स्वास्थ्य मन्त्रालयकै आंकलन गलत साबित, कोरोना प्रक्षेपण भ्रामक


काठमाडौं, १४ भदौं । प्रक्षेपण १– अक्सफोर्ड विश्वविद्यालयका २ निकायले देशव्यापी रुपमा समुदायस्तरमा संक्रमण फैलिइरहे नेपालमा ८१ प्रतिशत जनसंख्यामा कोरोना लाग्ने प्रक्षेपण गरेका छन् ।

प्रक्षेपणअनुसार हो भने देशव्यापी समुदाय तहमा कोरोना फैलिए र समयमा उपचार नपाएको अवस्थामा सन् २०२० को अन्त्यसम्ममा ४९ हजार २ सय जनाको मृत्यु हुनेछ ।

प्रक्षेपण २– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नै पनि सुरुमा नेपालमा १४ हजार ८ सय ९८ जना कोरोना संक्रमित हुने प्रक्षेपण गरेको थियो । खराब अवस्था आए साउन २५ गतेसम्म ९१ हजार संक्रमित पुग्ने भनिएको थियो । जनस्वास्थ्य मापदण्ड अपनाए भदौ २ गतेसम्म ३९ हजार पुग्ने प्रक्षेपण मन्त्रालयले गरेको थियो ।

प्रक्षेपण ३– नेपालमा पहिलो कोरोना संक्रमित निको भएको केही सातापछि संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्रालयले प्रक्षेपण गर्दै भन्यो, ‘मुलुकलाई कोरोना संक्रमणमुक्त राष्ट्र घोषणा गर्नुपर्छ । विभिन्न भाषामा प्रचार सामग्री तयार गरी पर्यटक भित्र्याउनु पर्छ ।’
०००

नेपालमा कोरोना भाइरस संक्रमणको अवस्था र गतिबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रक्षेपण ‘हावादारी’ साबित भएका छन् । अक्सफोर्डको प्रक्षेपणअनुसार समुदायमा संक्रमण फैलिइरहेको अवस्थामा कोरोनाबाट झन्डै २ करोड ४० लाख जनसंख्या संक्रमित हुनेछन् ।

जुनदेखि सेप्टेम्बर (असार १७ देखि भदौ १५ गतेसम्म) प्रतिदिन ५० हजारदेखि ७५ हजारसम्म संक्रमित हुने प्रक्षेपणमा उल्लेख छ । जुलाईदेखि अक्टोबर (साउन १७ देखि कात्तिक १५ सम्म) संक्रमण उच्च बिन्दुमा पुग्ने जनाइएको छ ।

स्वास्थ्य मन्त्रालयका पदाधिकारी भने नेपालमा सबै ठाउँमा कोरोना संक्रमण समुदाय तहमा फैलिनसकेको दाबी गर्छन् । कोरोना संक्रमण कतिपय ठाउँमा क्लस्टर (समूहमा) र तराईका कतिपय स्थानमा समुदाय उन्मुख रहेको मन्त्रालयले जनाएको छ ।

जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डे अक्सफोर्डको प्रक्षेपण गलत रहेको दाबी गर्छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘महामारीको बेला यस्ता भ्रम फैलिरहन्छन् । यस्ता हल्ला र भ्रमको विश्वास गर्नु आवश्यक छैन ।’

अक्सफोर्ड पोलिसी म्यानेजमेन्ट (ओपीएम) र अक्सफोर्ड पोलिसी एन्ड एनालिटिक्स फर हेल्थ अफ दी न्यु फिल्ड डिपार्टमेन्ट अफ मेडिसिनले नेपालमा कोरोनाको अवस्थाबारे हालै प्रक्षेपण गरेका हुन् । मूलतः वैज्ञानिक आधारमा रहेर प्रक्षेपण गरिन्छ ।

यसलाई अनुसन्धानको एउटा भागका रूपमा लिइन्छ । अक्सफोर्डले डिफिडको सहयोगमा अध्ययन गरी प्रक्षेपण गरेको हो । यो गणितीय मोडलमा आधारित रहेको जानकार बताउँछन् ।

‘संक्रामक रोगको गतिशीलता बुझ्न, सम्भावित रणनीतिको मूल्यांकन गर्न र पूर्वानुमान गर्न सकिन्छ । यस्ता मोडलहरूले समयपूर्व हस्तक्षेप गर्ने सम्भावित खतरासम्बन्धी गुणात्मक चेतावनी प्रदान गर्छ । स्वास्थ्य प्रणालीमा पर्ने बोझको अनुमान गर्न सहयोग गर्छ’, प्रक्षेपण रिपोर्टमा छ । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया दिनुहोस्