स्कूलको कार्यक्रममा पुगेर ओलीले भने, ‘एकताबद्ध एमाले चाहिएको छ’


२० माघ । नेकपा (एमाले ) अध्यक्ष केपी शर्मा ओलीले  राष्ट्रियता, लोकतन्त्र, सामाजिक न्याय र समानता, राष्ट्रिय एकता र संवृद्धिको नायकत्व एमालेले गरेको दाबी गरेका छन् । स्कूल विभागले बिहीबार आयोजना गरेको एक कार्यक्रममा उनले यस्तो दाबी गरेका हुन् । ओली स्कूल विभागका प्रमुख पनि हुन् ।

‘राष्ट्रियता, लोकतन्त्र, सामाजिक न्याय र समानता, राष्ट्रिय एकता र संवृद्धिको नायकत्व एमालेले गरको छ,’ ओलीले भने, ‘तर, विरोधीहरुले काल्पनिक आरोपहरु जनताका बीचमा लगेर भ्रम फिजाउने प्रयास गरेका छन्, यस्ता भ्रम चिर्न जरुरी छ । ओलीले एमाले नेतृत्वको सरकारले राम्रा मात्र काम गरेको पनि दाबी गरे ।

‘एमाले नेतृत्वको सरकारले गरेका राम्रा कामहरुले जनताका बीचमा लैजान जरुरी छ,’ उनले भने, ‘सरकारमा रहेका बेला हामीले नराम्रा काम नै गरेनौँ,’ उनले भने, ‘ती सबै राम्रा कामको फेहरिस्त जनताका बीचमा लैजान जरुरी छ ।’

ओलीले एमालेको छिमेक र परराष्ट्र सम्बन्ध सुस्पष्ट भएको पनि दाबी गरे । तर,  देशद्रोहीहरुले एमालेलाई कमजोर पार्ने प्रयास गरेको भन्दै त्यस्ता भ्रम चिर्ने दाबी गरे ।  ‘देशद्रोही प्रयास भैरहेका छन् । प्रतिगामी प्रयासहरु भैरहेका छन् । प्रतिक्रियाबादी र  जनविरोधी प्रयासहरु भैरहेका छन्,’ उनले भने,   ‘एमाले त्यस्ता प्रयासलाई परास्त गर्न चाहन्छ । त्यसका लागि एकताबद्ध एमाले चाहिएको छ ।’

उनले नीति र व्यवहारमा स्पष्ट भएको पार्टी पनि एमाले नै भएको दाबी पनि गरे । ‘हामीले कसैलाई अलमल्याएर, छलछाम गरेर धोका दिएर जानु छैन,’ उनले भने, हामीलाई पार्टीमा युनिटी चाहिएको छ ।’

प्रतिक्रिया दिनुहोस्