हिन्दू महासम्मेलनमा लाखौं घोटाला भएको आशंका, बहिस्कार गर्नेहरु भन्छन्ः ‘चैतमा अर्को महासम्मेलन गर्छौं’


७ कार्तिक । पूर्वराजा ज्ञानेन्द्रले उद्घाटन गरेको अन्तर्राष्ट्रिय हिन्दु विराट महासम्मेलनमा करोडौं उठेको भए पनि त्यसको हिसाब–किताब नदेखाइएको हुँदा व्यापक रुपमा घोटाला भएको आशंका गरिएको छ । शनिबार काठमाडौंमा सम्पन्न उक्त महासम्मेलनका क्रममा करोडौं रकम हिनामिना भएको हुनसक्ने कुरा बाहिर आएसँगै अरु कारण पनि महासम्मेलन पूरै विवादमा तानिएको छ । केही अग्रज हिन्दू विद्वानहरुका साथै संघसंस्थाले सम्मेलन बहिस्कारसमेत गरेको छ ।

महासम्मेलनको नाममा करोडौं उठाइएको हुनसक्नेमा धेरैले आशंका गरेका छन् । राजा ज्ञानेन्द्रद्वारा उद्घाटन हुने थाहा हुँदाहुँदै सरकारले महासम्मेलन गर्न २० लाख रुपियाँ सहयोग गरेको बुझिएको छ । सरकारबाहेक पूर्वराजा ज्ञानेन्द्रले पनि भित्री रुपमा सहयोग गरेको आशंका गरिन्छ । यसबाहेक भारतका हिन्दूवादी संघसंस्थाहरुले पनि महासम्मेलनका लागि ठूलो लगानी गरेको बुझिएको छ । तर, महासम्मेलनका क्रममा कहाँबाट कति सहयोग उठ्यो भन्नेबारे केही जानकारी गराइएन, उठेका सबै रकमबारे गुपचाप नै राखियो ।

विश्व हिन्दू महासंघद्वारा आयोजित उक्त महासम्मेलनमा अति हिन्दूवादीहरुले राजा ज्ञानेन्द्रलाई विश्व हिन्दू सम्राट घोषणा गर्ने र हिन्दू अधिराज्य पुनस्र्थापना गर्ने दुई वटा निर्णय गर्ने तयारी गरिएको थियो । तर, महासम्मेलनले हिन्दू अधिराज्य पुनस्र्थापना गर्ने प्रस्ताव पारित गरे पनि पूर्वराजा ज्ञानेन्द्रलाई विश्व हिन्दू सम्राट घोषणा गर्ने प्रस्ताव भने पारित गरेन । महासम्मेलन गराउन पूरै खटेका भरतकेशर सिंहले शंकराचार्य वासुदेवानन्द सरस्वती र गोरनाथपीठका पीठाधीश योगी आदित्यनाथकै अगाडि पूर्वराजा ज्ञानेन्द्रलाई विश्व हिन्दू सम्राट घोषणा गर्ने तयारी गरे पनि अन्तिम समयमा आएर रोकिएको बताइन्छ ।

२०३७ सालमा पहिलो र ०४४ सालमा दोस्रो सम्मेलन भएको २९ वर्षपछि नेपालमा गरिएको यो महासम्मेलनलाई पूर्वराजावादीहरुको चलखेलको रुपमा पनि हेरिएको छ । हिन्दूको नारा दिएर पूर्वराजालाई सक्रिय राजनीतिमा तान्ने हेतुस्वरुप भएको यो महासम्मेलनले सिंहलाई नै अध्यक्षमा चयन गरेको छ । तर, कसैलाई उम्मेद्वारी नै दिनबाट वञ्चित गरेर सिंहलाई एकलौटी रुपमा अध्यक्ष घोषणा गरेपछि महासम्मेलनमा भाग लिएकाहरुले त्यसको तीव्र विरोध र बहिस्कारसमेत गरेका छन् । पूर्वबडागुरुज्यू डा. माधव भट्टराई र सनातन हिन्दू मोर्चाले महासम्मेलन बहिस्कार गरेको थियो ।

समातन हिन्दू मोर्चाका अध्यक्ष पुष्पराज पुरुषले महासम्मेलनका क्रममा विधान संशोधन नगरिएको र सिंहले आफूलाई स्वघोषित रुपमा अध्यक्ष घोषणा गरेकाले सम्मेलन बहिस्कार गरेको बताए । उनले आगामी चैतमा १ सय ३३ वटा धार्मिक संघसंस्था मिलेर अर्को महासम्मेलन गर्ने पनि जनाए ।

प्रतिक्रिया दिनुहोस्