१ हजार १ सय ११ वटा ‘ब्लड बक्स’ जुटाउने अभियानमा गायक रामजी नेपाली


८ मंसिर । रामजी नेपाली कुनै समय गायन क्षेत्रमा निकै सक्रिय थिए ।  ‘घुम्न जाउला कान्छी बागलुङ बजार’ ‘जवानीमा तानेको गाजा’,  ‘भिरको टुनी किन हो रुनी’, ‘सालैजो’ जस्ता करिब डेढसय गीतमा स्वर तथा संगीत दिएका नेपाली अहिले गायनसँगै अर्को अभियानमा पनि सक्रिय बनेका छन् । उनको त्यो अभियान हो, १ हजार १ सय ११ वटा ‘ब्लड बक्स’ जम्मा गरेर रक्त संचार केन्द्र र बिभिन्न अस्पतालमा हस्तान्तरण गर्ने ।

उनले यो अभियान त्यसै सुरु गरेका होइनन् । ‘शरीरले रगत उत्पादन गर्न नसक्ने ‘प्mयाङ्कोनी एनिमिया’ रोगबाट मेरी जेठी छोरी काजल नेपाली पीडित छिन्,’  उनले भाबुक हुँदै भने, ‘उपचारका  क्रममा  रगत उपलब्ध गराउन बिगत पाँचबर्ष देखि रक्तसंचार केन्द्र धाउँदा मैले ब्लड बक्सको अभावमा धेरै पटक समस्या झेल्नु पर्यो । यस्तो समस्या अरुलाई नहोस भनेर अभियान सुरु गरेको हुँ ।’

उनले बिभिन्न अस्पताल तथा ब्लड बैंकमा रगत उपलब्ध भए पनि रगत बोग्ने भाँडोको अभावले धेरै समस्या झेल्नु परेको बाध्यता पनि पोखे । ‘आफुले जस्तो दुःख अरु कसैले पनि भोग्नु नपरोस् भनेर अभियान चलाएको हुँ,’ उनले भने,  ‘मठ मन्दिर, चैत्य गुम्बा र चर्चमा खोजिने धर्म भन्दा मानव सेवा  ठूलो धर्म हो । सबैलाई मानव सेवामा लाग्न आग्रह गर्छु ।’

प्रतिक्रिया दिनुहोस्