स्वास्थ्यमन्त्री गगन थापाज्यू, डाक्टर राजेन्द्र कुमार सञ्जेल तपाईँका आफन्त हुन् ?


२६ बुटवल । ग्रामीण भेगमा रहेका स्वास्थ्य चौकीले समेत साँझ पाँच बजेसम्म सेवा दिइरहेका हुन्छन् । तर, लुम्बिनी अञ्चल अस्पताल बुटवलको कथा भने अलिक फरक खालको छ । स्वास्थ्य मन्त्री गगन थापाले अस्पताल सुधारका जति ठूला भाषण गरे पनि उनको त्यो भाषण लुम्बिनी अञ्चल अस्पतालका लागि भने  ‘भालुलाई पुराण’ जस्तो भएको छ । कतिसम्म भने यस अस्पतालमा कार्यरत डाक्टरहरु ड्यूटी समयमा समेत अस्पताल हाताभित्र भेट्न निकै मुस्किल हुन्छ । लुम्बिनी अञ्चल अस्पतालको लापरबाहीको यो एक नमूना मात्र हो ।  अस्पतालको त्यही लापरबाहीले गर्दा उपचारका लागि आएका विरामी मात्र होइन उनीहरुका आफन्त हैरान भएका छन् ।

बुधबार बिहान एघार बजे गुल्मीबाट उपचारका लागि बुटवल आएकी दुर्गा भट्टराईले दिउँसो एक बजेसम्म पनि हाडजोर्नी सम्बन्धि अर्थोडिपार्टमेन्टका डाक्टर भेट्न सकिनन् ।  डाक्टर राजेन्द्र कुमार सञ्जेलको ड्युटी समय तीन बजेसम्म हो । तर, उनको एक बजेसम्म पनि कुनै अत्तो–पत्तो थिएन । डाक्टरको पर्खाइबाट हैरान भएपछि बिरामीका आफन्त अस्पताल प्रशासनमा गएर सुपरिटेन्डेन डा .विकास देवकोटासँग गुनासो गर्दा  थाहा भयो । उनी ड्युटी समयमै बाहिर गएका रहेछन् ।

देवकोटाले पनि सञ्जेलको ड्युटी समय दसदेखि तीन बजेसम्म भएको भन्दै त्यो समयमा बारिह जान नमिल्ने बताए । उनको त्यस्तो भनाइपछि सम्बन्धित वार्डका इञ्चार्जले फोन गरी सञ्जेललाई विरामीको उपचारका लागि आउन भने । तर, उनले विरामीलाई अर्को बुधबार आउनु भन्नु भन्दै ठाडो जवाफ फर्काए, उनी आएनन् ।

कसैको पनि आग्रह वा निर्देशन नमान्ने डा. सञ्जेलको काइदा पछि बुझ्दै जाँदा पत्ता लाग्यो । उनी स्वास्थ्य मन्त्री थापाको नजिकको मान्छे भएको धम्की दिदैँ यसरी बरालिदैँ आएका रहेछन् ।  नाम नबताउने सर्तमा एक डाक्टरले पनि सञ्जेलको मनपरीबाट दिक्क भएको गुनासो गरे । यसबारे डा. सञ्जेलसँग बुझ्न खोज्दा उनको फोन स्वीचअफ  थियो । उनी बुटवलकै ट्राफिकचोकमा रहेको लुम्बिनी नर्सिङ्गहोम र तीलगङ्गा मेडिकलमा समेत हाडजोर्नी सम्बन्धि डाक्टरका रुपमा कार्यरत रहेको तथ्य पत्ता लागेको छ ।
ऋषि भट्टराई

प्रतिक्रिया दिनुहोस्