हामी आयौं


प्रविधिले सबै पेसामा हस्तक्षेप गरिरहेको छ । कुनै बेला कल्पना पनि गर्न नसकिने ‘भर्चुअल’ दुनियाँ आजको पत्रकारिताको मुख्य क्षेत्र बन्दैछ । बैकल्पिक धारका रुपमा उदाइरहेको अनलाइन पत्रकारिताको लोकप्रियता हेर्दा लाग्छ, मूलधार बन्न धेरै समय लाग्ने छैन । र, हामी पनि यही पंक्तिमा उभिन आइपुगेका छौँ ।

पत्रकारिता हाम्रा लागि नयाँ होइन । छापा माध्यमको अनुभवालाई विद्युतीयमा ढाल्न केही समय लाग्ला । यस क्रममा आदरणीय पाठकहरुबाट प्राप्त हुने सुझाव, आलोचना र माया हाम्रा लागि मार्गदर्शन हुनेछ ।

तुलनात्मक रुपमा अहिले सहज अवस्था छ । नयाँ संविधान बनेको छ । अधिकारको लडाइँले एक चरणको सफलता पाएको छ । कतिपय राजनीति मतभेद छन् तर ती कुनै सम्वादबाट हल नहुने खालका छैनन् । र, मुलुकले समृद्धिको अपेक्षा गरेको छ । यस अभियानमा सानो इँटा भए पनि थप्नु नै हाम्रो प्रमुख ध्येय हुनेछ ।

समाचार, विचार र विश्लेषण हाम्रो पत्रकारिताको त्रिवेणी हुनेछ । समाचार जस्ताको तस्तै पस्किन कुनै कसर बाँकी रहने छैन, विचार र विश्लेषणमा चाहिँ सबैको चित्त बुझ्नैपर्छ भन्ने छैन । बहुलवादी खुल्ला समाजमा हुर्किएको पुस्ता भएका कारण स्वतन्त्रता स्वतः सबभन्दा प्रिय हुने नै छ तर जे गरिनेछ, पूरै उत्तरदायित्वका साथ गरिनेछ ।
बाँकी आगामी दिनमा देखिने नै छ ।

प्रतिक्रिया दिनुहोस्