३३ किलो सुन तस्करीका मुख्य अभियुक्त ‘गोरे’ पक्राउपछि सार्वजनिक


काठमाडौ, ८ जेठ । सुन तस्करी प्रकरणका मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेतीलाई आज सार्वजनिक गरिएको छ । साढे ३३ केजी सुन तस्करी प्रकरणका मुख्य अभियुक्त गोरे आज विहान गौरीघाटबाट पक्राउ परेपछि पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो ।
गृह मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्रालयका सहसचिव एवं ३३ केजी सुन प्रकरण र सनम हत्या प्रकरण छानविन गर्न गठित टोलीका संयोजक सहसचिव ईश्वर पौडेलले लामो अनुसन्धानपछि गोरे पक्राउ गर्न सफल भएको बताए ।
उनले गोरेलाई मंगलबार विहान ५ः ३४ बजे काठमाडौको गौरीघाटबाट पक्राउ गरेको जानकारी दिए । गोरेलाई आजै मोरङ अदालतमा बुझाइने अनुसन्धान टोलीले जनाएको छ । गत माघमा नेपाल भित्रिएको ३३ केजी सुन प्रकरणमा सनम शाक्यको हत्या भएको थियो । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भएको तस्करीको सुन हराएपछि भरिया भनिएका सनम शाक्यको हत्या भएपछि घटना बाहिर आएको थियो ।
घटनाको अनुसन्धान गर्न गृह मन्त्रालयको छानबिन समितिले गोरेसहित ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा यसअघि नै मुद्दा दायर गरिसकेको छ । यद्यपी गोरे फरार हुँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्