स्याङ्जामा एमालेबाट धमाधम सिफारिस हुँदै


५ वैशाख । स्थानीय तहको निर्वाचनका लागि स्याङ्जा जिल्लाका विभिन्न नगरपालिका र गाउँपालिकाको प्रमुख र उपप्रमुखहरुमा नेकपा (एमाले) का उम्मेद्वारहरुको नाम सिफारिस हुने क्रम जारी छ । ५ वटा नगरपालिका र ६ वटा गाउँपालिका रहेको स्याङ्जाका अधिकांशमा एमालेले आफ्ना उम्मेद्वारहरु सिफारिस गरेको छ ।

स्याङ्जाको पूर्वी–दक्षिण भेगमा पर्ने चापाकोट नगरपालिकाको मेयरमा एमाले जिल्ला कमिटीका उपसचिव रामचन्द्र भट्टराई र जिल्ला कमिटी सदस्य डा. बुद्धिमान श्रेष्ठको नाम सिफारिस भएको छ । भट्टराई २०४९ सालदेखि नै स्थानीय राजनीतिमा सक्रिय छन् । श्रेष्ठ भने काठमाडौंमा दन्त अस्पताल सञ्चालन गरेर बस्दै आएका छन् । यसैगरी, उपमेयरमा सरस्वति भट्टराई, विष्णुदेवी भुसाल र तारादेवी आचार्यको नाम सिफारिस भएको छ । साविकको साँखर, सेखाम, मल्याङकोट, कुवाकोट, चापाकोट, रत्नपुर र पकवादीको केही भाग समेटेर उक्त नगरपालिका बनाइएको हो ।

जिल्लाकै अर्को नगरपालिका वालिङमा भने मेयरमा उदय श्रेष्ठ र पुण्य अर्यालको नाम सिफारिस भएको छ भने उपमेयरमा खगिश्वरा थापाको नाम सिफारिस भएको छ । यसैगरी, पुतली बजार नगरपालिकाको मेयरमा सीमा क्षेत्री, अनन्त श्रेष्ठ र डा.धु्रवबन्धु अर्याल र उपमेयरमा डोभबहादुर कार्की, तारा थापा र महेश पुरीको नाम सिफारिस भएको छ ।

जिल्लाको आँधीखोला गाउँपालिकाको अध्यक्षमा सुधीर पौडेल र उपाध्यक्षमा शर्मिला पौडेलको नाम सर्वसम्मत भएको छ भने फेदीखोला गाउँपालिकाको अध्यक्षमा खड्ग रानाभाट, धनश्याम सुवेदी र उपाध्यक्षमा निरमाया कार्की, देवी थापा क्षेत्री र गीता शर्माको नाम सिफारिस भएको छ ।

बिरुवा गाउँपालिकाको अध्यक्षमा सूर्य कुँवर र चुनप्रसाद शर्मा र उपाध्यक्षमा भगवती शर्मा र देवी शर्माको नाम सिफारिस भएको छ । यसैगरी, हरिनास गाउँपालिकाको अध्यक्षमा खिमबहादुर मानन्धर र उपाध्यक्षमा झनमाया पराजुलीको नाम सिफारिस भएको छ ।

प्रतिक्रिया दिनुहोस्