२ नम्बर प्रदेशमा पहिलो बन्ने एमालेको यस्तो छ तयारी


भदौ ८ । स्थानीय तहको तेस्रो चरणअन्तर्गत २ नम्बर प्रदेशको निर्वाचन हुन अब २६ दिन बाँकी छ । पछिल्लो समय राजपाले पनि चुनावमा भाग लिने निर्णय गरेपछि सो प्रदेशको निर्वाचन हिंसामुक्त वातावरणमा हुने अपेक्षा राखिएको छ । तर, बाढी र डुबानका कारण थिल्थिलो बनेको सो प्रदेशमा चुनावी रौनक भने अझै छाउन सकेको छैन ।

बाढी र डुबानबाट विस्तारै तंग्रिन थालेको २ नम्बर प्रदेशमा राजनीतिक दलहरुले भने चुनावी अभियान तीव्र पार्न थालेका छन् । पहिलो र दोस्रो चरणको निर्वाचनमा पहिलो स्थान ल्याउन सफल नेकपा (एमाले) ले उक्त प्रदेशको निर्वाचनमा पनि पहिलो स्थान कायमै राख्ने गरी चुनावी तयारी थालेको छ । बाढी र डुबान हुनुभन्दा अघि नै २ नम्बर प्रदेशको ८ वटै जिल्लामा पुगेका एमालेका पदाधिकारीहरुले सो प्रदेशमा एमाले पहिलो स्थानमा आउने रिपोर्टिङ स्थायी कमिटीको बैठकमा गरेसँगै एमाले नेताहरु अहिले सो प्रदेशमा केन्द्रित भएका छन् ।

बुधबार एमाले केन्द्रीय कार्यालयमा बसेको स्थायी समितिको बैठकले २ नम्बर प्रदेशमा पहिलो स्थान ल्याउने गरी चुनावी अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । एमालेले सो प्रदेशको निर्वाचनमा केन्द्रीय तहका नेताहरु, सांसद र जनवर्गीय संगठनलाई परिचालित गर्ने निर्णय गरेको छ ।

एमालेले सो प्रदेशका १ सय ३६ तहको उम्मेदवारहरु पनि एक हप्ताभित्रै टुंग्याउने भएको छ । केही तहमा एमालेले यसअघि नै उम्मेदवार टुंग्याइसके पनि बाँकी तहमा भने भदौको १५ भित्र उम्मेदवार तय गरिसक्ने जनाएको छ । आवश्यकताअनुसार एमालेले केही तहमा अरु राजनीतिक दलसँग पनि चुनावी तालमेल गर्ने देखिएको छ । कांग्रेसबाहेक अरु राजनीतिक दलसँग एमालेले तालमेल गर्ने संकेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्