हेग जाने डरले प्रचण्डले राजनीतिक कोर्स बदलेका हुन्ः ईश्वर पोख्रेल


४ भदौ । नेकपा (एमाले) महासचिव ईश्वर पोख्रेलले नेकपा माओवादी केन्द्रले ‘हेग’ जाने डरले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढालेको आरोप लगाएका छन् ।

नेकपा (एमाले) गण्डकी–काठमाडौँ अञ्चल सम्पर्क कमिटीले शनिबार राजधानीमा आयोजना गरेको गण्डकी अञ्चल स्तरीय प्रशिक्षण कार्यक्रममा यस्तो आरोप लगाएका हुन् । नेकपा (एमाले)ले नेकपा माओवादी केन्द्र विभिन्न शक्तिहरुको प्रलोभनले फसेका कारण एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको आरोप लगाइरहेका बेला महासचिव पोख्रेलले पनि यस्तो आरोप लगाएका हुन् ।

माओवादीप्रति निकै आक्रमक देखिएका पोख्रेलले मावताविरोधी अपराधमा संलग्न माओवादीलाई एमालेले मागेको जति सबै थोक दिए पनि गठबन्धन टुटाएरै छाड्ने दाबी पनि गरे । ‘माओवादीलाई एमालेले उसले मागेको जति सबै थोक दिएको भए पनि एमालेसँगको गठबन्धन दीर्घकालिन बन्ने थिएन,’ महासचिव पोख्रेलले भने, ‘माओवादीलाई एमाले नेतृत्वको सरकार ढाल्ने र कांग्रेससँग गठबन्धन कायम गर्नुपर्ने बाहिरी दबाब थियो ।’

पोख्रेलले विदेशीको दबाबका सामू प्रचण्ड टिक्न नसकेपछि कांग्रेससँग मिलेको आरोप लगाए । ‘विदेशीले एमाले र माओवादीको गठबन्धन कायम रहुन्जेल आफूले भने अनुरुप नहुने देखेपछि प्रचण्डलाई गठबन्धन टुटाउन प्रयोग गरेका हुन्,’ पोख्रेलले भने, ‘प्रचण्ड पनि विदेशीकै इशारामा नाँचे ।’

एमालेकै केही शीर्ष नेताहरुले माओवादीसँग गठबन्धन नटुटाएको भए हुन्थ्यो भनेको सन्र्दभमा पनि पोख्रेलले गतिलो जवाफ दिए । ‘हाम्रा केही शीर्ष नेताहरु नै माओवादीसँगको गठबन्धन नटुटाएको भए हुन्थ्यो भन्नुहुन्छ,’ उनले भने, ‘त्यस्तो होइन, प्रचण्डलाई हेग जाने डर, लडाकुका नाममा गरेको अकुत भ्रष्टाचार जस्ता कुराले पोलिरहेको छ । अहिले विदेशी शक्तिले समेत त्यसैलाई आधार मानेर धम्की दिएपछि प्रचण्डले गठबन्धन टुटाएका हुन् ।’

कार्यक्रममा पोख्रेलले केपी शर्मा ओली सफल प्रधानमन्त्री र मरेको राष्ट्रिय  ब्युँझाउने नेता भएको पनि दाबी गरे । उनले प्रचण्डको महत्त्वाकांक्षी देशका लागि खतरा भएको पनि आरोप लगाए । माओवादीले गरेको मानबताविरुद्धको चरम उल्लंघनको माफी नहुने पनि उनको चेतावनी थियो ।

प्रतिक्रिया दिनुहोस्