२ नम्बर प्रदेशका सांसदहरु भन्छन्, ‘२ नम्बरमा पहाडी जिल्लाहरु पनि मिसाउनुपर्छ ।’


१२ पुस । करिब महिना दिनअघि सरकारले ५ नम्बर प्रदेशबाट पहाडी जिल्लालाई अलग्याउने गरी संविधान संशोधन प्रस्ताव संसद्मा दर्ता गरेसँगै उब्जिएको राजनीतिक गतिरोध नचिरिदै तराई मात्र रहेको २ नम्बर प्रदेशमा पहाडी जिल्लाहरु पनि गाभ्नुपर्ने कुरा अहिले उठ्न थालेको छ । २ नम्बर प्रदेशबाट संसद्मा प्रतिनिधित्व गर्ने नेकपा (एमाले) का सांसदहरुले त्यस्तो आवाज घनीभूत रुपमा उठाउन थालेका छन् ।

२ नम्बर प्रदेशबाट निर्वाचित एमालेका अधिकांश सांसदहरुले सो प्रदेशमा सीमा जोडिएका सिन्धुली, उदयपुर र मकवानपुरका केही भाग समेट्नुपर्ने कुरा उठाउन थालेका छन् । जसका निम्ति सांसद्हरुले एमालेलाई दबाब दिने तयारीसमेत गरेको छ । सो प्रदेशबाट दोस्रो संविधानसभाको निर्वाचनमा एमालेका ११ जना सांसद निर्वाचित भएका थिए ।

गएको शुक्रबार सिरहाको लहानमा सम्पन्न एमालेको २ नम्बर प्रदेशस्तरीय भेलाबाट नै प्रदेश नं २ मा केही पहाडी जिल्ला मिसाउन आवाज उठेको एमाले सांसद रामकुमार भट्टराइले बताए । उनले भने, ‘२ नम्बर प्रदेशको अहिलेको भूभाग तराई मात्र रहेकाले प्राकृतिक स्रोतहरु जल, जमिन र जंगलको उपभोगमा समान वितरण हुन नसक्ने प्रष्टै छ । त्यसैले उदयपुर, सिन्धुली र मकवानपुरको केही भाग २ नं प्रदेशमा समावेश गरिनु पर्दछ भन्ने आवाज हामीले उठाएका हौं ।’ उनले पहिलो सिमांकनमा पनि आफुहरुले यो सवाल उठाएको भए पनि पार्टीभित्रको समस्याका कारण कार्यान्वयन हुन नसकेको बताए ।

त्यस्तै, २ नम्बर प्रदेश अर्का सांसद हरि उप्रेतीले अहिलेको सिमांकनले मधेसका जनतालाई पहाडी भूभाग उपभोगको अधिकारबाट विमुख गराउने भएकाले केही पहाडी भूभाग समेटिनुपर्ने बताए । उनले सिन्धुली, उदयपुर, रामेछाप, मकवानपुर, दोलखा जिल्लाका केही भूभाग प्रदेश नं २ मा समावेश गर्न सकिने बताए । प्रदेश नं २ मा कम्तिमा पनि एउटा जलविद्युत् उत्पादन हुने भूभाग हुनुपर्ने उनको भनाइ थियो । उनले भने, ‘प्रदेशको सिमांकनमा सहमति र देशमा दिगो शान्ति चाहने हो भने हिमाल, पहाड र तराई समेटिएको सात प्रदेश बनाउनु नै उत्तम देखिन्छ ।’

मधेसी दलहरुको मागमा सरकारले संविधान संशोधन मार्फत् सिमांकन हेरफेर सहितको संशोधन प्रस्ताव संसदमा ल्याएका बेला एमालेका संसदहरुले ल्याएको यो प्रस्ताव मध्यमार्गी हुन सक्ने र त्यसमा एमालेको नेतृत्व पनि सकारात्मक रहेको एमाले सांसद शत्रुधन महतोले बताए ।

उनले पार्टीभित्र पहिलेदेखि नै यो विकल्प अघि सार्नका लागि आफूहरुले सामुहिक रुपमा दबाब दिए पनि सम्झौताका कारण पहिलेको सिमांकनमा मधेस प्रदेशमा पहाडी भूभाग समावेश नभएको र अहिले सिमांकनको यस्तो प्रस्ताव आएमा एमाले सहमत हुने महतोको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्