हामी भारतका कारिन्दा होइनौँ, मित्र हौँ


केपी ओली
प्राकृतिक हिसाबले नेपाल र भारत छिमेकी छौँ । राजनीतिक भूगोलका हिसाबले हामी ठूलो–सानो छौँ । हामी पूर्व, पश्चिम र दक्षिण तीनतिरबाट भारतद्वारा घेरिएका छौँ । अर्थात्, हाम्रो अधिकांश सिमाना भारतसँग जोडिएको छ । उत्तरतिर अग्ला हिमालय छन् भने दक्षिणतिर समथर मैदान छ । नेपाल–भारत सम्बन्ध प्राकृतिक, परम्परागत र राजनीतिक हिसाबमा मात्र सीमित छैन, त्यसभन्दा बढी यसका सामाजिक, साँस्कृतिक र आर्थिक पक्षहरू छन् । नेपाल–भारत सम्बन्ध आफैँमा मात्र होइन, अन्तर्राष्ट्रिय मञ्च र अन्तर्राष्ट्रिय प्रश्नहरूमा समेत सम्बन्धित भएर जान्छ । उत्तरतिर छिमेकी चीन छ । त्यो सत्य नेपाल–भारत सम्बन्धका प्रश्नहरूमा पनि प्रकट भइरहन्छ । भूगोल र जनसङ्ख्यामा नेपाल सानो र भारत ठूलो छ । यो कुरा बेला–बेलामा प्रकट भइरहन्छ । दक्षिणी भू–भाग हिजो राज्यको उत्पत्ति हुनुभन्दा अगाडिदेखि अथवा राजनीतिक सिमानाहरू बन्नुभन्दा अगाडिदेखि समाज विकासका क्रममा रजौटा वा रजौटाभन्दा माथिसम्म उक्लिएका सामन्ती राज्यहरू हुँदा पनि थियो । त्यस क्रममा जुन सम्बन्धहरू विकास भए, ती सामाजिक–साँस्कृतिक सम्बन्धहरू राजनीतिक सम्बन्धभन्दा पुराना छन् । नेपाल–भारत सम्बन्धमा त्यो पक्ष पनि प्रकट भइरहन्छ ।

नेपाल–भारत सम्बन्धको कुरा गर्दा प्राकृतिक हिसाबले पनि अन्योन्याश्रित छन् । हिमाल पग्लिन्छ, उतै बग्छ । खोलाहरू बग्छन्, त्यतै जान्छन् । मनसुनको बेग बंगालको खाडीबाट आएर हाम्रो हिमालमा ठोकिन्छ । हिमालय पारिपट्टि बृष्टि–छायाँ पर्छ, बृष्टि कम हुन्छ । ठूला पहाड वा हिमालभन्दा पल्लोपट्टि बादल छेकिन्छ र हामी बृष्टि क्षेत्रमा पर्छौं । बृष्टि हिउँका रुपमा रसाएर वा पानीका रुपमा बगेर उतै जान्छ । नेपालको सबै पानी गंगा हुँदै बंगालको खाडीमा पुग्छ र हिन्द महासागरमा मिसिन्छ । त्यतैबाट बादल उड्छ र मनसुनका रुपमा आउँछ । अरबको खाडीतिरबाट आउने थोरैतिनो बादल पनि हाम्रो हिमालयमा ठोकिन्छ र फर्किन्छ । त्यो पानी पनि बंगालतिरै जान्छ ।

मैले यहाँ प्रकृतिको यथार्थ भन्नुको अर्थ त्यस यथार्थमा आधारित भएर नै समयक्रममा सभ्यता, आप्रवासन, समाज र राज्यहरू निर्माण भएका हुन् । साधारणतया नेपाली समाजको बनोटअनुसार उत्तर हिमाली भेगतिर भोट–बर्मेली–मङ्गोल भनिएकोे समुदाय पाइन्छ भने दक्षिणी भेगमा केही द्रबिडियन र अरू अनि बढी मात्रामा चाहिँ भारोेपेली समूहहरूको आप्रवासनबाट हजारौँ वर्ष अगाडि बनेको समाज छ । त्यही समाज थिग्रिँदै जाँदा देश बनेको हो । भारतमा भाषिक, भू–भाग, अर्थतन्त्र, संस्कृतिजस्ता अनेक हिसाबले थुप्रै देशहरू थिए । समयक्रममा ती विलय भए । अंग्रेजका समयमा मोटामोटी एकीकरण भए पनि पछि पाकिस्तानका रुपमा टुक्रियो भने पाकिस्तानबाट पनि पूर्वी पाकिस्तान टुक्रिएर बंगलादेश बन्यो । यस ऐतिहासिक सन्दर्भमा हामी हजारौँ हजार वर्षदेखि छिमेकीका रुपमा छौँ ।

भूगोल र संस्कृति निर्माण
हाम्रा अरू छिमेकी भए पनि भारत चाहिँ लगत्तैको छिमेकी हो । समुन्द्रसम्म हाम्रो सिमाना नपुगेकाले हामी भू–परिवेष्ठित भनिए पनि यथार्थमा भारत–वेष्ठित छौँ । यही कारण पछिल्लो समयमा भारतसँगको हाम्रो सम्बन्ध अपरिहार्य र अनिवार्य रहँदै आएको छ । प्राकृतिकदेखि सबै हिसाबमा नेपाल र भारत अत्यन्त निकट छन् । सीमावर्ती क्षेत्रमा कहाँसम्म भारत, कहाँसम्म नेपाल ? माछाहरूले थाहा पाएका हुँदैनन् । बिना राहदानी (पासपोर्ट) र बिना प्रवेशाज्ञा (भिसा) नै तिनीहरू आवागमन गरिराख्छन् । त्यहाँ कुनै जाँच चौकी छैन । हाम्रा चराहरू उता र उताका चराहरू यता गरिराख्छन् । हाम्रा जीवजन्तुहरू पनि यताउता गरिराख्छन् । मान्छेले त १० गजा हत्तपत्त बुझ्दैनन् भने तिनीहरूले बुझ्ने कुरै भएन ।

भाषाको विकास हे¥यौँ भने पनि धेरै समानता पाउँछौँ । एउटै प्रकृति र एउटै संस्कृतिबाट भाषाहरू विकास भएका छन् । भाषाको अत्यधिक विविधता हाम्रो दक्षिण फर्किएको अर्को पाटो छ । हिजो खोलानाला तर्न सकिँदैनथ्यो । त्यस्तो बेलामा खोला पारि–पारि गर्नु भनेको अत्यन्त जोखिमपूर्ण थियो । कोही गइहाल्यो भने फर्किने सम्भावना कम थियो । धेरै दिनको बाटो हिँडेर खोला पार गर्नुपथ्र्यो । पहाडमा त साधारणतया डुङ्गा पनि चल्दैन, खोला तर्न सकिँदैन । त्यसकारण खोलापारिका मान्छे पारि नै भए, त्यहीँ बस्दै गए । अनि वारिका मान्छे वारि नै बसे । उनीहरू हजारौँ वर्ष यसैगरी बसे । त्यही कारण वारि र पारि फरक–फरक भाषा बोल्नु वा एउटै भाषा पनि फरक–फरक हुँदै जानु मामुली कुरा थियो । त्यसरी भाषाभाषीका हिसाबले केही विविधता हुनु, त्यो बढ्दै जानु, नयाँ–नयाँ भाषाका रुपमा उत्पत्ति हुँदै जानु र पुरानो एकै रुपमा परिवर्तित नहुनु स्वाभाविक थियो ।

हाम्रो भौगोलिक विविधता असाधारण छ । हिमाल नजिकै, छ, त्यहाँबाट नजिकै पहाड छ, अनि नजिकै तराई छ । हाम्रो तराई त समुन्द्र सतहबाट लगभग पाँच सय फिट छ । समुन्द्रका बीचका टापुहरू नै त्यति उचाइँका हुन्छन् । हामीसँग संसारको सबैभन्दा अग्लो शिखर सगरमाथा छ, आठ हजार मिटरभन्दा माथिका आठवटा शिखर छन् । यी सबै कारणले स्वाभाविक रुपमा पहिरन, व्यवसाय र जीवनमा भिन्नता हुने भयो । किनभने, हावापानीले गर्दा धेरै कुरामा फरक पर्छ । एउटा जाडो ठाउँमा बस्छ, अर्को गर्मी ठाउँमा । यसले कृषि र अरू तमाम कुराहरूमा फरक पार्छ । यसरी हाम्रो सम्बन्धको पुरानो, परम्परागत, ऐतिहासिक र प्राकृतिकदेखि यी यथार्थसँग जोडिएका पक्षहरू छन् । यसैका कारण एउटा असामान्य कुरा– दुई देशका बीचमा खुला सिमाना छ ।

राज्य निर्माण, स्वतन्त्रता र राष्ट्रियताको प्रश्न
समय बदलिँदै जान्छ । कुनै बेला मानिसहरूका बीचमा एउटा यस्तो सामाजिक प्रबन्ध थियो, जहाँ मानिस दास हुन्थ्यो अनि मानिस नै मालिक हुन्थ्यो । यो क्रम लामो समयसम्म चल्यो र सामाजिक प्रबन्धमा त्यसलाई स्वाभाविक मान्ने मानसिकता विकास गरियो । किनभने, बाँच्नु त पथ्र्यो । बलियाले जित्ने र कमजोरले हार्ने अभ्यासबाट राज्यहरू बने र बलियालाई मानेर र जोगिएर चल्ने अभ्यास गरियो । त्यतिबेला नियम, कानुन र थिति होइन, बल र बलको भाषाले निर्णय गर्ने समय थियो । व्यक्ति, सामाजिक प्रबन्ध र राज्यका हकमा पनि त्यो लागू हुन्थ्यो । समय क्रमशः बदलिँदै गयो । २० औँ शताब्दी भनेको असाधारण रुपमा जागरण, परिवर्तन, खोज, अनुसन्धान र अन्वेषणको शताब्दी रह्यो । त्यस शताब्दीमा हरेक व्यक्तिमा स्वतन्त्रता, अधिकार र अवसरको पक्ष विकास भयो र आफू यस धर्तीको सन्तान अर्थात् मान्छे हुनुको अर्थ खोजी भयो । २० औं शताब्दीको प्रवृत्ति राष्ट्र«हरू स्वतन्त्र हुने र उपनिवेशहरू अन्त्य हुने रह्यो । यस प्रसंगमा दुईटा विश्वयुद्ध भए । परमाणु बमहरू प्रयोग भए । बीसौँ शताब्दीले विभिन्न देशहरूमा स्वाधीनता र लोकतन्त्रका संग्रामहरू देख्यो । यी सबै मन्थनका कारण शासन र सम्बन्धका सोचहरूमा पनि व्यापक परिवर्तन देखा प¥यो ।

पहिले शासन शासकहरूको मामिला भन्ने बुझिन्थ्यो । बीसौँ शताब्दीले शासन शासकहरूको होइन, सबै मानिसहरूको साझा प्रबन्ध हो भन्ने बुझायो । राज्य दमनकारी संयन्त्र मात्र होइन र जो त्यस संयन्त्रको सञ्चालक छ, त्यसैको स्वेच्छाचारी विषय होइन, सामाजिक प्रबन्ध हो भन्ने चेतना विकास भयो । राष्ट्र«हरूका बीचमा पनि ठूलो र सानो, बलियो र कमजोरको हैसियतभन्दा समान हैसियतका अवधारणाहरू विकास भए । संयुक्त राष्ट्र सङ्घको स्थापना, त्यसका बडापत्रदेखि अनेक निष्कर्षहरूले राष्ट्रहरूका बीचमा तिनका अधिकारहरू बराबरीको हैसियतमा स्थापित भए । समुन्द्र सबैको हो, भू–परिवेष्ठित राष्ट्रहरूले पनि बन्दरगाह प्रयोग गर्न पाउनुपर्छ र त्यहाँ पुग्ने बाटो प्रयोग गर्न पाउनुपर्छ भन्ने मान्यता स्थापित भयो । संयुक्त राष्ट्र सङ्घ, समुन्द्रसम्बन्धी कानुन र पारवहनसम्बन्धी हक आदिका विषयमा अनेक अन्तर्राष्ट्रिय सम्झौताहरू भए । त्यसले अन्तर्राष्ट्रिय कानुनको रुप लियो र सबैका लागि अनिवार्य बन्यो ।

सार्वभौमसत्ताः बोली र व्यवहारमा देखिने भिन्नता
प्राप्त नभएकाले प्राप्त गर्न खोज्छ, यो प्रवृत्ति हो । जोसँग छ, त्यसले गुमाउन खोज्दैन, इच्छापूर्वक छोड्न खोज्दैन । मान्छेहरूले भन्छन् नि– ‘बेलायत शान्तिपूर्ण ढङ्गले भारतबाट फर्कियो ।’ फर्कनैपर्ने परिस्थितिले पोलेपछि फर्केको हो । नत्र अगाडि पनि त्यहाँ बेलायत नै थियो, कब्जा गर्न आउने पनि बेलायत नै थियो । त्यो प्रवृति नेपाल–भारतका सम्बन्धमा पनि देखिन्छ । अलिकति रस्साकस्सी देखिन्छ । हामीले २००७ यताका कुरा गर्ने हो भने ०१७ सालमा बीपी कोइराला कसरी अपदस्थ भए ? ०१८ सालमा कांग्रेसमाथि त्यत्रो दमन कसरी भयो ? ३० वर्षसम्म पञ्चायत कसरी टिक्यो ? अरू अनेक घटनाक्रम छन् ।

नेपाल स्वाभाविक रुपमा स्वतन्त्र ढङ्गले आफ्नो सार्वभौमसत्ता प्रयोग गर्न चाहन्छ । त्यो एउटा राष्ट्रको चरित्र हो । एउटा राष्ट्रसँग आफ्नो सार्वभौम स्वतन्त्रता (सोभरिन इन्डिपेन्डेन्ट) भन्नूस् वा स्वतन्त्र सार्वभौमसत्ता (इन्डिपेन्डेन्ट सोभर्निटी), हुन्छ । त्यो प्रयोग गर्दा बलियाले आफूलाई अलिकति चुनौती (थ्रेट) महसुस गर्छ, अलिकति अटेर गरेको ठान्छ । यो इतिहासको लामै सन्दर्भ र घटनाक्रमहरूबाट देखिएको छ ।
नेपाल–भारतबीचको सम्बन्धलाई हेर्दा उतार–चढाव देखिन्छ । कहिले तनावपूर्ण हुने, फेरि सुमधुर हुने, आगो निभ्यो भन्ठान्यो, फेरि धुँवाउँदै निस्किने, फेरि साम्य भयो भन्यो, अर्को कुनाबाट पुत्पुताउने घटनाक्रम हामीले देखिरहेका छौँ । जो बलियो छ, उसले समानताको सिद्धान्त लेख लेख्दा मान्छ, भाषण गर्दा मान्छ तर व्यवहारमा आएपछि आफूलाई चुनौती दिएको ठान्छ । ‘बराबरीको हैसियत खोज्ने ?’ भन्ने रुपमा लिन्छ । त्यो ग्रन्थीले काम गरेको हुन्छ ।

नेपाल र भारतका बीचमा कुनै समस्या छैनन्, गम्भीर समस्या छन् । समस्या यस अर्थमा छैनन् कि यो एउटा सार्वभौम राष्ट्र हो । यसले आफ्नो स्वाधीनताको उपयोग गर्छ । आफ्ना मामिला आफैँ सञ्चालन गर्छ, आफैँ हेर्छ । नेपालमा कोही पनि भारतको बैरी छैन, हुन सक्दैन, हुने सोच्न पनि सक्दैन । यत्ति हो– नेपाल २१ औँ शताब्दीको सार्वभौम देशका रुपमा सार्वभौम समानता चाहन्छ । कुनै खर्च गर्नु पर्दैन, त्यति मानिदिए पुग्छ भन्ने नेपालको मान्यता हो ।

हामी कारिन्दा होइनौँ, मित्र हौँ
नेपालका तर्फबाट केही समस्या छैन । हामी भारतसँग मिलेर काम गर्न चाहन्छौँ । स्रोतहरूको उपयोग पनि मिलेरै गर्न चाहन्छौँ । भारत भूगोलमा ठूलो छ, जनसङ्ख्यामा ठूलो छ, विकासमा अगाडि छ । यसबाट हामी बेखुसी छैनौँ । त्यसबाट हामीलाई पनि राम्रै हुन्छ । हामी भारतले बाटो दिए वा भन्सार खुला राखिदिए खान पाउने नत्र भोकै मर्ने हुन चाहँदैनौँ । त्यो हामीलाई अन्तर्राष्ट्रिय कानुनले दिएको छ । त्यसो गर्नुपर्दैन, भारतले त्यसो गर्न मिल्दैन । तर, हामीले भोगेका छौँ नि, ‘नाकाबन्दी छैन, हामीले लगाएका छैनौँ, तिमीहरूकै साथीभाइको कच्याककुचुक हो, हाम्रो सुरक्षा भएन र चालक जान मानेनन्’ भन्दै सवारी साधन रोकेको अनुभव त हामीसँग छ । एउटा मात्र देशबाट घेरिएको भए सायद त्यो हाम्रो ‘नसिब’ हुन्थ्यो । तर, हाम्रो त चीन पनि छिमेकी छ । चीनबाट पारवहन अधिकार प्राप्त गर्ने हाम्रो हक हो । एकछिन छाडिदिऔँ, नाकाबन्दी भारतले लगाएको होइन, त्यो हामी आफैँले लगायौँ, हाम्रा आफ्नैहरूले हामीलाई भोकै मार्न खोजे । जेसुकै होस्, वैकल्पिक बाटो भएपछि त हामी त्यसरी त मर्दैनौँ नि । हामीले हाम्रो बाटो बनाएर थप अनुकुलता खोज्दा भारतको विरोध भयो र ? यसबाट कहीँकतै भारतको विरोध भएको छैन, भारतको अहित गरेको छैन ।

हामी भारतको अहित सोच्दा पनि सोच्दैनौँ । हामीले भारतका जायज चासो, चिन्ता र सरोकारहरू बुझेका छौँ र तिनलाई सम्बोधन पनि गरेका छौँ । तर, केही सञ्चारमाध्यम र एजेन्सीहरू उनीहरूले भने अनुसार हुनुपर्छ भन्छन् । त्यो भारतको केन्द्रीय नीति अनुसार पनि छैन । आफूले भने अनुसार भएन भने तिनीहरूले त्यसलाई बढाएर र उछालेर आफ्नो ‘बिजनेस’ चलाउँछन् । केन्द्रीय राजनीतिक नेतृत्वले त्यस्ता खेल–तमासालाई रोक्नुपर्ने हो, अस्वीकार गर्नुपर्ने हो । त्यस्तो अनुचित खेल–तमासा नहुनेबित्तिकै नेपाल–भारत सम्बन्ध बहुतै सुमधुर र सुन्दर भएर जान्छ । नेपाल एउटा मित्र हो, मित्र भएर नपुग्ने ? आदेश तामेल गर्ने कारिन्दा चाहिने ? स्वाभिमान भएको राष्ट्रले त्यो कुरा मान्दैन ।

सत्य नबोल्नु कुटनीति होइन
नेपालमा एउटा चलन छ– कुटनीति भनेको साँचो कुरा नभन्नु हो । किन भन्नु हुँदैन ? हामीले नचाहिँदो गरेका छैनौँ, गर्दैनौँ । तिमीहरूसँग मिलेरै चलाउने हो भन्न नहुने ? हामी चीनसँग बाटो खोल्छौँ, बन्दरगाह पनि चलाउँछौँ । यो कसको विरोध हो ? त्यो किन भन्न नपाउने ? कोही–कोही त्यो किन भन्नुप¥यो भन्छन् । त्यसो भए किन राजनीति गर्नुप¥यो त ? चुप लागेर घरमा बसे भैगो नि । एउटा सामान्य बौद्धिक मान्छेले बोल्ने कुरा नेताले बोल्दैन, बोल्न सक्दैन र जिब्रो चपाउँछ भने कुटनीति भनेको के हो ? नेपाल र भारतका बीचको सम्बन्ध कपट, धूर्तता र चिप्लो भाषामा अड्न सक्दैन, भरपर्दो, असल र विश्वसनीय छिमेकीको हैसियतमा अडेको हुनुपर्छ, बराबरीको सम्बन्धमा आधारित हुन्छ ।

मैले विभिन्न समयमा भन्ने गरेको छु– नेपाल भूगोलमा सानो होला, जनसङ्ख्यामा सानो होला, कुनै पनि देश भूगोल र जनसङ्ख्याका हिसाबले सानो–ठूलो हुनसक्छ । विकासमा अगाडि–पछाडि हुनसक्छ । तर, सार्वभौमसत्ता सबैको हुन्छ । सार्वभौमसत्ता सबैका लागि स्वीकार्य र सम्मानित हुनैपर्छ । यो कुरा कसका विरुद्ध छ र ? आफ्ना विरुद्ध कसैले ठान्नुपर्ने कहाँनिर छ ? यो कुरा सुनेपछि चित्त दुख्नुपर्ने वा क्रोध पैदा हुनुपर्ने ठाउँ कहाँनिर छ ? मलाई यति ‘गैरकुटनीतिक’ भएकोमा पछुतो छैन । किनभने, म कुटनीति भनेको झूठ र असमानता–अन्यायको स्वीकारोक्तिमा हुन्छ भन्नेमा विश्वास गर्दिनँ । अमैत्रीपूर्ण व्यवहार स्वीकारेर मित्रताको गुणगान गर्ने कुरा दिगो हुँदैन । हामीले गरेनौँ भने अर्को पुस्ताले गर्छ । गर्नैपर्छ अनि मात्र त्यो सामान्य अवस्थामा फर्किन्छ । नेपाल–भारत सम्बन्धको यर्थाथ यही हो । सार्वभौमसत्ता, समानता, द्विपक्षीय हित र सम्मान स्वीकार्नूस् । सके सहयोग गर्नूस्, नसके दुख नदिनूस् ।

मैले माथि पनि उल्लेख गरेँ– हामी भारतका चासो, चिन्ता र सरोकारहरू बुझ्छौँ । जो जायज छन्, ती सम्बोधन गर्छौ । विश्वव्यापी रुपमा ठूलाहरूका लफडा हाम्रो विषय होइनन् । संविधान निर्माणका बेला नेपाल–भारत सम्बन्ध धेरै बिग्रिएको थियो । यो अहिले सामान्य अवस्थामा पुगेको छ । अहिले भएको सरकार परिवर्तनको नेपाल–भारत सम्बन्धसँग केही लेनदेन छैन । आदेश तामेल गर्ने–गराउने मनोविज्ञानको एउटा प्रकटीकरण हो । कतिपयले भन्छन्– ‘त्यही समीकरण किन कायम नगराएको ?’ म भन्छु– त्यस्तो समिकरण केका लागि ? जे गरिएको थियो, त्यस दिशालाई अगाडि बढाउन कि उल्टाउन ? उल्टाउने समिकरणको कुनै अर्थ छ ? राजनीति कुनै गन्तव्यतर्फ उन्मुख, कुनै बाटो भएको, कुनै आदर्शप्रति समर्पित वा निष्ठामा अडेको हुनुपर्छ कि जसरी पनि खान पाउनुपर्छ भन्ने हुनुपर्छ ? यी कुराहरूसँग नजोडिएको समीकरण महात्मा गान्धीले भने झैँ इमान नभएको राजनीति हुन्छ ।

खुला सीमा नियमनको खाँचो
मैले माथि उल्लेख गरेका कुराहरू ‘पोलिसी गाइड लाइन’ हुन् । सबै चीच त्यहाँबाट उत्पत्ति हुन्छ, प्रकट हुन्छ । उम्लिएपछि कता जानुपर्छ ? त्यसले जान्दछ । तराईमा समस्याहरू छन् । एउटा जटा उखेलेर त्यो जटा भूँइमा पछारेर चारवटा नन्दीभृङ्गी निकालिन्छ । उफ्रिँदा–उफ्रिँदा थाक्यो भने अर्को जटा निकालेर अर्को नन्दीभृङ्गी देखाइन्छ । अनि यी समस्या भनेर चिन्ता गरिन्छ । यी बेमतलवका कुरा हुन् ।

भूमिपुत्र भन्नेले यहाँको भूमिपुत्र हुँ भनेको छैन । जहाँको भए पनि भूमिपुत्र हो । दुईटा राष्ट्रका बीचमा सीमापार अपराध, मानव बेचविखन, लागूऔषध, नक्कली मुद्रा, बलात्कार, आतङ्कवाद, सामाजिक अपराध– यस्ता अपराधका धेरै प्रकारहरू छन् । यस्तो समयमा एउटा देशमा जन्मेको अभिलेख हुन्छ, अर्को देशमा त्यही अभिलेख हुँदैन । त्यसकारण अर्को ठाउँ वा देशलाई उनीहरूले आफ्नो लुक्ने ठाउँका रुपमा प्रयोग गर्न सक्छन् । त्योे मान्छे यता छ कि उता, कसरी थाहा पाउने ? यी सबै कारणले गर्दा जुनसुकै रुपमा भए पनि नियमति गर्ने, पारदर्शी बनाउने जस्ता कुरा हुनुपर्छ । पारदर्शी भन्नुको अर्थ सार्वभौमसत्ता कायम गर्न र आतङ्कवादी गतिविधि नियन्त्रण गर्न हुनुपर्छ ।

मुलुक भनेका मुलुक नै हुन्, तिनका केही गोप्यताहरू हुन्छन् । स्वाभाविक रुपमा त्यहाँ राष्ट्रिय स्वाभिमान, स्वाधीनता, राष्ट्रिय सुरक्षा र गोप्यताको कुरा आउँछ । त्यसो भयो भने स्पष्टै छ– सीमा नियमन (रेगुलेट) हुनैपर्छ । यो कसैका विरुद्ध होइन । हामीले पनि हाम्रा विरुद्ध गरियो भन्ने ठान्नु हुँदैन । यो चाहिँ नियमन गरेको हो भन्ने ठान्नुपर्छ । प्रवेषाज्ञा (भिसा) के हो ? के हो भने कुनै व्यक्ति किन आउँछ ? ऊ कहिलेसम्म बस्छ ? के काम गर्न आउँछ ? कहिले फर्कन्छ ? त्यत्तिका लागि न हो । राज्यले त्यो थाहा पाउन नहुने ? सुटुक्क किन गर्नुपर्ने ? त्यो थाहा पाउँदा के बिग्रिन्छ र ? त्यसकारण यी सबै कुरा नियमन गरेर बस्दा सबै सुरक्षित भइन्छ ।

स्वाभिमान र संविधान निर्माण
संविधान बनाउँदा संविधान बन्न नदिने षड्यन्त्रसँग हामी जुधेका थियौँ । हामीसँग एकातिर लोकतन्त्रका आधारभूत मान्यताहरूलाई स्थापित गर्नुपर्ने चुनौती थियो भने अर्कातिर त्यसरी बनेको संविधान कुनै हालतमा जारी गर्नुपर्ने, संविधान बन्न नदिने षड्यन्त्रलाई विफल पार्नुपर्ने र संविधानका आधारभूत मान्यतालाई स्थापित गर्नुपर्ने दायित्व थियो । अरू त साना–तिना कुरा थिए । संविधान जारी गर्न हामीले अंश त त्याग गर्नैपथ्र्यो । लोकतन्त्रका आधारभूत कुरा स्थापित गर्न केही न केही साना–तिना कुरामा सम्झौता गर्नैपर्ने थियो । त्यसकारण मैले भन्ने गरेको छु– जनतालाई अधिकार सम्पन्न गराउने र अवसर उपलव्ध गराउने सन्दर्भमा संविधानमा कमी छैन, बरु कार्यान्वयन गर्न अप्ठेरो हुने गरी बढी छ । राज्य सञ्चालनको सम्बन्धमा संविधान त्रुटिपुर्ण छ । त्यसमा सच्याउन जरुरी छ । तर, समस्या नभएका ठाउँमा समस्या खडा गर्ने र त्यही देखाएर नेपाललाई कमजोर पार्ने कोसिस भइरहेको छ । यसप्रति हामी सचेत छौँ र त्यस्तो सपना पूरा हुन दिँदैनौँ ।
(डा. विजय पौडेलद्वारा सम्पादित पुस्तक ‘नेपाल–भारत सम्बन्धः विगत, वर्तमान र भविष्य’ पुस्तकबाट । शीर्षक हाम्रो हो)

प्रतिक्रिया दिनुहोस्