हंसराजलाई मुख्य प्रतिनिधि बनाउँदा मच्चियो भाँडभैलो


१७ चैत । वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमल ढकालले केही समयअघि ‘हंसराज वाग्लेलाई संघमा राख्नु मेरो ठूलो भूल हो’ भनेर बोलेका थिए । तर, तिनै ढकालले संघका पूर्वअध्यक्ष वाग्लेलाई नेपाल उद्योग वाणिज्य महासंघको ५१ औं साधारण सभामा मुख्य प्रतिनिधि बनाएर पठाउने निर्णय गर्दा भने भाँडभैलो मच्चिएको छ । एउटा पक्षले वाग्लेको सिफारिसलाई लिएर गम्भीर आपत्तिसमेत जनाएको छ ।

संघका अध्यक्ष ढकालले गएको शुक्रबार संघको लेटरप्याडमा महासंघको प्रतिनिधिका रुपमा वाग्लेलाई सिफारिस गरेर पठाएका थिए । तर, महासंघले कार्यसमितिको निर्णय खोजेपछि हतारहतार आइतबार बैठक बसालेर वाग्लेको नाम सिफारिस गरेर पठाएको हो ।

आगामी चैत २७ र २८ गते हुने महासंघको साधारणसभा र निर्वाचनमा व्यवसायी संघले वाग्लेलाई मुख्य प्रतिनिधिका रुपमा पठाउने निर्णय गरेसँगै प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चले भने महासंघको गरिमा नबुझी बहुमतको बलमा एकपक्षीय निर्णय गरी जबरजस्ती पठाइएको आरोप लगाएको छ । वाग्लेले महासंघमा वस्तुगतबाट केन्द्रीय समितिमा उम्मेद्वारी दिने तयारीसमेत गरेको बताइएको छ ।

विगतमा संघको अध्यक्ष पदमा रहँदा वाग्लेले थुप्रै अनियमितता गरेको आरोप पनि सो पक्षले लगाएको छ । वाग्लेले अप्रजातान्त्रिक क्रियाकलाप गरेको, अराजक गतिविधि सञ्चालन गरेको, व्यवसायीहरुको आन्दोलनलाई धोका दिएको, विभिन्न विदेशी संस्थाहरुसँग अपवित्र साँठगाँठ गरेको र कामदारहरुलाई प्रत्यक्ष आर्थिक भार पार्ने उद्देश्यले सिन्डिकेटका रुपमा खोलिएका संस्थाहरुलाई प्रश्रय दिइएको आरोप लगाइएको छ ।

विभिन्न आरोप लागेका वाग्लेलाई महासंघको प्रतिनिधिका रुपमा पठाउँदा महासंघको गरिमालाई बेवास्ता गर्ने काम भएको बताउँदै उक्त निर्णयलाई बदर गरेर स्वच्छ छवि भएका, सक्षम र व्यवसायीहरुको हक हितका लागि काम गर्ने व्यक्तिलाई चयन गरेर पठाउनुपर्ने मागसमेत गरिएको छ । मञ्चका अध्यक्ष नरेश गेलालले आम व्यवसायीको भावनालाई कदर गर्न वाग्लेलाई पठाउनुपर्ने निर्णय सच्चाउनुपर्ने माग गरेका छन् । गेलालले भने, ‘वाग्लेलाई पठाउने निर्णयप्रति हाम्रो असहमति र आपत्ति हो । स्वच्छ व्यक्तिलाई पठाउनुपर्ने हाम्रो माग हो ।’

प्रतिक्रिया दिनुहोस्