हुलाकी राजमार्ग तीन वर्षमा निर्माण पूरा हुने


कौडेना (सर्लाही), २२  साउन । तराईको ‘लाइफ लाइन’का रूपमा रहेको हुलाकी राजमार्गको निर्माण आउँदो तीन वर्षभित्र सम्पन्न हुने भएको छ । यो राजमार्गको सबै खण्डको ठेक्कापट्टा लागी निर्माण कार्य अगाडि बढाइएको छ ।
भौतिक, पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सडक विकासमार्फत कृषि, व्यापार, उद्योग र पर्यटनको विकास गरी तराई मधेसका जनताको जीवनस्तर उकास्ने उद्देश्यसहित निर्माण गर्न लागिएको हुलाकी राजमार्ग अबको तीन वर्षमा सम्पन्न हुने स्पष्ट पार्नुभयो ।
मन्त्री महासेठ हुलाकी राजमार्गको पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा खण्डको निरीक्षणका क्रममा सर्लाहीको कौडेना गाउँमा पुग्नुभएको थियो । सो राजमार्गको निर्माणबारे आमनागरिकको जिज्ञासालाई सम्बोधन गर्दै मन्त्री महासेठले अबको तीन वर्षभित्र हुलाकी राजमार्गको निर्माण सम्पन्न गर्ने गरी तीव्र गतिमा काम भइरहेको जानकारी दिनुभयो । उहाँले सोमबार र मङ्गलबार हुलाकी राजमार्गको सो खण्डको निरीक्षण गर्नुभएको थियो ।
उहाँले भन्नुभयो, “विगतमा सरकारको नीति तथा ढिलासुस्तीका कारण अहिलेसम्म हुलाकी राजमार्ग निर्माणले गति लिन सकेको थिएन तर तराई मधेसको विकासमा अहिलेको सरकारको विशेष रुचि र चासोका कारण हुलाकी राजमार्ग तीन वर्षमा पूरा हुने छ ।”
प्रधानमन्त्री केपी शर्मा ओलीले स्वयं हुलाकी राजमार्गको निर्माण छिटो सम्पन्न गर्न चासो देखाउनुभएको बताउँदै उहाँले अब सरकारलाई मुलुकको विकासमा ढिलासुस्ती सह्य हुन नसक्ने स्पष्ट पार्नुभयो । चालू आर्थिक वर्षमा यो आयोजनाका लागि १३ अर्ब ६० करोड रुपियाँ विनियोजन गरिएको छ । यस आयोजनाको गत आर्थिक वर्षमा भौतिक प्रगति ४४ प्रतिशत र वित्तीय प्रगति ४२ प्रतिशत रहेको हुलाकी सडक आयोजनाले जनाएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, हुलाकी सडक आयोजनाका प्रमुख, पुल महाशाखाका प्रमुखसहितको सो निरीक्षण टोलीलाई मन्त्री महासेठले बाढीका कारण अवरोध भएका सडक तथा पुलहरूको तत्कालका लागि अस्थायी रूपमा भए पनि मर्मतसम्भार गरी यथाशीघ्र सञ्चालनमा ल्याउन निर्देशनसमेत दिनुभयो ।
हुलाकी सडक आयोजनाका प्रमुख अशोक तिवारीले यस राजमार्गको २७० किलोमिटर कालोपत्रे र ३५० किलोमिटर ग्राभेल भई सञ्चालनमा आइसकेको जानकारी दिनुभयो । राजमार्गमा पर्ने कुल २१९ वटा पुलमध्ये ८५ वटा निर्माण भई सञ्चालनमा आइसकेको उहाँले बताउनुभयो । उहाँका अनुसार अहिले ८० वटा पुल निर्माणका क्रममा छन् । बाँकी पुलहरूको डिजाइन भइसकेको र तिनको निर्माणका लागि यसै आर्थिक वर्षभित्र ठेक्का सम्झौता हुने छ ।
यस राजमार्गको पहिलो चरणको निर्माणका लागि २७ जुन २००६ मा नेपाल र भारतबीच समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको थियो । समझदारीपत्रमा नेपाल सरकारका तत्कालीन परराष्ट्र सचिव भोजराज घिमिरे र नेपालका लागि तत्कालीन भारतीय राजदूत शिवशङ्कर मुखर्जीले हस्ताक्षर गर्नुभएको थियो । त्यसैगरी दोस्रो चरणको सडक निर्माणका लागि १५ जनवरी २०१० मा नेपाल र भारतबीच समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको थियो । समझदारीपत्रमा नेपाल सरकारका तत्कालीन परराष्ट्रमन्त्री सुजाता कोइराला र तत्कालीन भारतीय विदेशमन्त्री एम कृष्णामूर्तिले हस्ताक्षर गर्नुभएको थियो ।
समझदारीपत्रअनुसार भारत सरकारले आयोजनाका सडकहरूको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने, निर्माण, स्तरोन्नति र निर्माण सुपरीवेक्षण गर्ने, परामर्शदाता र निर्माण कम्पनी छनोट तथा यी कार्यमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने छ । त्यस्तै नेपाल सरकारले निर्माण सामग्रीमा लाग्ने सम्पूर्ण कर छुट गर्ने प्रावधान सम्झौतामा छ ।
तराईका २० वटै जिल्ला हँुदै निर्माण भइरहेको यो राजमार्गले सो क्षेत्रका ७५ प्रतिशत गाउँबस्तीलाई सडक सञ्जालसँग जोडी मुलुककै झण्डै आधा जनसङ्ख्यालाई प्रत्यक्ष लाभ पु¥याउने हुलाकी राजमार्ग आयोजनाले जनाएको छ ।
यस आयोजनाको कुल लागत ३५ अर्ब रुपियाँ अनुमान गरिएकोमा सडक निर्माणतर्फ भारत सरकारको अनुदान करिब २० अर्ब रुपियाँ रहेको र ती सडकमा पर्ने नदीहरूमा पुल निर्माण, जग्गा अधिग्रहण लगायतमा करिब १५ अर्ब रुपियाँ नेपाल सरकारको स्रोतबाट खर्च हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्