स्थानीय तह पुनर्संरचना प्रतिवेदनः सरकारलाई बन्यो गलपासो


३ पुस । केही दिनअघि, स्थानीय निकाय पुनर्संरचना गर्न बनेको आयोगका अध्यक्ष बालानन्द पौडेलले सोमबारसम्म प्रतिवेदन सरकारलाई बुझाउने बताएका थिए । तर, आयोगले तराई–मधेसका ८ जिल्लालाई छाडेर सोमबारसम्म प्रतिवेदन बुझाएको खण्डमा पुरानो संरचनाअनुरुप निर्वाचन गर्न नपाइने र नयाँ संरचनाअनुरुप स्थानीय तहको निर्वाचन गर्नैपर्ने बाध्यतामा सरकार फसेको हुँदा सत्तारुढ दलभित्र छट्पटी सुरु भएको छ ।

पछिल्लो समय, नेपाली काँग्रेस पुरानै संरचनाअन्तर्गत स्थानीय निकायको निर्वाचन गर्ने पक्षमा दृढतापूर्वक उभिएको छ । काँग्रेस सभापति शेरबहादुर देउवालगायत अरु नेताहरुसमेत पुरानै संरचनाको रटानमा छन् । माओवादी–केन्द्रका पनि केही नेताहरु काँग्रेसकै बाटोमा छन् । अहिले उत्पन्न राजनीतिक समस्या हल हुने भए पुरानै संरचनामा टेकेर भए पनि निर्वाचनमा जानुपर्नेमा सत्तारुढ दलका नेताहरुबीच मन मिलेको छ ।

तर, आयोगले प्रतिवेदन बुझाउने बित्तिकै पुरानो संरचनाअन्तर्गत स्थानीय निकायको निर्वाचन गराउन पाइँदैन । आयोगले प्रतिवेदन दिने बित्तिकै पुरानो संरचना पुनः विघटन हुने हुँदा काँग्रेस सभापति देउवाले एकोहोरो फलाक्दै आइरहेको पुरानो संरचनाअन्तर्गको निर्वाचन संविधानसम्मत र व्यावहारिक हुँदैन ।

पुनर्र्सरचना आयोगको म्याद फागुनसम्म रहेको छ । फागुनभित्रै आयोगले प्रतिवेदन बुझाइसक्नुपर्छ । म्याद सकिएपछि आयोगको म्याद थप्न मिल्ने प्रावधान छैन । त्यही कारण, आयोगले अहिले जति जिल्लाबाट प्रतिवेदन आएको छ, त्यसकै आधारमा सरकारलाई प्रतिवेदन बुझाउन लागेको हो ।

तर, सरकारले प्रतिवेदन बुझ्ने बित्तिकै स्वतः पुरानो संरचना विघटन हुने देखिएको हुँदा प्रतिवेदन नबुझ्ने मनस्थितिमा सत्तारुढ दलहरु रहेको बुझिएको छ । सत्तारुढ दलहरुले त आयोगको म्याद फागुनसम्म रहेको हुँदा अहिले हतारमा प्रतिवेदन नबुझ्ने भनेर बखेडा झिक्नसमेत थालेका छन् । जसरी भए पनि अहिले प्रतिवेदन नबुझ्ने र पुरानै संरचनाअन्तर्गत चुनावमा गराउने मनस्थितिमा रहेको काँग्रेसले यसमा लबिङ गरिरहेको बुझिन्छ । सत्तारुढ दलहरु र मधेसी मोर्चाका नेताहरुले त आयोगको प्रतिवेदन नबुझ्ने भनेर निर्णय नै गरिसकेका छन् । तर, सत्तारुढ दलभित्रकै कतिपय नेताहरुले चाहिँ आयोगले बुझाउने लागिरहेको प्रतिवेदनलाई बुझेर अरु उपायहरुद्वारा अहिलेको संक्रमणकालीन अवस्थालाई पार लगाउनेतिर पहल थाल्नुपर्नेमा जोड दिन थालेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्