२ नम्बरमा पनि एमाले नै पहिलो हुन्छः एमाले वरिष्ठ नेता नेपाल


१२ साउन । नेकपा –एमाले) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनप्रतिनिधिहरुले निर्वाचनका बेला मतदातासक्षम कबुल गरेका बाचाहरु पूरा गर्नेतिर ध्यान दिनुपर्ने बताएका छन् । स्थानीय तहको निर्वाचनमा प्रदेश नं. ५ बाट निर्वाचित जनप्रतिनिधिहरुका निम्ति नेपालगञ्जमा आयोजित अभिमुखीकरण कार्यक्रममा नेता नेपालले उक्त कुरा बताएका हुन् ।

नेता नेपालले चुनाव जितेका एमालेका प्रतिनिधिहरुले आफ्नो तहमा नमुनायोग्य काम गर्नुपर्ने बताए । नेता नेपालले प्रदेश नं. २ मा पनि एमाले पहिलो हुने दाबी गर्दै भने, ‘२ नम्बर प्रदेशमा पनि हामी पहिलो शक्तिकै रुपमा स्थापित हुनेछौं । अहिले मधेस आन्दोलन चर्किएका ठाउँहरुमा समेत एमालेप्रति जनताको आकर्षण बढ्दै गएको छ । सो क्षेत्रका जनताले एमालेलाई नै रुचाएका हुँदा हामी पहिलो पार्टीकै रुपमा रहने छौं ।’

सो अभिमुखीकरण कार्यक्रममा एमाले उपाध्यक्ष वामदेव गौतम, उपमहासचिव तथा सो प्रदेशका संयोजक विष्णु पौडेल, सचिव गोकर्ण विष्ट र प्रदीप ज्ञवाली, स्थायी कमिटी सदस्य शंकर पोखरेल र छविलाल विश्वकर्मा र संसदीय दलका सचेतक गोकुल घर्तीको उपस्थिति रहेको थियो ।

उक्त अभिमुखीकरण कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. युवराज खतिवडा, स्थानीय तह पुनर्संरचना आयोगका अध्यक्ष बालानन्द पौडेल, राष्ट्रिय पुनर्निर्माण आयोगका पूर्व सिइओ सुशील ज्ञवाली र हेटौंडा उपमहानगरपालिकाका पूर्वप्रमुख डोरमणि पौडेललगायतले प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्