२ नम्बर प्रदेशमा सुरक्षामा कडाइ, दुई हेलिकोप्टर तयारी अवस्थामा राखिने


३१ भदौ । असोज २ गते हुने प्रदेश नं २ को स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाको तयारी पूरा भएको जनाइएको छ । २ नम्बर प्रदेशका अधिकांश मतदान केन्द्र संवेदनशील देखिएको हुँदा सुरक्षा व्यवस्था कडा गरिएको हो । चुनावमा करिब ६० हजार सुरक्षाकर्मी परिचालित गरिएको छ ।

प्रदेश नं २ का आठ जिल्ला सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, पर्सा, रौतहट, बारा र धनुषामा असोज २ गते १ सय ३६ स्थानीय तहका लागि निर्वाचन हुँदैछ । यो प्रदेशमा एक महानगर, तीन उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिका छन् ।

सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसनधान विभागका सुरक्षाकर्मीहरु परिचालित भएका छन् । आवश्यकताअनुसार सो संख्या बढ्नसक्ने बताइएको छ । निर्वाचनको समयमा सुरक्षा निकायले तीन घेरामार्फत सुरक्षा प्रदान गर्नेछ । जसअनुसार पहिलो भित्री घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा बाहिर नेपाली सेना रहनेछ । २ नम्बर प्रदेशको निर्वाचनमा सिके राउत समूह र निर्वाचन बहिष्कार घोषणा गरेको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई सुरक्षा चुनौतीको रुपमा लिइएको छ ।

सीमा नाका बन्द

निर्वाचनलाई मध्यनजर गर्दै शुक्रबार राति १२ बजेदेखि नै निर्वाचन हुने आठ जिल्लामा भारतसँग सीमा जोडिएका क्षेत्रमा सीमा नाका बन्द गरिएको छ । निर्वाचन हुने समयभन्दा ७२ घण्टा अघिदेखि निर्वाचन हुने सीमा जोडिएका जिल्लामा नाका बन्द गरिएको हो ।

निर्वाचन भइरहेका आठ जिल्ला भारतसँग सीमा जोडिएकाले सीमामा केही दिनदेखि नै विशेष निगरानी बढाइएको थियो । खुला सीमाको फाइदा उठाउँदै हतियार, विस्फोटक पदार्थ तथा आपराधिक समूह भित्रिनसक्ने नाका बन्द गरिएको हो ।

अवैध हातहतियार र आपराधिक गतिविधिमा संलग्न व्यक्ति नेपाल प्रवेश गर्न लागेमा तालीम प्राप्त कुकुरले सुघेर पत्ता लगाउने भएकाले सबै सीमा नाकामा तालीम प्राप्त कुुकुर परिचालन भएका थिए । यसैबीच, दुईटा हेलिकप्टर तयारी अवस्थामा समेत राखिएको छ ।

निर्वाचनलाई मध्यनजर गर्दै धनुषामा एउटा र बारा–पर्साको बीचमा एउटा गरी दुईवटा हेलिकप्टर तयारी अवस्थामा राखिएको हो । यस्तै नेपाली सेनाको बाहिनी र केन्द्रमा समेत थप हेलिकप्टर तयारी अवस्थामा राखिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्