सोमबारदेखि बागमती तीर्थयात्रा शुरु हुने


काठमाडौँ, ९ वैशाख । पशुपतिनाथ मन्दिर परिसरबाट सोमवार देखि वागमती तीर्थयात्रा शुरु हुने भएको छ । नेमुनिको पालादेखि शुरु भएको विश्वास गरिने वाग्मती तीर्थयात्रा स्थगित भएको ४० वर्षपछि सोमबारदेखि शुरु हुन लागेको हो ।

सोमबार बिहान पशुपतिनाथ मन्दिरमा पञ्चामृतसहित पूजा एवं रुद्रीपाठ गरेपछि यात्रा शुरु हुने वाग्मतीको कटुवाल दहबाट वाग्द्वारसम्म वाग्मती तीर्थयात्रा सात दिन हुनेछ । वाग्मती सफाइ महाअभियानलाई निरन्तरता दिँदै जाने क्रममा यस वर्षदेखि पशुपति क्षेत्र विकास कोषले यात्रालाई पुनः सञ्चालन गर्न लागेको आज आयोजित पत्रकार सम्मेलनमा सदस्य सचिव डा प्रदीप ढकालले बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले गत चैतमा जारी गरेको मन्त्रालयले १०० दिनभित्र गर्ने कार्ययोजना अनुरुप विसं २०३४ देखि रोकिएको वाग्मती तीर्थयात्रालाई पुनः सञ्चालन गर्न लागिएको हो । तीर्थयात्रा वैदिक र तान्त्रिक मिश्रित विधिमा अनुसार कटुवाल दहबाट वाग्द्वारसम्मका १६५ तीर्थस्थलमा पैदल हिँडेर स्नान, पूजाआजा गरी मनाईन्छ ।

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, गायत्री परिवारलगायत सामाजिक संस्थाको सक्रियतामा विसं २०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ महाअभियान शुरु भएपछि यो तीर्थयात्रा शुरु गर्न लागिएको सचिव डा प्रदीप ढकालले बताए । उनका अनुुसार विसं २०३४ सम्म वैशाख कृष्ण चतुर्दशीदेखि वैशाख शुक्ल पूर्णिमासम्म १७ दिन वाग्मती यात्रा गरिन्थ्यो ।

यस वर्ष भने यात्रा वैशाख शुक्ल अष्टमीदेखि वैशाख शुक्ल पूर्णिमासम्म सात दिन रहने छ । पशुपति क्षेत्रविकास कोषले वाग्मतीको पानीमा फोहोरका कारण स्नान गर्न नसकिने हुनाले ट्यांकरको पानी व्यवस्था गरेको छ । यात्रा कटुवालदहबाट शुरु भई सुन्दरीघाट,टेकु कालमोचनघाट, शंखमुल, पशुपति राजराजेश्वरी,गोकर्ण, सुन्दरीजल, वाग्द्वार, बूढानीलकण्ठ, साँखु बज्रयोगिनी,चाँगुनारायण,मनोहरा,गुह्येश्वरी,पशुपति विरुपाक्ष, रुद्रगाडेश्वर पुगी बैशाख १७ गते समापन कार्यक्रम रहेको छ । सो यात्रामा प्रत्येक घाटमा स्नान गरिन्छ भने मन्दिरहरुमा दर्शन गरिन्छ । यो वर्ष सात दिन मात्र गरिने यात्रा अर्को वर्षवाट १७ दिन पुरै गरिने पशुपति क्षेत्रविकास कोषले जनाएको छ ।

यात्रा उपत्यकाका सात नगरपालिकामा पुग्नेछ । दक्षिणकाली, कीर्तिपुर, काठमाडौँ महानगरपालिका, गोकर्णेश्वर, कागेश्वरी मनोहरा, बूढानीलकण्ठ, शंकरापुर र चाँगुनारायण क्षेत्रमा वाग्मती यात्रा पुग्नेछ । पशुपति क्षेत्रविकास
कोषका कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीले कोष स्थापना हुनुभन्दा आठ वर्षअघिदेखि नै यात्रा रोकिएकामा शुरु गरेर यात्राको सांस्कृतिक महत्व जनसमक्ष ल्याउन लागिएको बताए।

 

प्रतिक्रिया दिनुहोस्