हिन्दी भाषालाई सरकारी कामकाजको भाषा बनाउने माग राष्ट्रियतामाथिको अपमानः कांग्रेस नेता


३० असोज ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद धनराज गुरूङले नेपालमा हिन्दी भाषालाई सरकारी कामकाजको भाषा बनाउने भन्ने कुरा राष्ट्रियतामाथिको अपमान भएको आरोप लगाएका छन् ।

व्यवस्थापिका संसदको वैठकमा बोल्दै उनले हिन्दी भाषालाई सरकारी कामकाजको भाषा बनाउने र नेपालको संविधानको अनुसूचीमा राख्नुपर्ने भन्ने विषय औचित्यहीन भएको समेत तर्क गरे ।  ‘नेपालका सबै भाषालाई संविधानले सरकारी कामकाजको भाषाका रुपमा मान्यता दिइसकेका अवस्थामा हिन्दी भाषाको चर्चा गरिनु राष्ट्रियतामाथिको अपमान भएको छ,’ उनले भने । प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेका केही मधेस केन्द्रित दलहरुले उठाएको त्यस्तो मागको सरकारमै सहभागी दलका नेताले नै आलोचना गरेपछि त्यस्तो माग राख्ने दलहरु थप समस्यामा पर्ने संकेत देखिएको छ ।

बैठकमा मधेसी जनाधिकार फोरम नेपाल (लोकतान्त्रिक) का योगेन्द्र चौधरीले स्थानीय निकायको पुनःसंरचना गर्दा सम्बन्धित आयोगलाई आवश्यक पर्ने तथ्याङ्क र विवरण सरकारले उपलब्ध नगराएकाले यस्तो व्यवहारले स्थानीय तहको निर्वाचन ढिलो हुनेतर्फ सजग गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्