हैट ! अझै लगन जुरेन


सलक्क परेको जिउडाल, गोरो अनुहार, त्यत्तिकै उचाइँ पनि । नेपाली फिल्मवृत्तमा जम्न चाहने कलाकारका लागि यस्ता योग्यता अनिवार्यजस्तै ठानिन्छ । तर, पछिल्लो समयका केही चर्चित फिल्ममा देखिएका बुद्धि तामाङको हकमा भने यी कुनै पनि योग्यता पुग्दैनन् । न उनी गोरा छन्, न शारीरिक आकर्षण नै छ र न त भनेजस्तो उचाइँ नै । योग्यताभन्दा बाहिरका यी कलाकारले केही वर्षयता नेपाली फिल्म जगत्मा ‘रजाइँ’ गरिरहेका छन् र उनलाई आफ्नो फिल्ममा खेलाउन चाहनेहरुको लर्को नै लाग्न थालेको छ ।

‘कबड्डी’ लाई आफ्नो फिल्मी–करिअरको टर्निङ–प्वाइन्ट मान्ने तामाङलाई नामबाट भने सीमितले मात्र चिन्छन् । चिन्नेहरुले त बाटाहरुमा भेट्दा हाकाहाकी सोध्छन्, ‘हैट, कता हिँडेको हो ?’ हो, उनलाई सबैले ‘हैट’ नै भन्छन् । रामबाबु गुरुङले ‘कबड्डी’ को स्क्रिप्ट लेख्दा उनको चरित्रलाई बुझेर ‘हैट’ शब्द छिराएपछि पछिल्लो फिल्म ‘छक्का–पञ्जा’ सम्म आइपुग्दा पनि उनी ‘हैट’ कै रुपमा परिचित छन् ।

‘हैट’ को व्यापार

‘कबड्डी’ मा थेगोको रुपमा ‘हैट’ भन्न थाले पनि यो शब्दसित भने उनी गाउँमा छँदै निकट थिए । काभ्रेपलान्चोकको सरमथलीमा जन्मिएका तामाङमा सानैदेखि ‘हैट’ मा रस बस्यो । भन्छन्, ‘गाउँतिर बाघलाई तर्साउन होस् वा गोरुलाई लखेट्न होस्, त्यो शब्द प्रयोग गर्थेँ । पछि, नाट्यकर्ममा लागेपछि त्यो शब्दलाई प्रयोग गर्न थालेँ । अहिले त मैले खेलेका प्रायः फिल्महरुमा त्यही शब्द प्रयोग गर्दै आएको छु ।’

अझ, अहिलेको चर्चित फिल्म ‘छक्का–पञ्जा’ ले त त्यो शब्दलाई धेरै चर्चित बनायो र उनको अभिनय–क्षमताले पनि चुली नै टेक्न सफल भयो । भन्छन्, ‘बाटोमा हिँड्दा मलाई हेर्दै मानिसहरु हैट भातै खान छाडेर कता ? भनेर जिस्क्याउँछन् । मलाई मेरो नामले भन्दा पनि हैटले बढी चिन्छन् ।’

साठी ठाउँ, ६० हजार

२०६२ सालमा डबली थियटरमा आबद्ध भएपछि उनले सडक नाटक गर्न थाले । देशमा संविधानसभाको चर्चा व्यापक रुपमा भइरहेको बेला संविधानमा महिलाको स्थान कस्तो हुनुपर्छ भन्ने विषयमा उनले सडक नाटकमा अभिनय गर्ने मौका पाए । उक्त नाटक रसुवा, झापा, सुनसरीलगायत ६ वटा जिल्लामा प्रदर्शन भएको थियो । तर, एउटै नाटकमा उनले बच्चा, बाबु र कुरौटेको गरी तीन भिन्न चरित्रमा अभिनय गर्नुप¥यो ।

उक्त सडक नाटकमा साठी ठाउँमा देखाइएको थियो । साठी ठाउँमा प्रदर्शित नाटक खेलेर उनले साठी हजार नै कमाए । भन्छन्, ‘नाटक खेलेपछि पैसा पनि पाइँदो रहेछ र घुम्न पनि पाइँदो रहेछ भन्ने लाग्यो मलाई । त्यसपछि नाट्य क्षेत्रमै रमाउन थालेँ ।’ जिन्दगीमा पहिलो पटक नाटक खेलेर पाएको ६० हजार रुपियाँ उनले गाउँमा बुबा–आमालाई पठाए ।

करिब दुई वर्षसम्म ४÷५ सय ठाउँमा सडक नाटक देखाएपछि ०६७ सालमा उनले अनुप बरालको निर्देशन रहेको चर्चित नाटक ‘मलामी’ मा खेल्न पाए । भर्खर २८ वर्षमा हिँडिरहेका उनले ‘मलामी’ मा ६५ वर्षे धर्मे बुढाको अभिनय गर्नुप¥यो । एक दर्जन नाटक खेलेपछि भने बल्ल उनले फिल्म ‘साँघुरो’ मा सानो भूमिका पाए र फिल्म क्षेत्रमा उनको आधिकारिक प्रवेश भयो ।

खासमा उनी फिल्मको सेट निर्माण कार्यमा संलग्न थिए । ‘साँघुरो’ को सेट निर्माणको काम उनले नै पाएका थिए र सेट निर्माणमा संलग्न हुँदाहुँदै दयाहाङ राईसँगै सानो भूमिका खेल्न पाए ।

कबड्डीले उठायो माथि

अनामनगरस्थित मण्डला थियटरका कलाकारसित बाक्लो हिमचिम थियो, रामबाबु गुरुङको । गुरुङ आइरहन्थे, मण्डलामा । मण्डलामा आबद्ध कलाकारहरुको काम गर्ने शैली देखेपछि गुरुङ प्रभावित मात्र भएनन्, मण्डलाकै कलाकारहरुलाई समेटेर ‘कबड्डी’ समेत बनाए । सोही फिल्म बुद्धिका निम्ति यस्तो मोड सावित भइदियो, जहाँबाट उनले पछाडि फर्केर हेर्नु परेको छैन आजसम्म । त्यसयता, कबड्डी–कबड्डी, टलकजंग भर्सेज टुल्के, रेड मनसुन, छक्का–पञ्जासम्ममा उनले अभिनय–क्षमता देखाइसकेका छन् भने तान्द्रो, पुरानो डुंगा, घामपानी, लालजोडी, ए मेरो हजुर–२ बाट पनि उनको अभिनय जोख्न सकिनेछ ।

इँटाभट्टा, बदाम र भरिया

२०५६ सालमा एसएलसी दिएपछि काठमाडौंले उनलाई तान्यो । भन्छन्, ‘काठमाडौंमा म पैसा कमाउन आएको थिएँ । जिन्दगीमा पैसा कमाउनुपर्छ भन्ने लाग्दथ्यो र त्यसका निम्ति मैले काठमाडौंलाई रोजेँ ।’

पैसा कमाउनका लागि जागिर खानुपर्छ भन्ने लाग्दथ्यो उनलाई । तर, जागिर खोज्दाखोज्दा हैरान भएपछि भक्तपुरको कमलविनायकस्थित एउटा इँटाभट्टामा काम गर्न थाले । इँटा बनाउने काममा पोख्त भए पनि त्यहाँ उनको मन दुई वर्षभन्दा बढी अडिएन । त्यसपछि, भक्तपुरकै सूर्यविनायक वरिपरि बदाम बेच्न थाले । भन्छन्, ‘बदाम बेचेर राम्रै आम्दानी हुन्थ्यो । दिनमा २÷३ सय कमाउँथेँ ।’ त्यतिबेला एक माना बदाम २० रुपियाँमा बेच्थे उनी ।

बदाम बेच्दा राम्रै आम्दानी भयो । तर, एक दिन उनले कामको क्षेत्र बदल्ने निर्णय गरे र हिँडे हिमालतिर पर्यटकहरुको भरिया बनेर । उनी सगरमाथा र टासीलाप्चेसम्मै पुगे, टे«किङ पेशा अपनाएर । भन्छन्, ‘टे«किङ पनि राम्रै लाग्यो । पैसा पनि पाइने र घुम्न पनि पाइने भएको हुँदा त्यसमा केही वर्ष रमाएँ ।’

नाटकलाई पनि उत्तिकै माया

अहिले नेपाली फिल्ममा नाट्य क्षेत्रबाट उदाएका कलाकारहरुले ‘कब्जा’ नै जमाएका छन् । तामाङ पनि त्यही लहरमा पर्छन् । नाटक कर्ममै लागेका दयाहाङ राई, भोलाराज सापकोटा, खगेन्द्र लामिछाने, राजन खतिवडा, विजय बराल आदिले फिल्ममा राम्रै भूमिका पाइरहेका छन् ।

एकपछि अर्को फिल्म हात परिरहे पनि तामाङ भने नाट्य क्षेत्रसित अहिल्यै नै सम्बन्ध टुटाइहाल्ने पक्षमा छैनन् । भन्छन्, ‘म अहिले नाटक, सानो पर्दा र फिल्म गरी तीन वटै क्षेत्रमा काम गरिरहेको छु ।’ हुन पनि दसैंलगत्तै नाटक ‘डिग्री माइला’ लिएर उनीसहितको टोली पूर्वाञ्चलतिर जाँदैछन् ।

सहायकमै सीमित

पछिल्लो समय केही चर्चित फिल्ममा अभिनय गरे पनि तामाङको भूमिका भने अहिलेसम्म सहायकबाट माथि उठ्न सकेको छैन । कतिपयले त उनलाई ‘छक्का–पञ्जा’ मा तिम्रै मुख्य भूमिका रहेछ भनेर पनि उचाल्छन् । तर, उनलाई त्यस्तो लाग्दैन ।

त्यसो त, बलिउडका राजपाल यादवसित तामाङलाई तुलना गर्दा अर्घेल्याइँ नहोला । यादवले हिन्दी फिल्महरुमा सानातिना तर प्रभावशाली भूमिका निभाउँदा–निभाउँदै पछिल्लो अवधिमा मुख्य भूमिकामा नै खेल्न थालेका छन् । के तामाङलाई पनि मुख्य भूमिकाका लागि कुनै प्रस्ताव आएको छैन ? भन्छन्, ‘मुख्य भूमिकाका लागि १÷२ वटा प्रस्ताव आएको थियो तर क्रिप्टमा चित्त नबुझेपछि गरिनँ ।’

जिउ र उचाइँले आफूलाई ‘हिरो’ बन्न नदिने स्वीकार्दै उनी भन्छन्, ‘हामीकहाँ एउटा चरित्रमा आधारित र अर्को अनुहार बिकाएर कलाकार हुने चलन छ । तर, मलाई भने चरित्रमा आधारित भूमिका नै सुहाउँछ ।’

मैच्याङको चक्करबाट टाढै

फिल्म ‘कबड्डी’ का तीन पात्रमध्ये काजी (दयाहाङ) र विके (विजय) को बिहे नभए पनि छन्त्याल बनेका उनले भने एउटी घच्चीकी स्वास्नी पाएका छन् । दिनभरि काजी र विकेसँगै डुकुलन्ठक भएर हिँड्ने उनले ‘छक्का–पञ्जा’ र ‘वडा नम्बर ६’ मा पनि श्रीमतिको पीडा झेलेका छन् र टेलिचलचित्र ‘मेरी बास्सै’ मा पनि उनी श्रीमतिविहीन छैनन् ।

तीन वटा फिल्ममा ‘लोग्ने’ बनेका उनी वास्तविक जीवनमा भने अविवाहित नै हुन् । भन्न त उनले चार वर्षअघि नै भनेका थिए, ‘अर्को वर्ष बाजा बजाएर बिहे गर्छु ।’ ठट्यौलो मुद्रामा भन्छन्, ‘त्यो अर्को वर्ष अहिलेसम्म आउन सकेको छैन ।’

घरको एक्लो छोरा, बिहेका आमा–बुबाको दबाब त छ नै । तर, ३४ वर्षमा हिँडिरहेका उनले बिहेका लागि अझै तयारी गरेका छैनन् । भन्छन्, ‘पहिला फुर्सद थियो, बिहे गरिएन, अहिले व्यस्त छु, बिहे गर्ने समय नै निकाल्न सकिएको छैन ।’ अहिले आफ्नो करिअरले मुलबाटो पछ्याउँदै गइरहेको हुँदा करिअरलाई नै ध्यानमा राखेको उनी बताउँछन् । तर, हल्का लामो कपाल पालेका, टाउकोमा ह्याट नछुटाउने र चस्मा लगाउन रुचाउने यी सोझा र भद्र कलाकार अहिलेसम्म कुनै ‘मैच्याङ’ को चक्करमा परेका छैनन् ।

कस्तो छ त कमाइ ?

‘कबड्डी’ खेल्दा उनले १ लाख २५ हजार पारिश्रमिक बुझेका थिए । फिल्ममा चाप बढ्दै गएअनुरुप अहिले उनको पारिश्रमिक पनि बढेको छ । कस्तो छ त कमाइ ? भन्छन्, ‘बचत त गरिएको छैन । तर, अहिले जिन्दगी राम्ररी नै चलेको छ ।’
अहिले नेपाली फिल्म जगत्मा ‘फलानो कलाकारले यति पारिश्रमिक माग्यो’ भन्ने विषयलाई समाचार बनाइन थालिएको छ । स्तरीय फिल्मले राम्रै कमाइ गर्ने भएको हुँदा कलाकारहरुको माग बढ्नुलाई अस्वाभाविक मान्न सकिँदैन पनि । तर, तामाङ भने पारिश्रमिकको मामिलामा अलि कमजोर नै देखिए । भन्छन्, ‘मलाई त्यति किचकिच गर्न आउँदैन । जति दिन्छ, त्यति नै थाप्छु ।’

दयाहाङसितको सम्बन्ध

फिल्म क्षेत्रको छोटो यात्रामा उनले अहिलेका चर्चित कलाकार दयाहाङ राईसँग पाँच वटा फिल्ममा सँगै अभिनय गरिसकेका छन् । डबलीमा आबद्ध भएदेखि नै दयाहाङ र उनको संगत बढेको हो । भन्छन्, ‘उहाँ मेरो उदाहरणीय व्यक्तित्व हो । सानो कुरालाई पनि कसरी प्ले गर्न सकिन्छ भन्ने गुण उहाँमा रहेको छ ।’

त्यसो त, कहिलेकाहीँ दयाहाङलगायत मण्डलाका साथीहरुसँग बसेर पिउने काम पनि हुन्छ । भन्छन्, ‘हामी जनजातिमा मादक पदार्थ त अनिवार्य नै हुन्छ । सगुनकै रुपमा खाने चलन छ, हामीकहाँ । घरमा परिवारहरुसँगै बसेर खान्छौं । तर, झयाप भएर खाने बानी भने छैन मेरो ।’

उनको नियमित पिउने साथीहरु छैनन् । यसो कहिलेकाही दयाहाङ, राजन खतिवडा, सोमनाथ अर्याल, उमेश तामाङहरुसँग बसेर रमाइलो गर्छन् । तर, पिउने बेलामा उनीहरुसँगै बसे पनि फिल्म ‘कबड्डी–कबड्डी’ मा मातेको बेला काजी र छन्त्यालको सातो टिप्ने विके अर्थात् विजय बराल भने पिउँदैनन् ।

दसैं गाउँमै बिताउने योजना

केही दिनअघि, गाउँबाट उनलाई बुबाले फोन गरेका थिए । फोनमा बुबाले भन्दै थिए, ‘अलि चाँडै आउनू । दसैंलाई एउटा बोका किनेर राखेको छु ।’ उनी फूलपातिकै दिन सरमथलीतिर लाग्दैछन् । भन्छन्, ‘घर नगएको एक वर्ष भइसकेको छ । यसपालि दसैंमा घर गएर मजाले बस्ने योजना छ ।’

दसैंमा खानपिन र भेटघाट त हुन्छ नै, साथीभाइ मिले भने तास खेल्ने योजना पनि उनले बुनेका छन् । तर, गाउँका मानिसहरुसँग हाइहेल्लोमै दसैं बित्ने सम्भावना उनले बढी देखेका छन् । भन्छन्, ‘भेटघाटमा नै यसपालिको दसंै टुंगिएलाजस्तो छ ।’

प्रतिक्रिया दिनुहोस्