हातमा कैंची लिएर प्रदेश काट्दै हिँड्ने अधिकार सरकारलाई छैनः एमाले महासचिव पोखरेल


२४ पुस । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले विगतमा संविधान जारी गर्ने बेला एमाले दृढतापूर्वक उभिएजस्तै संविधान कार्यान्वयनका लागि पनि त्यसरी नै दृढतापूर्वक उभिने बताएका छन् । महासचिव पोखरेलको कथन थियो, ‘संविधान निर्माण र जारी गर्ने बेला एमालेले जस्तो अडान लिएको थियो, कार्यान्वयनका लागि पनि त्यस्तै अडान लिन्छ ।’

‘हिजो संविधान जारी भएयता त्यसलाई कार्यान्वयन हुन नदिने अनेक प्रयत्नहरु भइरहेका छन्’ एमाले सिन्धुली–काठमाडौं सम्पर्क मञ्चको प्रशिक्षण तथा सम्मान कार्यक्रममा बोल्दै महासचिव पोखरेलले भने, ‘अहिले संविधान कार्यान्वयन गरेर देशलाई समृद्धिको दिशातिर अघि बढाउनुपर्ने बेला संशोधन प्रस्तावको कुरा ल्याएर अल्मल्याउन खोजिएको छ । तर, हामी संशोधन प्रस्तावलाई विफल तुल्याएर कार्यान्वयन गर्ने दिशामा अघि बढ्छौं ।’

सरकारले हातमा कैंची लिएर प्रदेश काट्दै हिँडेको बताउँदै पोखरेलले भने, ‘संविधान संशोधन अभ्यास, अनुभव र औचित्यका आधारमा गरिनुपथ्र्यो । तर, अहिले संशोधनको जुन प्रस्ताव ल्याइएको छ, यो यी तीनै कारणले ल्याइएको होइन र संशोधनको कुनै अर्थ देखिँदैन ।’

राष्ट्रिय राजनीतिमा एमालेले लिएको अडानकै कारण आज एमाले जनताको बीच स्थापित भएको उल्लेख गर्दै पोखरेलले भने, ‘हामी जहाँ उभिन्छौं, राष्ट्रिय राजनीति त्यही वरिपरि घुम्छ । हाम्रो स्पष्ट अडान, स्पष्ट धारणा र त्यसलाई कार्यान्वयन गर्ने दिशामा हामीले देखाएको अग्रसरताको कारण नै एमाले राष्ट्रिय राजनीतिको मियो बन्न पुगेको छ ।’

विगतमा एमाले–माओवादीको गठबन्धन भत्काउन दुईथरि काम भएको उल्लेख गर्दै महासचिव पोखरेलले भने, ‘एकातिर आस देखाइयो र अर्कोतिर त्रास देखाइयो । गठबन्धन टुटाए सत्ताको नेतृत्व गर्न दिने आस देखाइयो भने गठबन्धन नटुटाएर द्वन्द्वकालीन मुद्दाहरुलाई ब्युँताएर अन्तर्राष्ट्रिय अदालतमा उभ्याइने त्रास देखाइयो । त्यही कारण नयाँ गठबन्धन बन्यो र केपी ओली नेतृत्वको सरकार ढल्न पुग्यो ।’

सो कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनको अध्यक्षमा निर्वाचित केदारप्रसाद देवकोटालगायतलाई महासचिव पोखरेलले सम्मान गरेका थिए । कार्यक्रममा एमाले वैकल्पिक केन्द्रीय सदस्य तथा सांसद गणेश पहाडी, अर्का सांसद् रञ्जना माझी, एमाले सिन्धुलीका अध्यक्ष प्रदीप कटुवाल, मञ्चका अध्यक्ष अमर थापामगर लगायतले आफ्नो मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्