हातखुट्टा बाँधेर लुटपाट गर्ने तीन जना पक्राउ


काठमाडौ, ९ वैशाख । काठमाडौ उपत्याकमा दिउसै लुटपाट गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–२९ रानीबारीबाट प्रहरीले लुट्न प्रयोग भएको ट्याक्सी र कारसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी अपराध महाशाखाको प्रहरी टोलीले लुटेरा समूहलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाडौं चन्द्रागिरी नगरपालिका ८ मातातीर्थका ३८ वर्षीय नवराज तामाङ, चन्द्रागिरी ८ मातातीर्थकै ३६ वर्षीय विक्रम श्रेष्ठ र नुवाकोटको बेलकोटगढी नगरपालिका४ कथुरानी घर भई नैकाप बस्दै आएका २८ वर्षीय दिपेश भनिने सन्तबहादुर तामाङ रहेका छन् । बा २ ज ३०६१ नम्बरको ट्याक्सी र बा ३ च ७१६४ कलेजी रङको कार प्रयोग गर्दे लुटपाट गरेका थिए ।

‘हामीले उनीहरुको साथबाट लुटपाटमा प्रयोग एउटा ट्याक्सी पनि बरामद गरेका छौ’, महाशाखा प्रमुख प्रहरी उपरीक्षक (एसएसपी) धिरजप्रताप सिंहले भने । उनका अनुसार सो समूहले गत चैत २६ गते दिउँसो रानीबारीस्थित लालेन्द्र शेरचनको घरमा लुटपाट गरेका थिए । सो घरमा सुनका गरगहना भएको थाहा पाएपछि योजना नै बनाएर लुटपाट गरेको एसएसपी सिंहले बताए । ‘घरधनी लालेन्द्र शेरचन, उनकी श्रीमती भानुदेवी शेरचन र घरमा काम गर्ने मिठु थकालीलाई नियन्त्रणमा लिएर उनीहरुले लुटपाट गरेका रहेछन्’, एसएसपी सिंहले भने । उनका अनुसार लुटपाट गर्न ६ जनाको समूहमा गएका थिए । ‘घरका तीनै जनालाई हातखुट्टा बाँधेर लुटेका रहेछन् समूहमै गएर हतियार देउ्खाउदै नियन्त्रणमा लिएर लुटपाट गरेको रहेछन्’, एसएसपी सिंहले भने । सो समूहले हातखुट्टा बाँधेपछि शेरचन परिवारको मुखमा टेप लगाएका थिए । दराजमा भएको गरगहना र नगद गरी उनीहरुले ५ लाख ६० हजार रुपैयाँ बराबरको सामान लुटेका हुन । प्रहरीले लुटेराको साथबाट सुनको तिलहरी बरामद गरेको छ भने अन्य गरगहनाहरु भने फेला पारेको छैन । सो लुटपाटमा संलग्न ३ जना भने अझै फरार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्