हृदयेश सूर्य चिन्ह लिएर उठ्ने भएपछि राजपामा हलचल


१७ असोज । गठन भएदेखि नै राष्ट्रिय जनता पार्टी, नेपालसँग असन्तुष्ट रहँदै आएका सो दलका नेता हृदयेश त्रिपाठीले राजपासँगको सम्बन्ध टुटाउने संकेत गरेका छन् । स्थानीय तहको दोस्रो चरणको निर्वाचन राजपाले बहिस्कार गर्दा सो निर्वाचनमा भाग लिनुपर्ने कुरा उठाउँदै आएका त्रिपाठीले अब हुने प्रतिनिधिसभाको निर्वाचनमा एमालेको चुनाव चिन्ह लिएर उठ्ने निश्चय गरेका छन् ।

राजपाका नेता त्रिपाठीसँगै राजपासँग असन्तुष्ट रहेका अरु नेताहरुले पनि आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमालेको सूर्य चिन्ह लिएर उठ्ने सहमति गरेका छन् । एमाले र त्रिपाठीको नेतृत्वमा गठित स्वतन्त्र राजनीतिक समूहबीच आगामी निर्वाचनमा सूर्य चिह्न लिएर सहभागी हुने सहमति भएको हो ।

स्वतन्त्र राजनीतिक समूहका नेता तथा कार्यकर्ताले मंसिर १० र २१ म हुने प्रतिनिधिसभा, प्रदेशसभा तथा राष्ट्रियसभाको निर्वाचनमा सूर्य चिह्न लिएर सहभागी हुने जनाइएको छ । स्वतन्त्र समूह स्वतन्त्र पहिचानका साथ क्रियाशील हुने जनाउँदै जारी विज्ञप्तिमा भनिएको छ, ‘तराई–मधेशसमेतका जनतालाई शोषण, उत्पीडन, विभेद र असमानताबाट मुक्त गरेर न्याय, समानता र समृद्धि सुनिश्चित गर्नु साझा जिम्मेवारी हुनेछ ।’

सो विज्ञप्तिमा एमालेका महासचिव ईश्वर पोखरेल तथा समूहका तर्फबाट राजपाका नेता हृदयेश त्रिपाठी (नवलपरासी), वृजेशकुमार गुप्ता (कपिलवस्तु), पशुपतिदयाल मिश्र (बाँके), ईश्वरदयाल मिश्र (कपिलवस्तु) र जगदीश शुक्ला (बाँके) ले हस्ताक्षर गरेका छन् ।

दुवै पक्ष संविधान कार्यान्वयनका क्रममा देश र जनताको आवश्यकतानुसार संविधान परिमार्जन र विकास गर्दै जान, तराई–मधेशका साथै समग्र राष्ट्रमा आर्थिक विकास र सामाजिक न्याय सुनिश्चित गर्न तथा सम्पूर्ण नेपालीको सुखी र समृद्धि जीवनका लागि सहकार्य गर्न सहमत भएका जनाइएको छ ।

२०४८ सालयताका हरेकजसो संसदीय निर्वाचनमा नवलपरासीबाट चुनाव जित्दै आएका त्रिपाठीले आफूभन्दा कनिष्ठलाई नेता मानेर जान नसकिने बताउँदै आएका थिए । राजपाको अध्यक्ष मण्डलमा आफूभन्दा कनिष्ठलाई स्थान दिएपछि उनी असन्तुष्ट रहँदै आएका हुन् । उनको असन्तुष्टि मेट्न राजपाले स्थायी आमन्त्रिण सदस्यका रुपमा त्रिपाठीलाई राखेका थिए । तर, त्रिपाठीले आफ्नो असन्तुष्टिकै बीच स्वतन्त्र समूह गठन गरेर एमालेसँग सहकार्य गरी चुनावमा जाने तयारी थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्