेको पीडितको भनाइ छ ।

तीनै सम्पर्कबाट बच्चा जन्मने र केही समयसँगै बसेर सेनाले छाडेपछि उनीहरु बिचल्लीमा पर्ने गरेको देखिएको छ । पीडितको भनाइअनुसार दुई तीन महिनादेखि छ वर्षसम्म सँगै बस्ने र त्यसपछि सम्पर्कविहीन हुँदा उनीहरुबाट जन्मिएका सन्तान र आमाको बिचल्ली हुँदै आएको पाइन्छ । एक पीडितका अनुसार कतिपय महिलाको त जबर्जस्ती करणीबाट सन्तान जन्मिएको र न्याय पाउन नसकेको पनि उदाहरण रहेका छन् ।
न्यौपानेका अनुसार मेघौलीकी एक महिलाको चारजना सैनिकसंगको सम्पर्कबाट छ जना बच्चा जन्मिएका छन् भने अर्को एक महिलाको तीनजना सैनिकसँगको सम्पर्कबाट सातजना बच्चा जन्मिएका छन् । ती बच्चा हुर्किइसकेका छन् तर बाबुको पत्तो लाग्न सकेको छैन ।
यसरी जन्मिएका बच्चा ९ वर्ष देखि २३ वर्षसम्म पुगेका न्यौपानेले बताए।
एउटै सैनिकबाट तीनजनासम्म सन्तान जन्मिएका पनि छन् । तर ती सैनिक कहाँ छन् भन्ने पत्तो लाग्न सकेको छैन । पीडित महिलामध्ये २१ जना विदेश गएको र अन्य माइती र आसपासका क्षेत्रमा ज्याला मजदूरी गरी परिवार पालिरहेको पाइएको छ ।

निकुञ्ज आसपासको हालको भरतपुर महानगरपालिकाको वडा नम्बर २२ देखि २८ सम्म र माडी नगरपालिकाका महिला पीडित भएका हुन् । न्यौपानेका अनुसार पीडित हुनेमा जनजाति समुदायका ८६ जना रहेका छन् भने दलितका १४ र अन्य जातिका १६ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्