हत्यामा संलग्न दुई नेता एमालेबाट निष्कासित


५ कार्तिक । नेकपा (एमाले) अर्घाखाँचीले धनचौर गाउँ कमिटीका पूर्वसदस्य कल्पना भुसालको हत्याको आरोप लागेका दुई नेतालाई पार्टीबाटै निष्कासन गरेको छ । सोही गाविसका पूर्वअध्यक्ष खेमराज भुसाल र निवर्तमान अध्यक्ष गणेशकुमार भुसाललाई एमालेको साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको जिल्ला अध्यक्ष चेतनारायण आचार्यले बताए ।

एमालेले सो हत्याको निष्पक्ष छानबिन गरी हत्यारालाई कानुनबमोजिम कारबाही गर्न मागसमेत गरेको छ । हराएको भनिएकी धनचौर–५ रातमाटाकी भुसालको हत्या भएको खुलासा भएको थियो । हत्याको अभियोगमा पक्राउ परेका गणेशकुमार भुसालले हत्या आफँैले गरेको बताएपछि भुसालको हत्या भएको खुलेको हो ।

गएको असोज १८ गते भुसाल धनचौर–९ देउराली पसलबाट सामान किनेर साँझ ५ बजेतिर घर जान्छु भनेर हिँडे पनि घर नपुगेपछि आफन्तले खोजतलासको निम्ति प्रहरीकहाँ निवेदन दिएका थिए । भुसाल हराएपछि असोज १९ गतेदेखि स्थानीय, आफन्तजन र प्रहरीको टोलीले उनको खोजी थालेको थियो ।

खोज्ने क्रममा कल्पनाको हत्या भएको हुनसक्ने र हत्यामा संलग्न रहेको आशङ्कामा भुसाल र निजका छोरा गणेशकुमारलाई हिरासतमा लिई घटनाको थप अनुसन्धान सुरु गरेको थियो ।

खोजतलासमा गएको टोलीले हराएको सात दिनपछि असोज २४ गते दिउँसो जलुके गाविस–२ को छेकुवा जङ्गल नजिकै झिमरुक नदीमुनि राप्ती नदीको किनारमा कल्पनाको मृत शरीर फेला पारेको थियो ।

प्रतिक्रिया दिनुहोस्