१५ दिनमा बुझाउनुपर्ने सम्पत्ति विवरण प्रचण्डले एक महिनामा पनि बुझाएनन्


१६ भदौ । कानुन अनुसार प्रधानमन्त्री तथा मन्त्रीहरुले आफू पदमा नियुक्त भएको १५ दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने प्रावधान छ । तर, पुष्पकमल दाहालले प्रधानमन्त्री चयन भएको ३० दिनसम्म पनि सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् ।

प्रधानमन्त्री तथा मन्त्रीहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई बुझाएको सम्पत्ति विवरण सोही कार्यालयको बेबसाइटमार्फत सार्वजनिक गर्ने चलन छ । तर, प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार, प्रधानमन्त्री दाहालले एक महिनासम्म पनि विवरण बुझाएका छैनन् । दाहाल साउन १९ गते प्रधानमन्त्री निर्वाचित भएका हुन् ।

नेपालमा धनाढ्य नेताका रुपमा चिनिने दाहालको अदृश्य रुपमा विदेशमा समेत लगानी भएको समाचार बेलाबेलामा सार्वजनिक हुने गरेको छ । अजय सुमार्गी नामक विवादास्पद व्यापारीका नाममा स्रोतबिना विदेशबाट आएर नेपाल राष्ट्र बैंकमा थुप्रिएको आठ अर्ब रकमको ठूलो हिस्सा दाहालसँगै जोडिन्छ । दाहाले प्रधानमन्त्री भएको दुई साताभित्रै राष्ट्र बैंक र अर्थ मन्त्रालयका अधिकारीहरुलाई बोलाएर त्यो रकम कसरी निकासा गर्न सकिन्छ भन्नेबारेमा छलफल गरिसकेका छन् ।

मन्त्रीहरुले पनि बुझाएनन् विवरण

प्रधानमन्त्री दाहालले जस्तै उनीसँगै सपथ लिएका उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधी र कृष्णबहादुर महराले पनि सम्पत्ति विवरण बुझाएका छैनन । त्यसैगरी, सोही दिन नियुक्त भएका मन्त्रीहरु रमेश लेखक, गणेश श्रीपाली र गौरिशंकर चौधरीले पनि सम्पत्ति विवरण बुझाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्