१५ महिनापछि एकै ठाउँमा देखिए, प्रचण्ड र बाबुराम


११ पुस । करिब १५ महिनापछि नेकपा (माओवादी–केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल र नयाँ शक्ति, नेपालका संयोजक डा. बाबुराम भट्टराई एउटै मञ्चमा उभिएका छन् । नयाँ संविधान जारी भएपछि तत्कालीन एमाओवादी परित्याग गरेर हिँडेका डा. भट्टराई र दाहाल सोमबार एउटा कार्यक्रममा मञ्चमा सँगै देखिए ।

माओवादी–केन्द्रका सांसद दिवंगत भक्तिप्रसाद पाण्डे ‘चाचा’ को जीवन संघर्षमा आधारित ‘चाचा ः भक्तिप्रसाद पाण्डेको संघर्षयात्रा’ को सार्वजनिक गर्ने कार्यक्रममा १५ महिनाअघिसम्म एउटै पार्टीमा रहेका र दस वर्षसम्म जनयुद्ध सञ्चालन गर्दा एउटै मोर्चामा उभिएका प्रधानमन्त्री दाहाल र डा. भट्टराईबीच आज एउटै मञ्चमा देखिएका हुन् । एमाओवादी परित्याग गरेपछि डा. भट्टराईले नयाँ शक्तिमार्फत् आफ्नो शक्ति विस्तार गर्दैछन् भने दाहालले भने छिन्नभिन्न रहेका माओवादीहरुलाई समेट्दै गइरहेका छन् ।

सो कार्यक्रममा बोल्दै डा. भट्टराईले भने, ‘विगतमा हामीले दस वर्षसम्म जनयुद्ध ग¥यौं । तर, जनयुद्ध एकजनाले मात्र गरेका होइनन् र देशमा परिवर्तन एक जनाको बलबुताले मात्र आएको होइन ।’ उनले अगाडि थपे, ‘प्रचण्डको परिपूरक बाबुराम हो र बाबुरामको परिपूरक प्रचण्ड हो । यो कुरालाई हामीले बिर्सन मिल्दैन ।’

डा. भट्टराईले आफ्नो मन्तव्य राखेपछि बोल्दै प्रधानमन्त्री दाहालले भने, ‘बाबुरामजीको कुराप्रति म सहमत छु । हामी सबै नयाँ शक्ति नै हौं । समयले हामीलाई फेरि एकै ठाउँमा ल्याउने संकेत गरेको छ ।’

माओवादी जनयुद्धमा सामेल भएका र सो पार्टीभित्र ‘चाचा’ उपनामले चिनिने पाण्डेको केही महिनाअघि क्यान्सरका कारण निधन भएको थियो । सो पुस्तक साँग्रिला बुक्सले बजारमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्