हत्यामा संलग्न भएको आरोपमा एक पक्राउ


 

विराटनगर, १० भदौ । एक हप्ता अगाडि विराटनगर महानगरपालिका–२ धरानरोडस्थित बिक्की हार्डवेयरमा कार्यरत ५० वर्षीय सुरक्षागार्ड टङ्क भट्टराईको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले आज यहाँ एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङमा आज पत्रकार सम्मेलनको आयोजना गरी विराटनगर महानगरपालिका–४ जामुनगाछी बस्ने २६ वर्षीय सन्जय सहनीलाई आपसी विवाद् र लुटपीट गरी भट्टराईको हत्या गरेको आरोप लागेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मनोजकुमार केसीले सिसी टिभीको माध्यमबाट अनुसन्धानको क्रममा निजलाई विराटनगर–१५ बाट पक्राउ गरिएको जानकारी दिए ।

आरोपित सहनीले सुरक्षागार्डको हत्यापश्चात् रु दुई हजार ५०० नगद र मोबाइलसमेत लुटेर लगेका थिए । सुरक्षागार्ड भट्टराईको शव हार्डवेयरभित्रै हत्या गरेर छाडेको अवस्थामा भदौ ३ गते फेला परेको थियो ।

आँखा फुटाइएको र शरीरका विभिन्न भागमा भाला र रडले रोपेर हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । सहनी लामो समयदेखि विराटनगरमा ठेला चलाउँदै आएका श्रमिक हुन् ।

प्रतिक्रिया दिनुहोस्