होली खेले कोरोनाको जोखिम


काठमाडौं, २६ फागुन । कोरोना (कोभिड १९) भाइरसको संक्रमणबाट जोगिन यसपटक होलीमा रमझम र भीडभाड नगर्न विज्ञहरूले सुझाव दिएका छन् । होलीको दिन सोमबार सरकारले सार्वजनिक विदा दिएको छ ।

तर, एक आपसमा रङ छर्कदा र चिसोपानीमा भिज्दा कोरोना संक्रमणको जोखिम उच्च रहने भन्दै यसबाट सजग रहन सचेतसमेत गराएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासन र स्थानीय सरकारले समेत सार्वजनिक सूचना गरेर होलीमा विगतमा जस्तो तडकभडक नगर्न अनुरोध गरेका छन् ।

नेपाल चिकित्सक संघका अध्यक्ष तथा वीर अस्पतालका फिजिसियन डा. लोचन कार्कीले अहिलेको अवस्थामा होली खेल्न नहुने बताए। होली खेल्ने नाममा भीडभाडमा जम्मा हुँदा कोरोना भाइरसको संक्रमणको जोखिम बढी हुने कार्कीको भनाइ छ ।

विगत वर्षमा होली पर्व आउँदा तापक्रम बढिसकेको हुन्थ्यो। तर यसपटक भने मुलुकभर चिसो घटेको छैन। चिसो मौसममा पानीमा भिज्दा ज्वरो आउने तथा रुघाखोकीले सताउने सम्भावना पनि उच्च रहने चिकित्सकको भनाइ छ । यसले निमोनिया समेत निम्त्याउन सक्छ। रुघाखोकी लागेपछि शरीर कमजोर हुने र कमजोर शरीरमा कोरोनाले समेत सजिलै आक्रमण गर्न सक्ने यस क्षेत्रका जानकारको भनाइ छ ।

निकै तामझामका साथ होली मनाउँदै आएका विद्यालय सञ्चालकहरूले पनि यसपटक होली नमनाउने निर्णय गरेका छन् । उनीहरूले विद्यार्थी तथा अभिभावकलाई समेत होलीको दिन भीडभाडमा नजान भनेका छन् ।

उनीहरूले चिसो पानी र रङ नछ्याप्न अनुरोध समेत गरेका छन् । उनीहरूले सन्देश नै पठाएर यसबारे सचेत गराएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) का सहअध्यक्ष डीके ढुंगानाले भने, ‘एक पटक होली नखेल्दैमा केही फरक पर्दैन । स्वस्थ रहन सके अर्को वर्ष रमाइलो गर्न सकिन्छ ।’ अन्नपूर्ण पोस्ट दैनिकबाट

प्रतिक्रिया दिनुहोस्