हप्तामै दुई–दुई पटक सचिव सरुवा, मन्त्रीहरुमा ‘आफ्ना मान्छे’लाई सचिवमा ल्याउने होडबाजी


३१ भदौ । सरकार परिवर्तनसँगै नयाँ मन्त्रीहरुले आफूअनुकूलका सचिव ल्याउने र हटाउने कुरा अब सामान्य बनिसक्यो । कतिपय सचिवले त फरक राजनीतिक दलसँग निकटता देखाएकै कारण कोपभाजनको सिकार पनि बन्नु परेको छ । एक हप्ताका बीचमा दुई–दुई पटक सचिवहरुको सरुवा हुनुले पनि यस कुराको पुष्टि गर्छ ।

हप्ता नबित्दै सचिव सरुवा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणको तयारीमा जुटिरहेकै बेला गएको आइतबार बसेको मन्त्रिपरिषद्को बैठकमा मन्त्रीहरुको ध्यान र चासो प्रधानमन्त्रीको भारत भ्रमणप्रति थिएन । अधिकांश मन्त्रीहरुले आफ्नो मन्त्रालयमा आफूअनुकूलका सचिवलाई ल्याउने लबिङ गरिरहेका थिए । त्यस दिनको मन्त्रिपरिषद्को बैठकले १२ जना सचिवलाई सरुवा गरेको थियो ।

त्यसको तीन दिनपछि गएको बुधबार त प्रधानमन्त्रीको भारत भ्रमणको चटारो निकै नै थियो । तर, त्यस दिन बसेको मन्त्रिपरिषद्को बैठकमा पनि सचिव सरुवाकै कुरा उठ्यो । जसमा मुख्य तारो कृषि विकास मन्त्रालयका सचिव उत्तमकुमार भट्टराईलाई बनाइयो । सो मन्त्रालयबाट भट्टराईलाई सरुवा गरेर कृषि विकास मन्त्री गौरीशंकर चौधरीले केही समयअघि मात्रै सचिवमा बढुवा भएका उदयचन्द्र ठाकुरलाई ल्याउनुपर्ने भएको हुँदा भट्टराईलाई पशुपन्छी विकास मन्त्रालयमा सरुवा गरियो । पशुपन्छी विकास मन्त्रालयका सचिव डा. कृष्णचन्द्र पौडेललाई भने वन तथा भूसंरक्षण मन्त्रालयमा सरुवा गरिएको छ ।

अवकाशको मुखमै सरुवा

गत बुधबार सरुवा भएका तीनै जना सचिवको पदावधि तीन महिना पनि छैन । कृषि विकास मन्त्रालयको सचिवमा सरुवा भएका ठाकुरको जागिरको अवधि डेढ महिना मात्र बाँकी छ । त्यस्तै, कृषिबाट पशुपन्छी विकास मन्त्रालयमा सरुवा भएका भट्टराई मंसिरमा अवकाश लिँदैछन् । पशुपन्छीबाट वन तथा भूसंरक्षण मन्त्रालयमा सरुवा भएका डा. पौडेल पनि पुसमा अवकाश लिँदैछन् ।

आखिर, डेढ र दुई महिनाभित्रै अवकाश पाउने सचिवहरुलाई किन सरुवा गरिएको हो ? अहिले यो प्रश्न ती मन्त्रालयका कर्मचारीबीच उठ्ने गरेको छ । तर स्रोतका अनुसार, कृषि सचिव भट्टराईलाई सो मन्त्रालयबाट हटाउनैपर्ने टुंगोमा वर्तमान सरकार पुगेको हुँदा उनलाई कृषिबाट फुटाइएको पशुपन्छी विकास मन्त्रालयमा सरुवा गरिएको हो । एमालेसँग निकट रहेका भट्टराईलाई माओवादी केन्द्रका तत्कालीन कृषि विकास मन्त्री हरिबोल गजुरेलले हटाउन खोजे पनि एमालेको नेतृत्वमा सरकार रहेको हुँदा हटाउन सकेका थिएनन् । अहिले माओवादी केन्द्रले सरकारको नेतृत्व सम्हालेपछि उनलाई हटाइएको बताइन्छ ।

विज्ञताका हिसाबले सचिव भट्टराई कृषिमै रहनुपर्ने बताइन्छ । किनकि, भट्टराई खाद्य तथा कृषि विज्ञका रुपमा चिनिन्छन् । त्यस्तै, ठाकुर चाहिँ पशुपन्छी मन्त्रालयमा रहनुपर्ने बताइन्छ । किनकि, ठाकुर पशुविज्ञ हुन् । तर, सरुवा गर्दा ठीक उल्टो गरिएको छ । लप्सीमा विद्यावारिधि गरेका वनस्पति विज्ञ डा. पौडेललाई भने आफूले जानेबुझेकै मन्त्रालयमा सरुवा गरिएको छ । विगतमा वन मन्त्रालयमै रहेका बेला उनलाई पशुपन्छी मन्त्रालयमा सरुवा गरिएको थियो ।

१२ भाइलाई यता र उता

गएको आइतबार १२ जना सचिवहरु सरुवा हुनुमा मन्त्रीहरुकै चासो र दबाब रहेको बताइन्छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले सचिव प्रेमकुमार राईलाई जसरी भए पनि हटाउन चाहन्थे । त्यही कारण, राईलाई आपूर्तिमा सरुवा गरियो ।
आपूर्ति मन्त्री दीपक बोहरा पनि आपूर्ति सचिव श्रीधर सापकोटा हटाउन लागिपरेका थिए । मन्त्री बोहरा सफल भए र राई उनको मन्त्रालयमा आए । सापकोटा रक्षा मन्त्रालयमा सरुवा भए । त्यस्तै, संस्कृति मन्त्रालयमा भने सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीलाई लगिएको थियो । तत्कालीन सहकारी मन्त्री चित्रबहादुर केसीलाई उचालेर विवादास्पद सहकारी ऐनको मस्यौदा ल्याउन भूमिका खेलेका अधिकारीलाई मन्त्री हृदयराम थानीको कारण सो मन्त्रालयबाट हटाइएको बताइन्छ ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रमेश लेखकले नरुचाएकै कारण अर्जुनकुमार कार्कीलाई नेपाल ट्रस्टको कार्यालयमा थन्क्याइएको बताइन्छ । फास्टट्रयाकको जिम्मा आफूलाई दिए ४ वर्षमा नै निर्माण सम्पन्न गर्ने बताएर सचिव कार्की केही समययता विवादमा तानिएका थिए ।

प्रतिक्रिया दिनुहोस्