स्थानीय तहको निर्वाचन तीन चरणमा गर्न पूर्व प्रमुख निर्वाचन आयुक्तको सुझाव


११ चैत । पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले स्थानीय तहको निर्वाचनका लागि ५० दिन मात्र बाँकी रहेको भन्दै तोकिएकै मितिमा सम्पन्न गर्न चुनौती रहेको स्पष्ट पारे ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको निर्वाचनका चुनौतीहरू विषयक साक्षात्कारमा बोल्दै उनले यस्तो स्पष्ट पारेका हुन् । उनले पहिलो र प्रमुख चुनौती दलीय सहमति कायम गर्नुमा रहेको उल्लेख गरे । उनले स्थानीय तह निर्वाचनको मतगणना मतदान केन्द्रमै गर्न मिल्नेगरि स्थानीय तह निर्वाचन व्यवस्थान ऐनमा भएको प्रावधानलाई संशोधन गर्न पनि सुझाव दिए । निर्वाचन सम्पन्न भएलगत्तै मतपरिणाम निर्वाचन केन्द्रमै गणना गर्नुपर्ने उनको भनाइ थियो । त्यसो भयो भने तीन घण्टाभित्रै निर्वाचनको परिणाम आउने बताए ।

धेरै लामो समयपछि स्थानीय तहको निर्वाचन हुन लागेको भन्दै उनले ८५ लाख नयाँ मतदाता रहेको स्पष्ट पारे । उनले निर्वाचनका लागि चुनौती धेरै भए पनि निर्वाचन रोक्नु नहुनेमा जोड दिए ।

उनले काठमाडौँ र सिंहदरबारमा बसेर निर्वाचनको वातावरण तयार नहुने भन्दै नेताहरुलाई गाउँमै जान सुझाव दिए । उनले ७ सय ४४ वटा स्थानीय सरकारको निर्वाचन एकै चरणमा गर्नुभन्दा पनि दुई वा तीन चरणमा गर्दा राम्रो हुने भन्दै सरकारले यसमा गलत गरेको आरोप लगाए । उनले भने, ‘सङ्घको चुनाव एक दिनमा गर्दा राम्रो हुन्छ, प्रदेशको चुनाव ७ दिनमा गर्दा राम्रो हुन्छ, तर ७४४ वटा स्थानीय सरकारको चुनाव एकै चरणमा गर्नु भनेको गाह्रो छ ।’

प्रतिक्रिया दिनुहोस्