‘हिन्दीलाई राष्ट्रभाषा बनाउने निर्णय आफ्नै केन्द्रीय कमिटीबाट पारित गराउन सक्नुहुन्छ ?’


१६ असोज । नेकपा (एमाले) का सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले संविधान संशोधनका लागि एमालेलाई दोषारोपण गर्नुभन्दा ठोस प्रस्ताव ल्याउन सत्तारुढ दललाई आग्रह गरेका छन् । प्रेस चौतारी नेपालको आइतबार जावलाखेलमा आयोजित चौथो ललितपुर जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले प्रश्न गरे, ‘प्रस्ताव नै ल्याउनु भएको छैन, एमालेले मानेने भनेर किन हल्ला गरिरहनुभएको छ ?’

सचिव भट्टराईले संविधान निर्माण भएपछि एकपटक संशोधन भएर संविधान संशोधन हुन सक्छ र गर्न सकिन्छ भन्ने प्रस्ट भइसकेको उल्लेख गर्दै आफ्नो पार्टी सैद्धान्तिक रुपमा संविधान संशोधनको विपक्षमा नरहेको बताए । उनले भने, ‘तर त्यस्तो प्रस्तावको औचित्य हुनुपर्छ, त्यो प्रस्ताव देश र जनताको पक्षमा हुनुपर्छ, राष्ट्रिय एकता र स्वाभिमानका पक्षमा हुनुपर्छ ।’

अहिले बजारमा आएका हल्लाका भरमा संविधान संशोधन हुन नसक्ने र आफ्नो पार्टी त्यसमा सहमत हुन नसक्ने स्पष्ट पार्दै सचिव भट्टराईले भने, ‘हिन्दीलाई राष्ट्रभाषा बनाउने, राष्ट्रिय एकता र सद्भावमा खलल पुर्याउने गरी प्रदेशको सीमांकन हेरफेर गर्ने कुरामा हामी सहमत हुन सक्दैनौँ ।’

सचिव भट्टराईले ती विषयमा स्वयम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पार्टी माओवादीमा समेत सहमति हुन नसक्ने बताए । उनले प्रधानमन्त्री प्रचण्डलाई चुनौती दिए, ‘हिन्दीलाई राष्ट्रभाषा बनाउने प्रस्ताव तपार्ईं आफ्नो केन्द्रीय कमिटीबाट पारित गराउन सक्नुहुन्छ ?’ उनले अर्को प्रश्न थपे, ‘तराईलाई पहाडबाट अलग गरेर प्रदेश बनाउने निर्णय आफ्नै पार्टीबाट गराउन सक्नुहुन्छ ?’ भट्टराईले भने, ‘यदि तपाईं त्यस्तो गराउन सक्नुहुन्छ, सबैले मान्छन् भने अरुले राजनीति नगरे पनि हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्