१० जना को–को भए नेकपाको केन्द्रीय सदस्य बन्न वञ्चित ?


काठमाडौं, ७ जेठ । पूर्व एमालेको २ सय ६ सदस्यीय केन्द्रीय कमिटी भनिए पनि १० केन्द्रीय सदस्य नवगठित नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य बन्नबाट वञ्चित भएका छन् । तत्कालीन एमालेको नवौं महाधिवेशनबाट निर्बाचित, बीचमा मनोनित केन्द्रीय सदस्यहरु नेकपाको केन्द्रीय सदस्य बन्नबाट वञ्चित भएका हुन् ।
यसरी वञ्चित हुनेहरुमा विद्या भण्डारी, गणेश तिमल्सिना, राधाकृष्ण मैनाली, डा. शिवमाया तुम्बाहम्फे, योगनारायण यादव, रुपनारायण श्रेष्ठ, रामनाथ ढकाल, अग्नी खरेल, सानुकुमार श्रेष्ठ, प्रल्हाद गिरी छन् । नवौं महाधिवेशनबाट तत्कालीन एमालेको उपाध्यक्षमा निर्वाचित भण्डारीले अघिल्लो पटक राष्टपतिमा उम्मेद्वार बन्नसाथ राजीनामा दिएकी थिइन् । त्यस्तै, तिमल्सिना राष्टियसभा अध्यक्ष, तुम्बाहम्फे उपसभामुख, खरेल महान्यायाधिवक्ता र श्रेष्ठ ३ नम्बर प्रदेशको सभामुख भएलगत्तै राजीनामा दिइसकेका छन् ।
त्यस्तै ढकालको मृत्यू भइसकेको छ भने यादव जेलमा छन् । श्रेष्ठ र मैनालीलाई भने अनुशासनविपरित काम गरेकाले नेकपाको केन्द्रीय सदस्यमा मनोनित नगरेको बताइन्छ । मैनाली पूर्व एमालेमा मनोनितपछि एक पटकभन्दा बढि केन्द्रीय कमिटी बैठकमा भाग लिएनन् । उनलाई मनोनितपछि त्यतिबेलै स्थायी समिति सदस्य बनाउने चर्चा रहे पनि अध्यक्ष ओलीसहित पार्टी नेतृत्वविरुद्ध सार्बजनिक रुपमा अनुशासनविपरितका काम गरेकाले नेकपाको केन्द्रीय कमिटीको सूचीमा समेट्न नेताहरुले रुची नराखेका बताइन्छ । उता, श्रेष्ठविरुद्ध भने तत्कालीन एमालेमा स्थानीय तहको निर्वाचनमा परेको अनुशासन उल्लंघनको उजुरीको किनारा लागिसकेको थिएन ।  उता, गिरीले भने संघीय संसदको निर्वाचनअघि नै पार्टी छाडिसकेका थिए ।

प्रतिक्रिया दिनुहोस्