हरेक वर्ष २० हजार युवा दुर्व्यसनमा


काठमाडौँ, ११ असार । नेपालमा हरेक वर्ष करिब २० हजार युवा–युवती कडा किसिमको लागुऔषधको दुर्व्यसनमा फस्ने गरेका छन् । गृह मन्त्रालयले ०६९ मा गरेको सर्वेक्षणमा नेपालमा ९१ हजार पाँच सय ३४ जना दुर्व्यसनी रहेको पाइएको थियो । पछिल्लो समय ११.३६ प्रतिशतका दरले दुर्व्यसनीको संख्या बढेर डेढ लाख नाघिसकेको छ । लागुऔषध नियन्त्रणको क्षेत्रमा काम गरेका संस्थाका अधिकारीका अनुसार यो संख्या करिब दुई लाख पुगिसकेको छ ।

गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद शर्मा दुवाडी पछिल्लो वर्ष ११.३६ प्रतिशतका दरले दुर्व्यसनीको संख्या बढेको बताउँछन् । ०६३ मा नेपालमा दुर्व्यसनीको संख्या ४६ हजार तीन सय नौ रहेकोमा ६ वर्षमा नै झन्डै दोब्बर भएको थियो ।

यी हुन् धेरै दुर्व्यसनी भएका जिल्ला
६ वर्षअघिको तथ्यांकअनुसार सबैभन्दा धेरै दुर्व्यसनी उपत्यकामा छन् । ९१ हजारमध्ये ३६ हजार नौ सय ९८ जना उपत्यकामा थिए । उपत्यकापछि सुनसरी, कास्की, मोरङ, झापा, रुपन्देही, बाँके, पर्सा र मकवानपुरमा धेरै दुर्व्यसनी भेटिएका थिए । अहिले पनि तीनै जिल्लामा धेरै दुव्र्यसनी रहेको प्रहरीले जनाएको छ । गृहले यो वर्ष फेरि दुर्व्यसनीको संख्या र कारणबारे सर्वेक्षण प्रक्रिया सुरु गरेको छ । ९१ हजारमध्ये ७० हजार दुर्व्यसनी ३० वर्षभन्दा कम उमेरका थिए । सर्वेक्षणअनुसार १५ देखि १९ वर्षको उमेरमा दुर्व्यसनमा फस्ने जोखिम धेरै हुन्छ । यो दुर्व्यसनीमध्ये ४८।९ प्रतिशत यही उमेरमा कुलतमा फसेका थिए । ३२।५ प्रतिशत १५ वर्षभन्दा कम उमेरै दुर्व्यसनमा लागेका थिए ।

खोइ सरकारको गुरुयोजना ?
लागुऔषधले एकातर्फ देशका युवा जनशक्तिलाई बर्बाद बनाएको छ भने, अर्कोतर्फ यसको सामाजिक र आर्थिक असरसमेत ठूलो छ । तर, यो समस्या समाधानका लागि सरकारले गुरुयोजना बनाउन सकेको छैन । ‘दुव्र्यसनीको संख्या बढ्दै गर्दा घरको पीडा राष्ट्रिय पीडा हुँदै गइरहेको छ,’ गृह मन्त्रालयका सहसचिव दुवाडी भन्छन्, ‘यसले अन्य अपराधसमेत समाजमा बढाइरहेको छ । त्यसकारण, लागुऔषधविरुद्ध सबै एक हुनु आवश्यक छ ।’ लागुऔषध घरमै चोरीदेखि हत्यासम्मका अपराध भएका छन् । दुव्र्यसनीहरू समाजकै लागि ठूलो चुनौती बनेका छन् ।

लामो समय लागुऔषध नियन्त्रणको क्षेत्रमा काम गरेका नार्कोनन नेपालका अध्यक्ष कुँवर लागुऔषध नेपालको भयाभह समस्या भइसकेको, तर सरकारले यसलाई बुझ्न नसकेको बताउँछन् । लागुऔषध दुरुपयोग तथा नियन्त्रणविरुद्धको अन्तर्राष्ट्रिय दिवसमा देशव्यापी रूपमा विभिन्न कार्यक्रम गरिन्छ । अरू वेलामा खासै कार्यक्रम हुने गरेको छैन । बुधबार पनि सरकारले विभिन्न कार्यक्रम गरेर यो दिवस मनाउँदै छ । सहसचिव दुवाडी सरकारले लागुऔषध दुव्र्यसन नियन्त्रणलाई प्राथमिकतामै राखेर विभिन्न काम गरिरहेको बताउँछन् । ‘हामीले यो वर्ष साताव्यापी रूपमै कार्यक्रम गरेका छौँ,’ उनले भने, ‘बजेट निर्माण गर्दासमेत यो विषय नछुटाउन स्थानीय तहलाई मार्गनिर्देशन गरेका छौँ ।’

प्रहरी प्रवक्ता विश्वराज पोखरेल लागुऔषधको दुर्व्यसन रोक्न प्रहरीले स्कुल–स्कुलमा गएर पढाउन थालेको बताउँछन् । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरीले स्कुल तथा कलेजका विद्यार्थीलाई लागुऔषधबारे कोर्स नै बनाएर पढाउन थालेको हो ।

उपत्यकामा दैनिक ६ करोडको कारोबार
उपत्यकामा हाल करिब ६० हजार लागुऔषध दुर्व्यसनी रहेको सुरक्षा निकायको आकलन छ । देशभरिका दुर्व्यसनीमध्ये करिब ४० प्रतिशत उपत्यकामा रहेको गृहको सर्वेक्षणले देखाएको छ । उपत्यकामा दैनिक करिब ६ करोड रुपैयाँबराबरको अवैध लागुऔषध खरिद–बिक्री हुने गरेको छ । एक दुर्व्यसनीले एक दिनमा लागुऔषधका लागि करिब एक हजार रुपैयाँ खर्च गर्दछन् । धेरैले प्रयोग गर्ने डाइजेल्याब, नुफिन र फेनरागन हुन्, जुन एक सेटको करिब एक हजार रुपैयाँ पर्दछ ।

लागुऔषध कारोबारमा संलग्नहरू उपत्यकामा दैनिक तीनजनाजसो पक्राउ पर्दछन् । राजधानीका सबैजसो प्रहरी कार्यालयमा लागुऔषध मुद्दाका अभियुक्त सधैँभरि हुने गरेका छन् । महानगरीय प्रहरी कार्यालयका अनुसार उपत्यकामा दैनिक औसतमा तीन कारोबारी पक्राउ पर्दछन् । गत साउनदेखि वैशाखसम्मको १० महिनाको अवधिमा उपत्यकामा सातजना ७७ जना लागुऔषध कारोबारको आरोपमा पक्राउ परेका छन्, जुन संख्या अघिल्लो एक वर्षको अवधिमा पक्राउ परेकाभन्दा धेरे हो । अघिल्लो वर्ष सात सय ६९ जना पक्राउ परेका थिए ।

पछिल्लो १० महिनामा काठमाडौंमा मात्र चार सय ८७ वटा लागुऔषधसम्बन्धी मुद्दा दायर भएको छ । त्यस्तै, ललितपुरमा ६३ र भक्तपुरमा २६ वटा मुद्दा दायर भएका थिए । उपत्यकामा धेरैजसोले सिरिन्जमार्फत लागुऔषध लिन्छन् । १० महिनाको अवधिमा उपत्यकामा ३४ हजार तीन सय ७८ वटा लागुऔषधका ट्याबलेट, ३९ हजार ६ सय १७ एम्पुल तथा ३७ सिसी कोरक्स बरामद गरेको छ । उपत्यकामा थोरै संख्यामा ब्राउनसुगर प्रयोग गर्ने दुर्व्यसनीसमेत छन् ।

छोरीछोरीको व्यवहार फेरिएको त छैन ?
आफ्ना छोरा–छोरीको व्यवहार फेरिएको छ भने प्रहरीको सुझाब छ– उनीहरूको पिसाब परीक्षण गराउनुस् । पिसाब परीक्षणबाट उनीहरूले लागुऔषध प्रयोग गरे नगरेको थाहा हुन्छ । लागुऔषध सेवन सुरु गरेपछि उनीहरूको व्यवहारमा धेरै परिवर्तन आउने नार्कोनन नेपालका अध्यक्ष वसन्त कुँवर बताउँछन् । ‘दुब्लाउँदै जाने, एकान्तमा बस्ने, धेरै झगडा गर्ने तथा राति अबेरसम्म नसुत्ने र बिहान ढिलासम्म सुत्ने व्यवहार देखियो भने अभिभावकले शंका गर्नुपर्ने हुन्छ,’ पूर्वएसएसपीसमेत रहेका कुँवर भन्छन्, ‘त्यो अवस्थामा पिसाब जाँच गराउनुपर्छ, एक मिनेटमै रिपोर्ट आउँछ ।’ दुर्व्यसनमा लागेको समयमै थाहा भए उपचार सहज हुने उनको भनाइ छ ।

धेरैजसो युवा ८–१० कक्षामा पढ्दा दुर्व्यसनमा फस्ने गर्दछन् । साथीहरूले नै उनीहरूलाई सुरुमा सित्तैमा खुवाएर लतमा लगाउँछन् । त्यसपछि एकले अर्कालाई गर्दै कुलतमा फसाउने गरिन्छ । कतिपय युवारयुवती गाँजाबाट यस्तो दुर्व्यसनमा फस्ने गरेका छन् ।

सहरबाट गाउँतर्फ
लागुऔषध दुर्व्यसनी सहरी क्षेत्रमा धेरै छन् । तर, विस्तारै ग्रामीण क्षेत्रमा समेत देखिन थालेका छन् । ‘ग्रामीण क्षेत्रका मान्छेसँग समेत पैसा हुन थालेपछि कारोबारीहरू अहिले ग्रामीण क्षेत्रमा समेत पुग्न थालेका छन्,’ कुँवर भन्छन्, ‘हुम्ला, जुम्लाजस्ता जिल्लामा समेत दुर्व्यसनी देखिन थालेका छन् ।’ दुर्व्यसनी सुरुमै पहिचान गर्न निश्चित अवधिमा पिसाब परीक्षण गर्नुपर्ने नियम लागू गर्नुपर्ने कुँवरको भनाइ छ । कलेजमा भर्ना गर्दा, बिहे गर्दा तथा जागिर खाने क्रममा पिसाब परीक्षण गरेर लागुऔषध दुर्व्यसनी भए नभएको हेर्नुपर्ने उनको भनाइ छ । पछिल्लो समय एमबिबिएस तथा इन्जिनियरिङका विद्यार्थीसमेत ठूलो संख्यामा कुलतमा फसेका छन् ।

तीन हजार मात्र पुनर्स्थापन केन्द्रमा
झन्डै दुई लाखको संख्यामा दुर्व्यसनी पुगे पनि पुनर्स्थापना केन्द्र पुगेर उपचार गर्नेको संख्या थोरै छ । एक वर्षमा करिब तीन हजार मात्र पुनर्स्थापन केन्द्र पुग्दछन् । गृह मन्त्रालयका अनुसार हाल देशभरि एक सय ६४ वटा पुनर्स्थापन केन्द्र छन् । जसको क्षमता करिब तीन हजार छ । पुनर्स्थापना केन्द्रमा राखेर उपचार गर्न महँगो भएकाले पनि कतिपय आर्थिक हैसियतका कारण उपचारमा जान सक्दैनन् । पुनर्स्थापना केन्द्रमा राखेर उपचार गर्न कम्तीमा महिनाको १० हजार रुपैयाँ लाग्दछ ।

स्कुल–कलेजमै पुग्छन् कारोबारी
लागुऔषध कारोबारीहरूले स्कुल–कलेजलाई लक्षित गरेर लागुऔषधको कारोबार गर्दछन् । सुरुमा एक युवकलाई निःशुल्क लागुऔषध खान दिएर फसाउने र पछि कलेजका अन्य साथीलाई उनीमार्फत दुर्व्यसनमा लगाउने गर्दछन् । ‘९० प्रतिशतभन्दा धेरै साथी संगतकै कारण दुर्व्यसनमा फसेका छन्,’ नार्कोनन नेपालका अध्यक्ष वसन्त कुँवरले भने ।

०६९ को सर्वेक्षणअनुसार दुव्र्यसनमा लागेपछि धेरैले पढाइसमेत छाड्ने गर्दछन् । त्यसवेला धेरैले साथीको दबाब र उत्सुकताका कारण लागुऔषध लिएको बताएका थिए । अन्य कारणमा पारिवारिक तथा पढाइको तनावले समेत कुलतमा जाने गरेका छन् । परिवारमा आमा–बुबाको झगडालगायत कारणले तनावमा परेर लागुऔषधमा फसेकाहरूको संख्या पनि ठूलो छ । खासगरी, आमा–बुबाको अभिभावकत्व नपाएकाहरू दुर्व्यसनमा फस्ने गरेका छन् ।

#आजको नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्