पूर्वप्रधानमन्त्रीसहित १० अध्यक्षको नेता बन्ने उपेन्द्रको प्रयास


काठमाडौ,१६ असार । समाजवादी पार्टी नेपालले औपचारिक रुपमा राखेको पार्टी एकताको प्रस्तावमा राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलको बैठकले सहमति जनाएपछि दुई पार्टीबीच एकता हुने भएको छ ।

समाजवादी पार्टी नेपालका उपमहासचिव प्रकाश अधिकारीका अनुसार, एकताका लागि सहमति जुटिसकेको छ । ‘यसअघि धेरै हल्ला भयो । तर, यसपटक एकता भएरै छोड्नेगरी छलफल अगाडि बढेको छ’, अधिकारीले भने, ‘सत्ता, पदजस्ता विषय गौण विषय हुन्, यसैको कारण हिजो पार्टीहरु विभाजित भएका थिए ।’

तर, यसपटक भने एकता प्रक्रिया निकै अगाडि बढिसकेका छन् । त्यसका लागि शीर्ष नेताहरु घनिभूत छलफलमा जुटेका छन् । दुवै पार्टीको आगामी असोज र कात्तिकमा हुने महाधिवेशन अगाडि नै एकीकरण टुंग्याउनेगरी छलफल अगाडि बढाइएको राजपाका एक नेताले बताए । विषेशगरी समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोबीच छलफल तीव्र बनेको छ । महतो वार्ता समितिका संयोजक हुन् ।

केही दिनअघि जनकपुरमा यादव र महतोबीच भएको छलफलले एकता प्रक्रियालाई अगाडि बढाएको छ । स्रोतका अनुसार, कार्यकारी राष्ट्रपति प्रणाली बाहेक नीतिगत विषयमा धेरै सहमति नै जुटिसकेको छ । समाजवादी पार्टीले प्रत्यक्ष निर्वाचन प्रणालीबाट कार्यकारी राष्ट्रपति हुनुपर्ने अडान लिदै आएको छ । राजपा नेपाल भने अहिलेकै संसदीय अभ्यासको पक्षमा छ ।

यसबाहेक महत्वपूर्ण विषय भनेको नेताहरुको व्यवस्थापन हो । समाजवादी पार्टीमा दुई अध्यक्ष यादव र डा.बाबुराम भट्टराई अनि बरिष्ठ नेता अशोक राई छन् भने राजपाको अध्यक्ष मण्डलमै ६ जना नेता छन् । महन्थ ठाकुर, राजेन्द्र महतो, अनिल झा, महिन्द्र राय यादव, राजकिशोर यादव र शरदसिंह भण्डारी अध्यक्ष मण्डलका सदस्य हुन् ।

दुवै दलका नेताहरु अहिले नै व्यवस्थापनमा समस्या छ भने एकता प्रक्रियामा कसरी जुट्ने सजिलो छैन । राजपा स्रोतका अनुसार ठाकुरलाई अध्यक्ष मण्डलको संयोजक बनाउने, दोस्रोमा बाबुराम भट्टराई, त्यसपछि उपेन्द्र यादवलाई राख्ने प्रस्ताव तयारी भइरहेको छ ।

बाँकी नेताहरुमा राजेन्द्र महतो, शरदसिंह भण्डारी, राजकिशोर यादव र अनिल झालाई व्यवस्थापन गर्ने विषयमा छलफल भइरहेको छ । तर, प्रस्तावअनुसार नेताहरु व्यवस्थापन गर्न भने त्यति सजिलो छैन । किनभने, अशोक राई र उपेन्द्र यादवबीच एकता गर्दा अर्का दल पनि एकता भएको थियो ।

खस समावेशी राष्ट्रिय पार्टीका अध्यक्ष युवराज कार्की पनि त्यही पार्टीमा छन् । हेर्दा १० वटा पूर्व अध्यक्षहरुबीच एकता हुने विषय सजिलो छैन ।

प्रतिक्रिया दिनुहोस्