‘हामी आफ्नो देशको रक्षा गर्न सक्षम छौँ’


 अमेरिकामा डोनाल्ड ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेपछि विश्वभर अनेक आशंका छाएका छन् । कडा स्वभाव, अनुमान गर्न नसकिने अभिव्यक्ति र त्यही अनुसारको व्यवहारका लागि खतराका रुपमा हेरिएका ट्रम्प अमेरिकी सत्तामा आएपछि त्यसको प्रभाव कहाँ–कहाँ पर्ला ? अमेरिकाले शत्रुको सूचीमा राख्दै आएको प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (उत्तर कोरिया) का नेपालस्थित राजदूत किम योङ हाक भन्छन्, ‘हामीलाई विगतमा ओबामा र जोन केरी (विदेशमन्त्री) ले पनि दुःख दिन खोजेकै हुन् । हामी कसैसँग डराउँदैनौँ ।’

राजदूत हाकले आइतबार विहान केही पत्रकारलाई ललितपुरको बखुण्डोलस्थित कार्यालयमा पछिल्लो परिस्थितिका बारेमा छलफल गर्न बोलाएका थिए । उनले आफ्ना नेता किम जङ युनले नयाँ वर्ष २०१७ का अवसरमा जारी गरेको वक्तव्य उद्यृत गर्दै भने, ‘हामी (कोरियाली) विश्वका सबभन्दा खुसी मानिस हौँ । अझ खुसी बनाउनका लागि राज्यले जे गर्छ, त्यसमा कुनै कसर राख्दैन ।’

अरुले परीक्षण गर्दा चुप, हाम्रो प्रचार

उक्त अवसरमा राजदूत हाकले आफ्नो मुलुकमाथि लगाइएको नाकाबन्दी र आणविक परीक्षणका बारेमा लामो समय खर्चिए । उनको भनाइ थियो, ‘अरुले त्यस्तै परीक्षण गर्दा केही चर्चा हुँदैन, खाली हाम्रो कुरालाई मात्र बढी प्रचार गरिन्छ ।’ त्यसका लागि अमेरिका, जापान र दक्षिण कोरियाले भूमिका निर्वाह गरेको पनि उनले आरोप लगाए । उनले भने, ‘उनीहरुले बढी मिडियाबाजी गरेका छन् ।’ नेपालकै छिमेकमा भएको परीक्षणका बारेमा कतै चर्चा नभएको पनि राजदूत हाकले स्मरण गराए ।

बदला लिन सक्षम छौँ

राजदूत हाकले आफ्नो मुलुक अर्को कुनै मुलुकमाथि जाई नलाग्ने तर आफ्नो मुलुकमाथि कुनै पनि प्रकारको हस्तक्षेप भएमा त्यसको बदला लिन तयार रहेको बताए । उनले भने, ‘यो कुरा बुझिराखे हुन्छ, हामी त्यसको बदला लिन तयार छौँ, आफ्नो देशको रक्षा गर्न पूर्ण सक्षम छौँ ।’

शान्तिपूर्ण एकीकरण सम्भव

सन् १९५३ मा छुटिएका दुई कोरियाबीच एकीकरणका लागि आफ्नो मुलुक तयार रहेको राजदूत हाकले दोहो-याए । उनले भने, ‘त्यसका लागि जहाँ र जतिबेला पनि वार्ता गर्न हामी तयार छौँ । कोरियाली प्रायद्वीपको शान्तिपूर्ण एकीकरणका लागि हाम्रो प्रयास जारी छ ।’

प्रतिक्रिया दिनुहोस्