हिँडेर गाउँ जान नदिनू, जहाँ बसेका छन्, त्यहीँ खाद्यान्न पुर्‍याउनू: प्रधानमन्त्री ओली


काठमाडौ, ५ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले खान नपाएर गाउँ जानेहरुलाई खाद्यान्न पुर्‍याउने व्यवस्था गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री ओलीले आज बालुवाटारमा मन्त्रीहरुको छलफलमा खान नपाएरै गाँउ जान लागेका हुन् भने जहाँ बसेका छन्, त्यहीँ खाद्यान्न पुर्‍याउने व्यवस्था गर्न निर्देशन दिनुभएको हो । प्रधानमन्त्री ओलीले यसका लागि स्थानीय तहहरुसँग समन्वय गर्न र सम्बन्धित जिल्लाका सांसदहरुको सहयोग लिन उच्चस्तरीय समन्वय समितिलाई निर्देशन दिनुभएको छ । यसरी एक ठाउँबाट अर्को ठाउँमा मानिसहरुलाई आवातजावत गर्न दिँदा सक्रमणले विकाराल रुप लिने भन्दै उहाँले अत्यावश्यक बाहेकका आवतजावत पूर्ण रुपमा बन्द गर्न पनि निर्देशन दिनुभएको छ । बैठकमा उच्चस्तरीय समितिले प्रदेश र स्थानीय तहसँग समन्वय गरेर सिधै गाउँ पुर्‍याउने वा यहीँ रोक्ने विकल्प पेश गरेको थियो । प्रधानमन्त्री ओलीले परीक्षणलाई गति दिन पनि निर्देशन दिनुभएको एक मन्त्रीले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्