हामी आन्दोलनमै जान्छौः राजपा नेता कर्ण


११ जेठ । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा भाग लिने वा आन्दोलनमा जाने भन्ने विषयमा मधेस केन्द्रित राष्ट्रिय जनता पार्टीभित्र तीव्र मतभेद देखा परेको छ । अधिकांश नेताहरु भने स्थानीय तहको संख्या बढाएरकै आधारमा आफूहरुले उठाएको माग र मुद्दाको सम्बोधन नभएको हुँदा आन्दोलनमा जाने पक्षमा उभिएका छन् ।

राजपाका नेता लक्ष्मणलाल कर्णले आफूहरु आन्दोलनमै जाने तयारीमा रहेको बताए । उनले भने, ‘चुनावमा भाग लिने वातावरण सरकारले बनाएन । चुनावमा भाग नलिनेमा हामी स्पष्ट छौं र अब आन्दोलनमा जानुको विकल्प रहेन ।’

नेता कर्णले भने, ‘सरकारले स्थानीय तहको संख्या त बढायो । तर, संख्या बढाएर मात्र हामीले उठाउँदै आएको मागको सम्बोधन हुँदैन । संविधान संशोधन नगरी हामी चुनावमा भाग लिँदैनौं ।’ उनले सरकारले स्थानीय तहको संख्या बढाउन प्रस्ताव गरे पनि निर्वाचन आयोगलाई अहिलेसम्म जानकारी नगराएर झनै अन्योल बढाएको बताए, ‘अहिलेसम्म आयोगलाई जानकारी नै दिएको छैन । कसरी स्थानीय तहको संख्या बढायो भनेर मान्नु ?’

राजपाका केही नेताहरु भने चुनावमा भाग लिनुपर्ने पक्षमा उभिएका छन् । राजपाका महासचिव केशव झालगायत भने चुनावमा भाग लिनुपर्ने पक्षमा छन् । उनले प्रमुख राजनीतिक दलहरुका साथै मधेस केन्द्रित राजनीति गरिरहेको संघीय समाजवादी फोरम र विजयकुमार गच्छदारको दलसमेत निर्वाचनमा सामेल भएको हुँदा दोस्रो चरणको निर्वाचन बिथोल्न गाह्रो पर्ने बताएका छन् । झासँगै महेन्द्र राय यादव, शरदसिंह भण्डारी, सर्वेन्द्रनाथ शुक्ल, मनिष सुमनलगायत नेताहरु चुनावका पक्षमा छन् ।

तर, राजेन्द्र महतो र राजकिशोर यादवहरु भने चुनावमा भाग लिन नहुने पक्षमा छन् । चुनावमा भाग लिए आफूहरुले उठाएका माग सम्बोधन हुन नसक्ने भएको हुँदा आन्दोलनमै जानुपर्ने पक्षमा उभिएका छन् । सरकारले दोस्रो चरणको निर्वाचनमा मधेसी दलहरुलाई सामेल गर्न उपप्रधान तथा संघीय मामिला एवं स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारको संयोजकत्वमा तराई मधेसका जिल्लाहरुमा स्थानीय तहको संख्या वृद्धि गर्न कार्यदल बनाएको थियो । सोही कार्यदलले सिफारिस गरेको आधारमा सरकारले केही दिनअघि २२ स्थानीय तह थप गरेको छ ।

तर, मधेसी दलहरुको मागकै आधारमा सरकारले स्थानीय तहको संख्या वृद्धि गरे पनि राजपा भने चुनावमा भाग लिने वा नलिने भन्नेमा अन्योलग्रस्त देखिएको छ । उपेन्द्र यादव र गच्छदारको दलले भने पहिलो चरणको निर्वाचनमा भाग लिएको हुँदा राजपालाई दोस्रो चरणको निर्वाचनमा भाग लिन दबाब भने सिर्जना भएको छ ।

प्रतिक्रिया दिनुहोस्