स्वास्थ्यमा मन्त्री थापाको हस्तक्षेपै–हस्तक्षेप


२८ कात्तिक । नेपाली कांग्रेसका युवा नेता गगन थापाले स्वास्थ्य मन्त्रीको पदभार सम्हाले लगत्तै सबै विभागीय प्रमुुख र निर्देशकहरुलाई सय दिनको कार्ययोजना तयार गर्न निर्देशन दिए । सबै विभागीय प्रमुख र निर्देशकहरुले मन्त्रीको निर्देशन शिरोपर गर्दै सय दिनको कार्ययोजना पेश पनि गरे । तर, मन्त्री थापाले सय दिन नपुग्दै नीति योजना महाशाखाका प्रमुखलगायत कार्यक्रम शाखाको प्रमुखहरुको सरुवा गरेका छन् ।

केही महाशाखाका प्रमुखहरुको सरुवा भएपछि सयदिने कार्ययोजना त्यत्तिकै अलपत्र पर्न पुगेको छ । सय दिने कार्ययोजनामा पनि सरकारको वार्षिक योजनामा समावेश भएका विषयलाई भ्रमपूर्ण रुपमा प्रचार गरिएको बताइन्छ ।

समानान्तर प्रशासन

स्वास्थ्य सेवा नियमावलीअनुसार स्वास्थ्य मन्त्रालयले आठौँ तहदेखि माथिको मात्रै सरुवा गर्न पाउँछ । तर, मन्त्री थापाले भने विभागहरुमा पेश गर्ने निवेदन सोझै मन्त्रीको स्वकीय सचिवालयमा पेश गर्ने व्यवस्था गरे । स्वास्थ्य सेवा नियमावलीअनुसार चौथो र पाँचौँको निर्देशनालयमा र छैटौं र सातौंको सम्बन्धित विभागमा निवेदन पेश गर्नुपर्ने व्यवस्था छ । यसैगरी, मन्त्रालयमा सरुवा हेर्ने समानान्तर संरचनासमेत खडा गरिएको छ । जुन काम कृष्ण रिजाल र देवराज लामिछानेले गर्दै आएका छन् । तल्लो तहका कर्मचारीको निवेदनको नाममा मन्त्रालयलाई सरुवाको चलखेलको अखडा बनाउने काम भएको पाइएको छ । साथै, कर्मचारी प्रशासनको अधिकार पाएका स्वास्थ्य सेवा विभाग, आयुर्वेद विभाग र औषधि व्यवस्था विभागलाई जिम्मेवारविहिन बनाउने काम भएको छ ।

निमित्त र कनिष्ठलाई जिम्मेवारी

वीर अस्पतालजस्तो देशको प्रमुख अस्पतालमा केही महिनाअघि नवौं तहमा बढुवा भएका डा. भूपेन्द्र बस्नेतलाई निर्देशकको जिम्मेवारी प्रदान गरिएको छ । जबकि वीर अस्पतालमा एघारौं तहका वरिष्ठ चिकित्सकहरु धेरै छन् । क्षेत्रीय मेडिकल स्टोर विराटनगर, क्षेत्रीय मेडिकल स्टोर हेटौंडा, क्षेत्रीय मेडिकल स्टोर नेपालगञ्ज, क्षेत्रीय मेडिकल स्टोर धनगढी, जिल्ला स्वास्थ्य कार्यालय लमजुङ्ग र डोटीलगायतका कार्यालय निमित्तका भरमा चलेका छन् ।

यसैगरी सरुवामा विशेष चलखेल हुने गरेको छ । स्वास्थ्य सेवा नियमावलीअनुसार छैटौं र सातौं तहका कर्मचारीको सरुवा कार्तिक महिनामा स्वास्थ्य सेवा विभाग, आयुर्वेद विभाग र औषधि व्यवस्था विभागले गर्नुपर्ने भएकाले रामजी घिमिरेको निर्देशनमा देवराज लामिछानेले आयुर्वेद बिभागमा बढी चलखेल गरिरहेको बताइन्छ ।

त्यस्तै स्वास्थ्य सेवा विभागमा घिमिरेकै निर्देशनमा नवराज श्रेष्ठ, हरिहर तिवारी, भवानी शर्मा र अङ्गद शाहीहरुले चलखेल गरिरहेका छन् । शाहीले पूर्वमन्त्री उमाकान्त चौधरीको पालामा पनि सरुवामा चलखेल गरेका थिए । स्वास्थ्य सेवा विभागको सरकारी कागजमा टिपेक्स लगाएर गम्भीर अपराधका काम पनि शक्तिकै भरमा साम्य पारेका थिए । स्वास्थ्य सेवा विभागमा आयुर्वेद विभागभित्र सरुवा हुन जिल्ला जनस्वास्थ्य कार्यालयमा सरुवा हुन क्षेत्रीय मेडिकल स्टोरमा सरुवा हुन मोटो रकमको चलखेल भएको समेत सूत्रको दाबी छ । यसका निम्ति वैकुन्ठ रेग्मी, दीपक रिजाल, कृष्ण पौडेल र तारा लुइँटेललगायत संलग्न भएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्