२००४ सालमा स्थापना भएको महिला सङ्घको बल्ल तेस्रो अधिवेशन हुँदै


२१ भदौ । नेपाल महिला सङ्घको तेस्रो राष्ट्रिय महाधिवेशनका सिलसिलामा ७३ जिल्लामा अधिवेशन सम्पन्न भएको छ ।

सङ्घको यही भदौ २९ देखि ३१ गते काठमाडौँमा हुने तेस्रो अधिवेशनका लागि नुवाकोट र रुपन्देहीबाहेक ७३ जिल्लामा अधिवेशन सम्पन्न गरिएको केन्द्रीय सदस्य हरिप्रभा खड्गीले जानकारी दिइन् ।

नेपाली काँग्रेसको १३ औँ महाधिवेशनबाट पार्टी सभापतिमा शेरबहादुर देउवा निर्वाचित हुनुभएपछि बसेको पहिलो केन्द्रीय समितिको बैठकले सबै भ्रातृ संस्थाको निर्वाचन ६ महिनाभित्र गरिसक्ने निर्णय गरेसँगै महिला सङ्घ अधिवेशनमा गर्न लागिएको हो ।

तेस्रो राष्ट्रिय महाधिवेशनमा दुई हजार २४४ मतदाताले मतदान गर्न पाउने भएका छन् । देशभरका २४० निर्वाचन क्षेत्रबाट नौ जनाका दरले दुई हजार १०, सभापतिले मनोनीत गर्ने १० जना, वर्तमान केन्द्रीय समिति ४४ र विदेशस्थित सम्पर्क समितिबाट ३० जनाले भाग लिन पाउने महिला नेत्री इन्दिरा तिवारीले जानकारी दिइन् ।
लोकतान्त्रिक राज्य व्यवस्था एवम् मूल्य पद्दतिको स्थापनाका लागि स्वर्गीय मङ्गलादेवी सिंहको नेतृत्वमा विसं २००४ साउन २४ मा स्थापना भएको महिला सङ्घको अहिले बल्ल तेस्रो अधिवेशन हुन लागेको हो ।

सामाजिक, आर्थिक र राजनीतिक रुपमा पछाडि परेका महिला वर्गको हकहितको संरक्षण र संवद्र्धन गर्दै राष्ट्रियता, लोकतन्त्र र समाजवादको आदर्शलाई अगाडि बढाउन विसं २००४ मा स्व सिंहको सक्रियतामा चिनियाँलाल श्रेष्ठको घरमा महिला भेला गराई ११ सदस्यीय कार्यसमिति गठन गरिएको थियो ।

आगामी महाधिवेशनमा वर्तमान केन्द्रीय समितिका सदस्य लड्न नपाउने व्यवस्था गरिएको छ । यही भदौ २९ गतेदेखि हुने निर्वाचनमा अध्यक्ष, महासचिव, कोषाध्यक्षसहित कुल ४२ पदका लागि निर्वाचन हुँदैछ ।

बयालिस केन्द्रीय कार्यसमितिमध्ये खुला १५, प्रत्येक प्रदेशमा दुई जनाका दरले १४, जनजाति तीन, दलित तीन, मधेसी तीन र मुस्लिम एक पदका लागि निर्वाचन हुनेछन् । यस्तै, एक उपाध्यक्ष, एक महासचिव र एक सचिवसहित ९ सदस्य मनोनीत गरिने व्यवस्था गरिएको छ ।

लामो समयपछि हुन लागेका निर्वाचनमा अध्यक्षका लागि अहिलेसम्म मीना पाण्डे, रुक्मिणी कोइराला, गोमा केसी, प्रतिमा गौतमलगायत चुनावी प्रतिस्पर्धामा उत्रने आकाङ्क्षा देखाएका छन् ।

प्रतिक्रिया दिनुहोस्