हावाहुरीबाट ज्यान गुमाएकाहरुको पुण्य तिथिमा शोक मनाउने प्रदेश २ सरकारको निर्णय


काठमाडौ, २४ चैत । प्रदेश २ सरकारले बारा र पर्साको आँधीमा ज्यान गुमाएकाहरूको १३औं पुण्य तिथिमा शोक मनाउने घोषणा गरेको छ।

आइतबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद बैठकले १३औं पुण्यतिथिको दिन ३० गते प्रादेशिक शोक मनाउने निर्णय गरेको भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले जानकारी दिए।

बैठकले १३औं पुण्य तिथिका दिन आमनागरिक, कर्मचारी, विद्यार्थी, शिक्षक लगायतले बिहान ११ बजे २ मिनेट मृतकको आत्माको चिर शान्तिको कामना गर्र्दै मौन धारण गर्न समेत आह्वान गरेको छ।

मन्त्री सोनलले बारा–पर्सामा आएको विनाशकारी आँधीपछि त्यहाँ शौचालय, खानेपानी, बत्ती र टेन्ट लगायतको समस्या देखिएकोले तत्काल समस्याको समाधान गर्नका लागि केन्द्रीय सरकारसँग समन्वय गरिने बताए।

बैठकले प्रत्येक मृतक परिवारलाई किरिया खर्चबापत तत्काल २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय समेत भएको मन्त्री सोनलले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्