सेफ ल्याण्डिङको प्रयासमा राजपा


काठमाडौं, चैत २७ । केही महिनायता राष्ट्रिय जनता पार्टी (राजपा) संघीय समाजवादी फोरमसँग एकताको भगिरथ प्रयत्नमा छ । राजपाका नेताहरुको अभिव्यक्ति नरम मात्रै छैन, एकताको प्रयास भइरहेको भनेर एक्लौटी प्रचार पनि गरिरहेकै छन् ।

राजपाको संयोजक राजेन्द्र महतो बनेयता निरन्तर एकताको प्रयत्न भइरहेकै छ । महतोपछि संयोजक बनेका महिन्द्र राय यादव र भरतसिंह भण्डारीले पनि त्यही प्रयत्न गरिरहेका छन् ।

मंगलबार बसेको राजपाको बैठकले सर्वोच्च अदालतको आदेशप्रति असन्तुष्टि जनाउनु बाहेक अर्को महत्वपूर्ण बुँदा भनेर पार्टी एकताबारे छलफल गरेका छन् । छलफलपछि संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई पत्र समेत पठाइएको छ ।

पत्रमा भनिएको छ, ‘सत्ता पक्ष र प्रतिपक्षबीच एकीकरण सम्बन्धमा यहाँहरुले आपसी सहमति र समझदारीकै आधारमा यस्ता विषयहरू हल गर्न सक्ने सकरात्मक कुरा गर्नुभएकाले यस विषयमा वार्ता र संवाद गर्न सकिन्छ ।’

यसको अर्थ संघीय समाजवादी फोरम सरकारमै रहेपनि एकता चाँही गर्ने । जबकी राजपाका नेताहरुले सार्वजनिक खपतका लागि भने पार्टी एकता गर्दा सत्ता छोड्नुपर्ने अभिव्यक्ति दिदै आएका थिए ।

यो पत्रपछि भने सत्तामै रहेपनि वार्ताको प्रयत्न गर्ने । राजपा एक कदम अगाडि बढ्दै राजेन्द्र महतोको संयोजकत्वमा वार्ता समिति नै गठन गरेको छ । राजपाले वैशाख पहिलो हप्तादेखि गर्ने भनेको महाधिवेशन पनि स्थगित गरिसकेको छ । राजपाले वैशाख ७, ८ र ९ गते महाधिवेशन गर्ने मिति तय गरेको थियो ।

सिके राउत जनमत पार्टी दर्ता गराउँदै दुई नम्बर प्रदेशमा विपक्षी दलको भूमिका बनाउन थालेपछि राजपा एकताको प्रयासलाई बलियो बनाउन खोजिरहेका छन् । अर्थात्, राजपा पार्टी एकता गर्दै संघीय सरकारमा पनि सामेल हुने मनोविज्ञानमा देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्